मधेश आन्दोलनको १२ वर्ष पूरा : उपलब्धिका लागि अब कति कुर्ने ?

राजनीति

मधेशवाणी डेस्क

       

मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिक

काठमाडौं, ५ माघ । पहिलो मधेश आन्दोलन भएको माघ ५ गते १२ वर्ष पूरा भएको छ । यस अवधिका मधेश आन्दोलनको विषयमा धेरै बहस र समीक्षा भए तर उपलब्धि केही प्राप्त हुन सकेको छैन ।

मधेश आन्दोलनकै नाममा केही मधेशी नेताहरू मन्त्री बन्न सफल भए पनि आम मधेशी जनताको जीवनमा त्यसको कुनै असर परेको छैन ।

यद्यपी माघ ५ लाई मधेशले ‘बलिदानी दिवस’को रूपमा सम्झने गरेको छ । सुरूका दिनमा बलिदानी दिवसको अवसरमा खुब तामझामका साथ दिवसको स्मरण गरिन्थ्यो भने शनैः शनै त्यो विस्मृत हुँदै गएको छ ।

किनभने आन्दोलन जति पुरानो हुँदै जान्छ त्यो आन्दोलनको विरासत पनि कमजोर हुन्छ । केही वर्षअघिसम्म बलिदानी दिवस मनाउन मधेशी दलहरूबीच अघोषित प्रतिस्पर्धा नै हुन्थ्यो भने अहिले वास्तै गर्न छाडिसकेका छन् । यस्तो लाग्छ मधेशका कुनै आन्दोलन नै भएको थिएन ।

२०६३ सालमा अन्तरिम संविधान जारी भएलगत्तै काठमाडौंको माइतीघरमा तात्कालीन मधेशी जनअधिकार फोरमले अन्तरिम संविधानको प्रतिलिपि जलाएको थियो ।

संविधानको प्रतिलिपि जलाएको आरोपमा फोरमका अध्यक्ष उपेन्द्र यादव सहितका दर्जन बढी नेता गिरफ्तार भए । नेताको गिराफ्तारीको विरोधमा मधेशका जिल्लाहरूमा आन्दोलन सुरू भयो । राजमार्गमा टायर बालेर सुरू भएको जक्काजाम आन्दोलन माघ ५ गते लहानबाट जनविद्रोहको रूपमा मधेशभर फैलियो ।

२०६३ माघ ५ गते सिरहाको लहानमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट रमेश महतोको निधनको भएको थियो । त्यससँगै मधेश आन्दोलन उठेको हो ।

त्यही आन्दोलनबाट धेरै मधेशी नेताको उदय भएको र उनीहरू स्थापित पनि भए । धेरै मन्त्री पनि भए । तर मधेशी जनताले के पाए भन्ने प्रश्नको जबाब अहिले पनि मधेशले खोजिरहेको छ ।

त्यो बेला मधेश आन्दोलन मधेश विद्रोहको रूप लिनुको पछाडि माओवादीको गोली कारण बनेको थियो जसले मधेशको भावना भडकाउन मद्दत ग¥यो । तर २०६३ पछि २०७२ को ९ वर्षको अवधिमा मधेशले दुईवटा आन्दोलन पनि गर्नु प¥यो ।

राजनीतिक रूपमा मधेश आन्दोलनको सफलता भनेको संघीयता हो जुन मधेश आन्दोलनकै कारण तत्काल संविधानमा सुनिश्चित भएको छ । पहिलो मधेश आन्दोलनले राजनीतिमा जुन उथलपुथल ल्यायो त्यसैको फलस्वरूप नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल बन्न पुगेको छ ।

माघे मधेश आन्दोलनपछि मधेशले राजनीतिक र सामाजिक अधिकार प्राप्तिका सवालमा धेरै उपलब्धि हासिल गरिएको विवेचना पनि गरिन्छ ।

मधेशमा भएको आन्दोलनलाई जसले जसरी विवेचना गरे पनि वास्तवमै मधेशी जनताले पहिलोपटक राज्यसत्तासँग विद्रोह गरेको थियो । वर्षौदेखि मधेशीको चाहना संघीयता प्राप्त भएकाले त्यो पूरा भएकोमा उनीहरू धेरै हर्षित भए र थिए ।

अझ समावेशिता र जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको विषयले मधेशीहरू धेरै हौसिएका थिए तर त्यो धेरै दिन टिक्न सकेन । किनभने समावेशीको नाममा मधेशी नेताहरूले आफ्नो आसेपासे र आफन्तलाई भर्ती केन्द्र बनाएको तथ्य कसैसँग लुकेको छैन ।

पहिलो संविधानसभामा ‘किङ्ग मेकर’ को हैसियतमा पुगेका मधेशी दल सत्ताको फोहोरी खेलमा लागेपछि मधेशी दलहरूमा फुटको राजनीति सुरू भएको थियो । मधेशीको नाममा केही नेताहरूले आफ्नै नेतृत्वमा पार्टी बनाए र मन्त्री बने ।

अझ मोर्चाबन्दी गर्दै सरकारमा जाने एउटा शृंखला नै सुरू भयो । सरकारमा जाने मधेशी नेताहरूको चस्काले दल र मधेशी जनताबीचको दूरी क्रमिक रूपमा बढ्दै गयो । अझ सबैभन्दा दुःखद त के रहयो भने सरकारमा जानकै लागि मधेशी दलका नेताहरूले अन्य पार्टीहरूसँग बँुदै–बुँदाको सम्झौता गर्दै हिंडे ।

तर, यो उनीहरूका लागि ‘हात्तीको देखाउने दाँत’ जस्तै बन्न पुग्यो । सरकारमा जाँदा ती बुँदाहरूमध्ये एउटाको पनि कार्यान्वयन गराउन मधेशी दलहरू सकेका छैनन् । पछिल्लो समयमा संघीय समाजवादी फोरम पनि संविधान संशोधनका लागि भनेर सरकारमा गएपनि अहिलेसम्म त्यसको छनक देखिएको छैन ।

मधेशीका लागि भनिएको मूलभूत मुद्दाहरू जस्तो सेनामा जनसंख्याका आधारमा प्रनिधित्व, सरकारी सेवामा मधेशीको पहुँच बढाउने समावेशी विधेयक लगायत जस्ता विषयहरू अब मधेशी दलको प्राथमिकतामा पर्न छाडेको छ ।

अझ मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरूलाई शहीद घोषणा र घाइतेहरूलाई उपचारसहितको राहत दिनसमेत मधेशी दल सत्तामा छँदै घोषणा भएको विषय हो ।

मधेशले १२औं बलिदानी दिवस मनाइरहँदा मधेश र मधेशीका सवाल ज्यूँका त्यूँ छन् । गरिबी, निरक्षरता, बेरोजगारी, युवाहरूको ठूलो जमात विदेश पलायन, महिलामाथि हिंसा, छुवाछूतजस्तो जघन्य अपराध, दहेजप्रथा लगायतको बेथितिबाट मधेश र मधेशी अझै गाँजेकै अवस्थामा छ ।

शिक्षा, स्वास्थ्य र विकास–निर्माणलगायतका क्षेत्रमा कुनै सुधार हुन सकेको छैन । १२ वर्ष भइसक्दा पनि मधेशी जनता अनेकौ बेथितिको शिकार छन्, चौतर्फी समस्या र पीडामा रहेको गुनासो उनीहरूबाट सुनिन्छ, तर उपचार कतैबाट नपाएको अवस्था छ ।

यस अवधिमा केही नेताहरू मोटाएका छन्, मन्त्री बनेका छन् तर जनताको अवस्थामा कुनै सुधार हुन सकेको छैन । मधेशी नेताहरू परिवारवाद, पैसावाद, अपनत्ववादमा लागेर सिंगो मधेशी जनताको मानमर्दन गरेका छन् ।

तपाईको प्रतिक्रिया