नयाँ शक्तिका नेताहरुले भेटे भारतीय नेता

राजनीति

       

काठमाडौं, ७ माघ । नया शक्ति पार्टीको प्रचार विभागको टोली नयाँदिल्ली पुगेर भारतका सबै प्रमुख पार्टीको प्रचार अभियान सम्बन्धी अनुभव आदान–प्रदान गरेको छ ।

प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको नेतृत्वमा नयाँदिल्ली पुगेको नयाँशक्तिको टोलीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी कांग्रेस (आई) को प्रचार विभागसँग प्रचार अनुभवबारे अन्तरक्रिया सम्पन्न गरेको छ ।

टोलीले भाजपा प्रचार विभाग प्रमुख अनिल बुलानी, उपप्रमुख डा सञ्जय मयुख, प्रवक्ता सञ्जय पात्रसँग भाजपाको केन्द्रीय कार्यालयमा प्रचार अभ्यासबारे अनुभव आदानप्रदान गरेको थियो ।

यसैगरी कांग्रेस (आई) का प्रवक्ता राजीव त्यागी, सञ्चार संयोजक तथा प्रवक्ता प्रियंका चतुर्वेदी, सञ्चार विभागका सचिव प्रणव झा, भारतीय युवा कांग्रेसका राष्ट्रिय प्रवक्ता तथा मिडिया इञ्चार्ज अमरिश रञ्जन पाण्डेसँग भारतीय युवा कांग्रेसको कार्यालयमा प्रचार अनुभव आदानप्रदान गरेको थियो ।

त्यसबाहेक टोलीले भाजपाका राष्ट्रिय उपाध्यक्ष श्याम जाजु, भगतसिँह कोसियारी, अजितकुमार, भाकपा (माक्र्सवादी) का महासचिव सिताराम यचुरी, वामपन्थी पत्रकार तथा बुद्धिजिवी आनन्दस्वरुप बर्मा, चुनावी अभियान रणनीतिकार प्रशान्त किशोरलगायतसँग भेटघाट तथा अन्तरक्रिया गरेको गरेको पाण्डेले बताए ।

पाण्डे नेतृत्वको टोलीले दिल्लीमा सत्तारुढ आम आदमी पार्टी (आप) को सूचना प्रविधि तथा सामाजिक सञ्जाल प्रमुख अंकित लालसँग पनि भेट गरेको छ ।

पाण्डेका अनुसार, सबै भेटघाट, छलफल, कुराकानीमा राजनीतिक पार्टीको सञ्चार रणनीति, नेपाल–भारत सम्बन्ध, दुई पार्टीबीचको सम्बन्ध लगायतका बारेमा कुराकानी भएको छ ।

तपाईको प्रतिक्रिया