चित्रकलामा दख्खल भएका कलाकार खोजिनुपर्छ : एस. सी. सुमन

मिथिला चित्रकार

अन्तर्वार्ता

    २०७५ साल माघ १८ गते शुक्रबार ।   

० मिथिला चित्रकलाको प्रदर्शनी गरिरहनु भएको छ ? कसरी अगाडि बढिरहेको छ ?
— यो मेरो १६ औँ एकल प्रदर्शनी हो । यसमा मिथिला कसमस ‘द सङ्स अफ इनोसेन्स एण्ड एक्सपेरियेस’ को शीर्षकमा अहिले प्रदर्शनी भइरहेको छ । यहाँसम्म आइपुग्दा पटक–पटक सिद्धार्थ आर्ट ग्यालरीमा काम गर्दै जाँदा खेरी मिथिला कसमस शीर्षकमा यो पाँचौ शृखंला हो । २००७ देखि मैले मिथिला कसमस सुरु गरें र २०११ मा मिथिला कसमस न्यु न्यारेटिभ, २०१३ मा मिथिला कसमस ‘ट्रि अफ लाईफ’ लगायतका प्रदर्शनीहरु भइसकेका छ । संविधान जारी भइसकेपछि मिथिला कसमस कल्पविज्ञ भनेर मेरो प्रदर्शनी भयो । ती प्रदर्शनीहरु मिथिला चित्रकारको इतिहासमा एउटा महत्वपूर्ण आधारहरु हुन् । मेरो चित्रले विभिन्न देशका समस्याहरुको बारेमा बोल्दै आएको छ, जो मिथिला चित्रकलामा धेरै कम देखिन्छ । मेरो ३५÷४० वर्षको अनुभवलाई मैले यस प्रदर्शनीमा अगाडि ल्याएको छु ।

० यो प्रदर्शनी कहिलेसम्म चल्छ र कहाँ प्रदर्शन भईरहेको छ ?

— सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा यसको प्रदर्शनी भइरहेको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म तपाईहरु हेर्न सक्नुहुन्छ । यो १ महिनाको प्रदर्शनी हो, २० फ्रेबुअरीसम्म चल्नेछ ।

० यो प्रदर्शनीको आकर्षण के हो ?

— त्यहाँ करिब २९ वटा चित्रहरु छन् । पशुपति दर्शनदेखि लिएर स्वम्यभू, गुहेश्वरी लगायतका काठमाडौंको विषयवस्तुलाई समेटिएको छ । त्यहाँ मिथिला र नेवारी सम्बन्धका कुराहरु, देशको बहुगामी पक्षका कुराहरु, सद्भावका कुराहरू रहेका छन् ।

० आमदर्शकलाई मिथिलाको झल्को दिने के—कस्तो चित्रहरु राख्नुभएको छ ?
— सबै मिथिलाकै झल्को दिने चित्रहरु रहेका छन् । म मैथिली चित्रकार हुँ । आजसम्म मिथिला कसमस कै एउटा ब्रम्हाण्डको रुपमा यसलाई प्रस्तुत गरेको छु । मेरो काठमाडौंको चार वर्षे बसाईको क्रममा केही विषयवस्तु काठमाडौंको पनि समेट्ने कोशिस गरेको हुँ । एसएलसी पास गरेपछि र आमासँग काडमाडौं आउँदाको अनुभवलाई सम्झेर मैले पछाडि फर्केर आफ्नो क्यानभासलाई चित्रकलामा उतारे । त्यस पछि आजसम्मको यो ४ वर्ष म नेपाल एकेडेमीमा फाइन आर्टको काउन्सिल मेम्बर भएँ र त्यसपछि हेड अफ द डिपार्टमेन्ट अफ फोक आर्टमा ४ वर्ष काम गरें । त्यो अवधि २०१४ र २०१८ को निरन्तर बसाई त्यसमा जोडिएर आएको छ र त्यस भित्रको कथा व्यथाहरु चित्रको माध्यमबाट सजिलै हेर्न सकिनेछ ।

 ० मिथिला चित्रकारहरुलाई यही माध्मयले आफ्नो जीवन निर्वाह गर्न कत्तिको सजिलो छ ?
— कुनै काम सजिलो हुँदैन । त्यो काममा तपाई कत्तिको लागि पर्नुभएको छ भन्ने पनि महत्वपूर्ण हुन्छ । चित्रकार बनेर वा कलासँग जोडिएर जीवन निर्वाह गर्न धेरै गाह्रो छ । यो क्षेत्रमा संघर्ष धेरै गर्नुपर्र्छ, इमान्दारिता चाहिन्छ तर निरन्तर लागिरहनु भयो भने एकदिन सफल अवश्य भईन्छ ।

० मिथिला क्षेत्रको ऐतिहासिकताको हिसाबले मिथिला चित्रकलाले कत्तिको स्थान पाउन सकेको पाउनुहुन्छ ? राज्यबाट र आफ्नै समुदायबाट प्रोत्साहनको स्तर कति छ ?

— जब आफूले आकर्र्षित गर्न सकिन्छ त्यसपछि राज्यले वा समुदायले पनि माया गर्दै जाने हुन्  । मैले सन् १९९० देखि चित्र प्रदर्शनी गर्न सुरु गरेको हुँ । अहिलेसम्म आईपुग्दा म एकल प्रदर्शनी गर्न सक्ने भएको छु । अहिले नेपाल एकेडेमी अफ फाईन आर्टमा लोककलाको विभागको गठन भएको छ । त्यहाँ विगतमा मैले पनि चार वर्ष बसेर काम गर्ने मौका पाएको थिएँ । अहिले पनि त्यहाँ मिथिला कलाकारहरुलार्ई समावेश गरिन्छ । हामीले आफ्नो ठाउँबाट मिहेनत गर्ने हो भन्ने राज्यले अवश्य सम्बोधन गर्दै जान्छ ।
मिथिला समाजमा जसले केही गर्न सक्दैन त्यो कलाकार बन्छ भन्ने धारणा अहिलेसम्म पनि रहेकै छ । प्रायः जसो कलाकारले त्यसको अनुभव गर्नुभएकै छ । मलाई देशले भन्दा पहिले विदेशले चिनेको हो । विदेशले चिनिसकेपछि देशले खोज्न सुरु ग¥यो, देशले खोजेपछि मात्र मलाई मेरो समाजले खोजेको हो । तपाई आफू अगाडि बढ्नुहुन्छ भने परिवार, समाज र राष्ट्र पनि कभिन्स हुँदै जान्छ भन्ने मेरो अनुभव हो ।

० यो क्षेत्रमा आउन तपाईलाई परिवारको सहयोग थिएन ?

— म घरको जेठो छोरा हुँ । आमाबुबाको सपना मलाई डाक्टर बनाउने थियो । विद्यार्थी जीवनदेखि नै म कलाकारितातिर आकर्षित थिएँ । कलाकारिता गर्न थालेपछि आफ्नो जीवनलाई कसरी अगाडि बढाउँला भन्ने बुबालाई डर थियो । किनभने विज्ञानको विद्यार्थी भएर पनि मैले कलाकारितालाई कहिले छोडिन । परिवारको दायित्व पूरा गर्नको लागि मैले अन्य कामहरु पनि गर्नुपर्दथ्यो तर जुन सन्तुष्टि मलाई चित्र बनाउँदा प्राप्त हुन्थ्यो अन्य काम गर्दा कहिल्यै भएन । आज आएर परिवारले गर्व गर्ने अवस्थामा पुगेको छु । आज यो ठाउँमा आइपुग्न मेरो एक दिनको होइन ३० वर्षको निरन्तर मेहेनत रहेको छ ।

० तपाईलाई चित्रकलाप्रति यस्तो मोह कहिलेदेखि भयो ?

— म विद्यालयमा पढ्दा पनि विभिन्न किसिमका चित्रहरु बनाएर प्रदर्शन गर्थे । त्यतिबेला कलम, कपी, पेन्सिल जस्ता पुरस्कार जितिन्थ्यो । त्यहीबेलादेखि नै मलाई चित्रकलाप्रति रुचि भएको हो । मैले स्वःअध्ययनले नै चित्रकारिता सिकेको हुँ र गर्दै आएको छु । चित्रकलासम्बन्धी कुनै तालिम अहिलेसम्म लिएको छैन ।

० नेपालभन्दा बाहिर पनि तपार्ईको चित्रहरु प्रदर्शनी भएका छन् ?

— फ्रान्समा पहिलो पटक प्रदर्शन गरेको थिएँ, त्यसपछि जर्मनी, बंगलादेश, चीन, युके, अमेरिका लगायतका देशहरुमा मैले चित्र प्रदर्शनी गरेको छु । त्यहाँबाट मैले पुरस्कारहरु पनि पाएको छु । मेरा चित्रहरु देश विदेशका विभिन्न म्युजियमहरुमा पनि राखिएको छ । अष्ट्रियामा चित्र प्रदर्शनी सुरु हुँदैछ । अप्रिल महिनादेखि त्यसमा मेरो आर्ट पनि त्यहाँ प्रदर्शन हुने क्रममा रहेको छ । २०१९ को मार्च महिनामा बंगलादेशमा पनि एउटा कार्यक्रम रहेको छ । त्यहाँ एउटा नेपाली टोलीलाई मैले नेतृत्व गर्नेछु । त्यसमा मेरो प्रमुख भूमिका रहेको छ । २०१९ अगस्टमा बेईजिङमा मलाई आमन्त्रित गरिएको छ । यसरी पछिल्लो समयमा चित्रकलाको माग बढ्दै गएको महसुस गरेको छु ।

० मिथिला चित्रकलाको भविष्य कस्तो देख्नुहुन्छ ?
— भविष्य त उज्वल नै छ । अझ राम्रो बनाउनका लागि म मात्र लागि परेर हुँदैन । योसँग सम्बन्धित भएका सबैको मिहेनतको खाँचो छ । ग्रामीण क्षेत्रमा धेरै यस्ता महिलाहरु छन् जसको हातमा सीप भएर पनि अवसर पाएका छैनन् । शिक्षाको पनि अभाव छ । उनीहरुलाई पनि बाहिर ल्याउन जरूरी छ । चित्रकलामा दख्खल भएका कलाकारको जति खोज हुनुपर्दथ्यो त्यति हुन सकेको छैन । ठूलो संख्यामा महिला कलाकारहरु छन् र उनीहरुलाई हामीले समेट्न सकेका छैनौं । अब यो विषयमा पनि ध्यान दिन जरूरी छ ।

० नयाँ पिँढिलाई यो कला सम्बन्धी जानकारी दिन तपाईले कुनै तालिम केन्द्रहरु खोल्नुभएको छैन ?
— मसँग त्यति समय नै भएन । मैले बाहिर नै रहेर विभिन्न क्षेत्रमा गएर मधेशी लोककला, मिथिला लोककला, थारू, अवधि, राजवंशी लोककला आदि क्षेत्रहरुमा काम गर्न सुरु गरें । त्यहाँ मैले तालिमहरु दिने व्यवस्था पनि गरेको थिएँ । ४ वर्षमा पूर्वदेखि पश्चिमका विभिन्न ठाउँमा तालिमहरु सञ्चालन ग¥यौं । व्यक्तिगत रुपमा त्यस्तो कुनै केन्द्र नखोले पनि विभिन्न विश्वविद्यालयहरुले आमन्त्रण गर्दा मैले त्यहाँ गएर चित्रकला सम्बन्धी जानकारी दिने गरेको छु ।

( मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश )

तपाईको प्रतिक्रिया