शहीदको सपना साकार बनाउन राष्ट्रिय आन्दोलन आवश्यक : संयोजक महतो

राजनीति

       

काठमाडौं, ५ माघ । राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनका शहीदहरुको सम्झनामा बलिदानी दिवस मनाएको छ ।

राजपा नेपालको केन्द्रीय कार्यालय मधेश भवनमा शनिबार ‘बलिदानी दिवस’ कार्यक्रममा संयोजक राजेन्द्र महतोले मधेश आन्दोलनकै कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको जिकिर गरेका छन् ।

उनले मुलुकमा संघीयता मधेशी शहीदकै देन रहेको बताउँदै संघीयतालाई विफल बनाउन केन्द्रीय सरकार नै लागिपरेको आरोप लगाएका छन् ।

विभिन्न बहानामा प्रादेशिक सरकारलाई विफल बनाउन केन्द्रले असहयोग गरिरहेको महतोको आरोप छ ।

उनले मधेश आन्दोलनका शहीदहरुको सपना साकार पार्नका लागि मुलुकमा राष्ट्रिय आन्दोलनको आवश्यकता रहेको बताए । ‘मधेश आन्दोलनबाट मुलुकका विभिन्न कुनाकाप्चामा रहेका उत्पीडित वर्गहरुको अधिकार सुनिश्चित भएको छ । तर, ती अधिकारहरु केन्द्रले अहिले पनि दिन चाहेको छैन ।’ महतो भने ।

उनले मधेशी, थारु, आदिवासी जनजाति, उत्पीडित समुदायले विभिन्न कालखण्डमा आन्दोलन गरे तर अधिकार पाउन नसकेकोले अब राष्ट्रिय आन्दोलनको विकल्प नरहेको जिकिर गरेका छन् ।

मधेशीहरु यही देशभित्र आफ्ना अधिकार खोजिरहेको जिकिर गर्दै महतोले भने, ‘हामी यही देशको नेपाली नागरिकसरह पहिचान खोजेका छौं । त्यसकै लागि यत्रो आन्दोलन भयो । शहीदका सपना पूरा गर्न हामी प्रतिबद्ध छौं ।’

केपी ओली नेतृत्वको सरकार संविधान संशोधन, आन्दोलनकारीहरुमाथि लागेको झुठा मुद्दा फिर्ता लगायतका मुद्दा गम्भीर रहेको बताउँदै संयोजक महतोले यथास्थितिमै यो सरकारलाई समर्थन नरहने प्रष्ट पारे ।

उनले सरकारले आफूहरुको मागलाई बेवास्ता गर्दै आन्दोलनमा जान बाध्य पारिरहेको बताए । उनले आफूहरु पुनः आन्दोलनमा जान रहर नभई बाध्यताको अवस्था सिर्जना भइरहेको बताए ।

फरक प्रसंगमा महतोले राजपाभित्र संयोजक परिवर्तन चक्रीय प्रणालीअनुसार हुने प्रष्ट पारेका छन् । उनले आफ्नो संयोजकत्वको समयावधि सम्पन्न भइसकेकोले अब नयाँ संयोजक आउने बताए ।

 

तपाईको प्रतिक्रिया