नेपाल र भारतबीच समदूरी होइन, सन्तुलित सम्बन्ध बनाउनुपर्छ : डा.रामभक्त पी.बी. ठाकुर

पूर्वराजदूत

अन्तर्वार्ता

    25 January, 2019   

भारतका लागि नेपाली राजदूतको रुपमा निलाम्बर आचार्यको सिफारिससँगै भएको चर्चा परिचर्चा, प्रबुद्ध व्यक्ति समूहले बुझाएको प्रतिवेदन किन सार्वजनिक भएन, अहिलेको अवस्थामा नेपाल भारतको सम्बन्ध कसरी अगाडि बढिरहेको छ लगायतका समासामायिक विषयमा मधेशवाणीका प्रतिनिधि राकसुकुल मण्डलले पूर्वराजदुत डा. रामभक्त पी.बी. ठाकुरसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ।

० नेपालमा अहिले दुई तिहाई बहुमतको सरकार आएदेखि छिमेकी मित्रराष्ट्र भारतसँगको सम्बन्ध कस्तो पाउनुभएको छ ?

— दुई तिहाईको सरकार आएपछि नेपालले जसरी सन्तुलित रूपमा भारतसँग हिंड्नुपर्ने थियो, नीतिहरू अपनाउनु पर्ने थियो, त्यो दिशामा यो सरकार अलि चुकेको छ । यो सरकारको झुकाव बढी उत्तर तिर देखियो । त्यसले गर्दा बीचको जुन सन्तुलन र असहज स्थिति थियो यसैको कारणले हो । पछि सरकारले यसलाई महसुस गरेर विमिस्टेकमा आफ्नो प्रभाव र सहभागिता देखायो । किनभने नेपालको समग्र विकासका लागि भारतको जतिकै आवश्यक्ता छ जति चीनको जरूरत छ । तर, भारत र चीनलाई कसरी सन्तुलित गर्ने भन्ने कुरा देशको जनताको आकांक्षामा निर्भर गर्दछ ।

० त्यसोभए, नेपालको परराष्ट्र नीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

— नेपाल र भारतबीचको एउटा समदूरीको सम्बन्ध हो भनेर पहिले भनिन्थ्यो त्यो अब रहेन । भारत र नेपालको समदूरीको सम्बन्ध होइन । भारत र नेपालको सन्तुलित सम्बन्ध हो । कहिलेकाँही भारततिर राम्रो भएको देखिन्छ भने कहिलेकाँही चीनतिर देखिन्छ । तर, यसमा सन्तुलन बनाउनुपर्छ न कि समदूरी । समदूरी भनेको बहुतै कन्जर्भेटिभ शब्द हो । सम्बन्धलाई सुमधुर बनाएर देश र जनताको आकांक्षालाई लिएर हिंड्नुपर्छ ।

० तपाइँ भारतका लागि कार्यवाहक राजदूतको रूपमा पनि कार्य गरिसक्नुभएको छ । आफ्नो जीवनको लामो समय परराष्ट्र सेवामा योगदान दिनुभयो । वर्तमान अवस्थामा नेपालप्रति भारतको नीतिमा परिवर्तन आएको हो ?

— म नेपालको परराष्ट्र सेवामा करिब ३०÷३५ वर्ष काम गरें । त्यस दौरानमा दिल्लीमा कार्यवाहक राजदूत हुँदा मैले भारतलाई बुझ्ने अवसर पाएँ । नेपालको समस्या के हो, भारतको हेर्ने दृष्टिकोण के हो लगायतका विषयमा भित्र पसेर राम्ररी बुझें । त्यो बुझेपछि मलाई के लाग्यो भने भारत नेपालँग आफ्नो स्वार्थको रूपमा सुरक्षालाई धेरै ध्यान दिदै आएको छ । त्यसैले भारत यदि नेपालसँग केही चाहन्छ भने पहिलो चीज हो सुरक्षा र अर्को कुरा इकोनोमिक पार्टनरसिप । यी दुईटै कुरामा हामी ध्यान दियौं भने भारतसँग हाम्रो सम्बन्ध कहिल्यै पनि खराब हुँदैन । अझ राम्रो भएर जान्छ ।

० अहिले भारतका लागि नेपाली राजदूतको रूपमा निलाम्बर आचार्य सिफारिश हुनुभएको छ । नेपाल र भारतबीच अझ सुमधुर सम्बन्ध बनाउन उहाँका चुनौतीहरू कति देख्नुहुन्छ ?

— यो त उहाँको व्यक्तिगत क्षमता, कुशलता, ज्ञान र प्रयासमा निर्भर पर्छ । तर, उहाँका अगाडि धेरै चुनौतीहरू छन् । उहाँले यो राम्ररी बुझ्नु भएकै होला । भारत र नेपालको बीचमा उहाँले सामना गर्नुपर्ने केही समस्याहरू बहुत टड्कारो रूपमा छन् । जस्तै, के कारणले नेपाल इरिटेड हुन्छ, किन हामी भारतप्रति नकारात्मक दृष्टिकोण बनाउँछौं । त्यसको समाधानका लागि मेचीदेखि महाकालीसम्म सीमाको राम्ररी व्यवस्थापन हुनुपर्छ । अक्सर सीमा क्षेत्रमा रहेका नेपालीले महसुस गर्छन् कि कहीं कहीं भारतले सीमा मिचेको छ । त्यसलाई दुवै देशकै उच्चस्तरबाट वैज्ञानिक तरिकाले समाधान गरिनु पर्छ । दोस्रो कुरा व्यापार घाटा हो । हामीले एक रूपैयाँ पठाउँछौं भने सात रूपैयाँ मगाउँछौं । त्यसैले, नेपालबाट निर्यात बढाउने र आयात कम गर्ने रणनीति बनाउनुपर्छ । तेस्रो चुनौती भनेको नेपालमा भारतीय लगानी बढीभन्दा बढी आओस् भन्ने वातावरण बनाउनुपर्छ । चौथो कुरा भारतको सुरक्षा हो । भारतको सुरक्षा आतंकवादीसँग धेरै सम्बन्धित छ । कुनै किसिमबाट पनि आतंकवादी क्रियाकलापहरू नेपालको भूमिबाट भारततिर जानु हुँदैन । त्यसमा उहाँ सक्रिय र सचेत हुनुपर्छ । यदि भारतको सीमामा अन्य देशहरू पुग्यो भने निश्चयरूपमा भारतको सुरक्षामा असर पर्न सक्छ । जबसम्म यस्ता समस्याहरूलाई दीर्घकालीन समाधान गरिँदैन तबसम्म सम्बन्धमा सुमधुरता आउँदैन ।

० बेला–बेलामा जसरी सीमा विवादका कुराहरू आउँछन्, यसलाई दीर्घकालीन समाधानका उपायहरूबारे किन पहल हुँदैन ?

— यस विषयलाई जनताले जति महत्व दिएका छन्, त्यसरी सरकारले महत्व नै दिएको छैन । यो समाधान गर्न नसक्ने कुरा होइन । किनभने अधिकांश ठाउँमा सीमा रिडिङ्ग गरिएको छ, बकायदा कागजमा नोट छ, कति डिग्री कता हो भनेर । म आफै पनि सीमामा हाकिम भएर जाँदा धेरै ठाउँमा सच्याएको छु । दुई चार ठाउँमा अलि अप्ठ्याराहरू छन् । जस्तै, सुस्ता, कैलाली, कालापानी लगायतका ठाउँमा अलि समस्याग्रस्त छ । त्यसमा अलि विशेष ध्यान दिनुपर्ने हुन्छ । तर, बाँकी ठाउँमा वैज्ञानिक रूपले मिलेको छ ।

० भारतले सीमा मिच्यो भन्ने कुराहरू आउँछन्, तर चीनले पनि नेपालको सीमा मिचेको छ । ती कुराहरू किन बाहिर आउँदैनन् ?

— सीमा मिचेको भन्ने शब्द म त्यति मन पराउँदिन । सीमा मिचेको जस्तो देखियो, मिचेको पनि होला तर त्यसका लागि दुवै देशका अधिकारीहरूले मिलेर समाधान निकाल्नुपर्ने हुन्छ ।

० नेपाललाई ल्याण्डलक्ड कन्ट्रि भनिन्छ । यो ल्याण्डलक्ड कन्ट्रिलाई ल्याण्डलिंक्ड कन्ट्रिको रूपमा किन सदुपयोग गर्न सकिएन ?
— ल्याण्डलिंक्ड शब्द राम्रो हो र गर्न पनि सकिन्छ । अहिलेसम्म इण्डिया लिंक्ड नै हो । उत्तरतिर हामीले खोलेकै छैनौं । एउटा तातोपानीको नाका थियो त्यो पनि ध्वस्त भयो । अब मुस्ताङ र रसुवाबाट खोल्ने भनिएको छ । अर्थ कम छ र राजनीतिक कुरा बढी लागिरहेको छ । त्यो गरेर देशलाई राम्रो हुनुप¥यो । तर, त्यसको सदुपयोग राम्रो उद्देश्यले गर्नुपर्छ ।

० भनेपछि, ल्याण्डलिंक्डको रूपमा नेपालले फाइदा लिन सक्ला त ?

— अहिले चलिरहेको कार्यक्रमअनुसार चीनको बीआरआई (बेल्ट रोड इनिसिएटिभ) छ, यस्तो किसिमले खर्बौंखर्ब ऋण यदि नेपालको टाउकोमा आउँछ भने त्यो हामीले विचार गर्नुपर्ने कुरा हो । नेपालको इकोनोमीले धान्न सक्छ कि सक्दैन, हाम्रो त्यति आर्थिक क्रियाकलाप छ कि छैन, पछि बनाउन सक्छौं कि सक्दैनौं, कि ऋण डुबेर खत्तम हुने हो यी सब कुराहरू हेरेर एकै चोटि ठूलो क्रियाकलाप गर्नुभन्दा विस्तारै गरेको राम्रो हुन्छ ।

० नेपालमा जसरी भारतको लगानीहरू आउँछन्, त्यो कतिपय परियोजनाहरू समयमा सम्पन्न हुँदैन, अलपत्र परिरहेको हुन्छ । यसमा कमजोरी कहाँ देख्नुहुन्छ ?

— यसमा सरकार र लगानी गर्ने पक्षको पनि कमजोरी रहेको हुन्छ । जो मान्छे लगानी गर्न आउँछ उसले आफ्नो फाइदा सोचिरहेको हुन्छ । फाइदा भयो भने फटाफट सबै काम भइहाल्छ । यसले गर्दा मान्छेहरू बहुत निरूत्साहित हुन्छन् । अहिले नेपालमा विदेशी लगानी किन भइरहेको छैन भने यहाँ अलि राम्रो वातावरण छैन । यहाँ मान्छेले सुरक्षा महसुस गरिरहेको छैन । लगानीकर्ताको लगानीको सुरक्षा प्रत्याभूति हुँदैन तबसम्म लगानी गर्दैन । यसका लागि लगानीमैत्री वातावरण बनाउनुपर्छ । त्यो अहिलेसम्म सरकारले दिन सकेको छैन ।

० नेपालले भारतसँग अझ सम्बन्ध सुमधुर बनाउन वा भारतीय लगानी भित्र्याउन कस्ता राजदूत पठाउनुपर्ने हो ?
— नेपालले भारतमा आफ्ना राजदूत पठाउँदा मधेशकै कुनै विद्वान व्यक्ति पठाउनुपर्ने हो, जसले नेपालको हित राम्ररी बुझेका छन् र भारतको पनि हित बुझेका छन् । दुईटैको हित बुझेर राम्ररी काम गर्ने मधेशका कोही विद्वान व्यक्तिलाई नेपालले राजदूतको रूपमा पठायो भने त्यसले धेरै सफलतापूर्वक काम गर्न सक्छ । जसले नेपालको मात्रै वा भारतकै मात्रै हित हेर्छ उसले सफलतापूर्वक काम गर्न सक्दैन । त्यसैले नेपाल र भारतको हित बुझ्ने व्यक्तिलाई नेपालले राजदूतको रूपमा पठायो भने त्यसले दुवै देशलाई हित गर्न सक्छ । किनभने हाम्रो आर्थिक समृद्धि, भविष्य र सुख सँगसँगै गाँसिएको छ ।

० मधेशका त्यस्ता विद्वत व्यक्ति किन बाहिर आउँदैनन् त ?

— हेर्नुस्, राम्रो मान्छेले मलाई राजदूत पठाइदेउ भन्दैनन् र जो मान्छेले राजदूतको रूपमा पठाइदिनुस् भन्छन् त्यो राम्रो मान्छे नै होइन । मधेशमा थुप्रै विद्वान व्यक्तिहरू छन्, जसले राष्ट्रको हितमा र भारतको पनि हित राम्ररी बुझेर काम गर्न सक्नछन् । म मात्रै होइन, मभन्दा पनि राम्रा–राम्रा मान्छेहरू छन् । तर, राष्ट्रले उसलाई ल्याउनुपर्छ । किनभने राम्रो कहिल्यै पनि भिख मागेर हिंड्दैन ।

० भनेपछि, अहिलेसम्म राज्यले त्यस्ता मान्छेहरूको पहिचान गर्न सकेको छैन । आफ्ना आसेपासेहरूलाई मात्र मौका दिने गरेको छ ?

— त्यो त हो । जो कुनै पार्टीका सदस्य हुन् वा नजिक छन् त्यस्ता मान्छेहरू मात्र जान्छन् । उसले त्यहाँ गएर पार्टीको मात्रै हित गर्छ, राष्ट्रको हित उसको ध्यानमै हुँदैन । अहिलेसम्म जति पनि राजदूत त्यहाँ गएका छन् सबैको रेकर्ड नराम्रो नै देखिएको छ । त्यसले गर्दा राष्ट्रको प्रतिष्ठा पनि गुमाइरहेका छौं र राजदूतको जुन प्रतिष्ठा हुन्छ त्यो त खत्तम नै भइसकेको छ ।

० दुई देशबीचको सम्बन्ध अझ सुमधुर बनाउन नेपाल र भारतबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहले बुझाएको प्रतिवेदन किन सार्वजनिक नभएको होला ?

— त्यो प्रबुद्ध व्यक्तिको समूह नै अधुरो थियो । सीमा क्षेत्रको समस्या र सन् १९५० को सन्धि अध्ययन गर्नका लागि त्यो प्रबुद्ध व्यक्तिको समूह बनाइएको थियो । त्यो समूहमा नेपालको तर्फबाट एउटा पनि मधेशका मान्छे थिएन । त्यसैले अधुरो दृष्टिकोण नेपालको पहिले नै देखियो । तर भारतको पक्षमा हेर्नुस्, त्यसमा नेपाली जान्ने एउटा उप्रेती, एउटा लामाजी हुनुहुन्छ । त्यस्तै, त्यस क्षेत्रका समस्या बुझेका मधेशका पनि दुई जना विद्वानलाई नेपालले आफ्नो तर्फबाट सदस्य बनाइदिएको भए राम्रो हुन्थ्यो । तर, मधेशका मान्छेलाई सरकारले विश्वासै गर्दैन । भन्ने बेलामा यो देश सबै नेपालीको हो भन्ने तर, व्यवहारमा विभेद गर्ने । नेपालमा मधेशका मान्छेलाई यो तपाइँको देश हो भन्ने तर दिने बेलामा जम्मै पहाडका मान्छेलाई दिने गरिन्छ ।

० भनेपछि, सीमा क्षेत्रको समस्या नबुझ्ने व्यक्तिहरू त्यो प्रबुद्ध व्यक्तिको समूहमा थिए ?

— प्रबुद्ध व्यक्तिको समूहले बुझाएको प्रतिवेदन किन सार्वजनिक भएन त्यो त म भन्न सक्दिँन । त्यसमा मधेशकै मान्छे नभएर त्यो प्रतिवेदन सार्वजनिक नभएको हो भनेर म भन्दिँन । तर, त्यो प्रतिवेदनमा दृष्टिकोण के राखेको छ । तर, त्यस समूहमा मधेशको विद्वान मान्छे राखेको भए अवश्य पनि त्यहाँ दृष्टिकोण फरक हुन्थ्यो र स्वीकारयोग्य कुराहरू जान्थ्यो होला । त्यो प्रतिवेदनमा अवश्य पनि केही न केही कुरामा चित्त बुझेको छैन त्यसले गर्दा सार्वजनिक हुन ढिलो भइरहेको छ । हुन अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चुनावमा धेरै व्यस्त हुनुहुन्छ । तर, त्योभन्दा अगाडि प्रतिवेदन आउन सक्थ्यो होला । हुनसक्छ यस्ता–यस्ता कुराहरू होलान् जसले भारतलाई धेरै नै नोक्सान पर्ने होला । त्यसले त्यसलाई अझ अध्ययन र विचार गर्नका लागि रोकिएको होला ।

० तपाइँ जसरी भारतका लागि नेपाली कार्यवाहक राजदूतको रूपमा काम गर्नुभयो, कस्तो अनुभव रह्यो त ?

— मैले आफ्नो अनुभव भनें भने तपाइँ विश्वासै गर्नुहुन्न । भारतजस्तो सजिलो देश नेपालका लागि कहीं छँदैछैन भन्ने मलाई लाग्छ । त्यहाँ काम गर्न एकदम सजिलो, मान्छेहरू एकदमै मित्रपूर्वक व्यवहार गर्ने र नेपालको दुःखमा खडा हुने मान्छेहरू छन् । कुरा के आउँछ भने तपाइँको नजरिया के हो, व्यवहार के हो, एप्रोच के हो र तपाइँ कसरी भारतको सम्वेदनशीलतालाई ध्यानमा राखेर काम गर्नुहुन्छ । यदि त्यसो गर्नुभयो भने भारतजस्तो मित्र कहीं छैन । भारत एउटा कल्पवृक्ष हो । कल्पवृक्षमा तपाइँ गएर हे कल्पवृक्ष तपाइँ मलाई यो देउ भनेपछि आइहाल्छ । त्यस्तै, नेपालले भारतसँग जहिले पनि जे माग्छ, त्यो दिन तयार हुन्छ । नेपालको दुःखसुखमा खडा हुने देशको भारत हो । त्यसलाई हामी नबुझेर गलत किसिमले व्यवहार गरेको हुनाले हामी दुःख पाइरहेका छौं ।

 

तपाईको प्रतिक्रिया