प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको ‘ललिपप’

राजनीति

       

काठमाडौं, १ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी ओलीलाई ललिपप पठाएका छन् ।

सत्तारूढ संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संसदको रोष्ट्रमबाट बोल्दै कोटको खल्तीबाट ‘ललिपप’ निकाले र मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई फिर्ता दिएको बताए ।

संसदमा नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल चल्दै थियो । यादवले सरकारले ल्याएको विधेयकमा सिडिओलाई छोटा राजा र मुख्यमन्त्रीलाई बिनासेनाको सेनापति बनाउन खोजिएको आरोप लगाए ।

उनले विधेयक संघीयता खत्तम पार्न ल्याएको भन्दै आपत्ति जनाए। यादवले मुख्यमन्त्रीहरूले पटकरपटक प्रधानमन्त्रीलाई भेटेर आफ्नो अधिकार र आत्मनिर्णयदेखि शासन प्रशासनको कुरा राखेको स्मरण गरे ।

सांसद यादवले प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई बोलाएर ललिपप दिने कुरा गरेको बताए । ‘मैले प्रदेश नं २ का मुख्यमन्त्रीसँग कुरा गरेँ । उहाँले के भन्नु भयो... हामी बच्चा छैनौं र प्रधानमन्त्रीले जुन ललिपप दिनु भएको छ । त्यो ललिपपले मान्दैनौं । त्यसैकारण यो प्रधानमन्त्रीको ललिपप तपाँइ लिएर जानुहोस् । र सभामुख महोदय मार्फत् ललिपप फिर्ता गरिदनुहोस् ।’

आक्रामक रूपमा संसदको रोष्ट्रमबाट प्रस्तुत भएका यादवले खल्तीबाट ललिपप निकाले र सांसदहरूलाई देखाएका थिए । उनले प्रदेश प्रहरी र नेपाल प्रहरीको कार्यसम्पादनसम्बन्धी विधेयक संघीयता मार्नका लागि जन्मिएको तर्क गरे ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई थप शक्तिशाली बनाउँदै ल्याइएको विधेयकमा प्रदेश प्रहरीको परिचालनको अधिकार सिडिओलाई दिइएको छ ।

तपाईको प्रतिक्रिया