बलिदानीकै कारण मधेशीको अधिकार स्थापित भयो : मुख्यमन्त्री राउत

राजनीति

       

लहान, ५ माघ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शहीदको बलिदानीकै कारण आज प्रदेश नं. २मा मधेशी जनताको सरकार स्थापित भएको बताएका छन् ।

उनले प्रदेश सरकार शहीदहरुको सपना साकार पार्न लागिपरेको उल्लेख गरेका छन् । लहानमा आयोजित १२औं बलिदानी दिवसको अवसरमा उनले मधेश आन्दोलनको बलमा स्थापित संघीयतालाई कमजोर पार्ने काम भैरहेको तर्फ सचेत गराउँदै उनले त्यस्तो कार्य प्रदेश नं २ को जनता र प्रदेश सरकारलाई स्वीकार हुन नसक्ने चेतावनी दिए ।

प्रथम शहीद रमेश महतोको बुवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र प्रतिनिधि सभा सदस्य रेणु कुमारी यादवले आफुहरु आन्दोलनको बेलामा गरेको बाचा अक्षरसः पालना गर्ने तर्फ उन्मुख रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, बन उद्योग तथा पर्यटन मन्त्री राम नरेश राय, समाजिक विकास मन्त्री नवल किशोर साह, राज्यमन्त्रीहरु उषा यादव, योगेन्द्र यादव, सरोज सिंह कुशवाहा, अभिराम शर्मा, सुरेश मण्डल, प्रतिनिधि सभा सदस्य राम सहाय यादव, प्रमोद साह , प्रदेशसरकारका मुख्य सचिव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले गरेका थिए ।

तपाईको प्रतिक्रिया