निःसन्देह ११ बुँदे भित्र ठूलै राजनीतिक षड्यन्त्र छ : डा. भोगेन्द्र झा

राजनीतिक विश्लेषक

अन्तर्वार्ता

    प्रकाशित मिति : २०७५ चैत १ गते शुक्रबार   

० नेपाल सरकार र डा.सीके राउतबीच भएको सहमतिलाई कसरी हेर्नुभएको छ ?

— यो सहमतिले जसरी आकस्मिकरूपमा डा.सीके राउतलाई अवतरण गराइयो, निःसन्देह कहीं न कहीं यसभित्र ठूलै राजनीतिक षड्यन्त्रको गन्ध आइरहेको छ । किनभने एक दिन पहिला सर्वोच्च अदालतको निर्णय आउँछ कि मुद्दा लागेका व्यक्तिलाई साधारण तारेखमा छोड्नू र त्यसकै भोलिपल्ट सीके राउत, जो स्वतन्त्र मधेशको अभियान चलाइरहेका थिए, रातारातको उसको आवरणमा परिवर्तन हुनु यसले शंका उत्पन्न भएको छ ।

० पृथकतावादी आन्दोलन चलाइरहेका व्यक्ति मूलधारको राजनीतिमा आउँदा त्यत्रो शंका गर्नुपर्ने कारण के ?

— यो सम्झौताप्रति नेपाल सरकार र सीके राउत दुइटैप्रति छ । नेपालको इतिहासलाई केलाउनुहुन्छ भने विगत २० वर्षमा विभिन्न समूह र दलसँग सयभन्दा बढी सहमति भइसकेको छ । पृथकतावादी आन्दोलनको कुरा गर्ने हो भने सीके राउत मात्र होइन, जयकृष्ण गोइत, ज्वाला सिंह लगायत विभिन्न नाउँमा सहमति भएको छ । उनीहरूसँग पनि राज्यले सम्झौता गरेको छ तर त्यसको निष्कर्ष के भयो ? जुन सहमति र सम्झौता गरियो त्यो कागजमा मात्र देखियो र कार्यान्वयन कतै पनि देखिएन । यसतर्फ राज्य पक्ष वा सत्ता सञ्चालक इमान्दार भएन । अहिले अकस्मात रूपमा यसरी परिणत हुनु, सर्वोच्च अदालतले साधारण तारिखमा रिहा गर्न भन्छ, अर्कोतिर राज्यपक्षले सम्झौता गर्छ । अर्को कुरा सीके राउतको जनकपुरधाम आगमन हुँदा जुन प्रकारको गतिविधि देखियो, त्यसले सम्झौता विपरीत आचरण गरिरहेको देखिन्छ । या त सीके राउतले आफ्ना समर्थकहरूलाई धोका दिइरहनु भएको छ या त उहाँले सम्झौता विपरीत जाँदै हुनुहुन्छ । उहाँले गरेको सम्झौताको पहिलो बुँदा अखण्ड नेपाल स्वीकार गरिसक्नुभएको छ भने अर्कोतर्फ जनमत संग्रहको कुरा गरिरहनु भएको छ । यहाँ सवाल आउँछ के को लागि जनमत संग्रह । निश्चित रूपमा पृथक मधेश राज्यका लागि जनमत संग्रह त हुँदैहुँदैन ।

० जनमत संग्रह र जनअभिमतमा के भिन्नता छ ?

— जनअभिमत, जनमत संग्रह हुनसक्छ । यदि भाषा विज्ञानको दृष्टिकोणले हेर्ने हो भने यी दुईटा पर्यायवाची जस्तै हो । तर जनअभिमत के को लागि । जुन लिटरेचर हो सीके राउतको, त्यो पृथक मधेश र राज्यका लागि नै हो । जब ११बुँदे सम्झौताको पहिलो बुँदा उहाँले नेपालको अखण्डतालाई स्वीकार गरिसक्नुभएको हो भने जनमत संग्रह वा जनअभिमत के को लागि ? त्यो जनमत संग्रह हुनसक्छ नेपालको संघीयतालाई समाप्त पार्नका लागि हो कि, गणतन्त्रलाई समाप्त गर्नका लागि । यो त स्पष्ट छ कि अब स्वतन्त्र मधेशका लागि जनमत संग्रह भन्ने परिकल्पना त्यो सम्झौतामा कहींँ पनि छैन ।

० डा.सीके राउतको समूह नेपालको मूलधार राजनीतिमा आउनुलाई कसरी लिन सकिन्छ ?

— डा.सीके राउतजस्ता विद्वान व्यक्ति यदि मूलधारको राजनीतिमा आउँछ भने स्वागतयोग्य हो । तर, त्यो विद्वान व्यक्तिको शास्त्रीय ज्ञानको रूपान्तरण यदि सकारात्मक दिशामा हुन्छ भने त्यो पनि स्वागतयोग्य हो । किनभने राजनीति अहिले विकृत भइरहेको छ, त्यस अवस्थामा एउटा सचेष्ट व्यक्तिको राजनीतिमा इमान्दार सहभागिता हुन्छ भने सकारात्मक नै हो ।

० नेपालमा पृथकतावादी आन्दोलन गर्ने डा.सीके राउत पहिलो व्यक्ति होइनन्, उहाँभन्दा पहिला पनि यस्ता आन्दोलनहरू हुँदै आएका छन् । भनेपछि डा.राउतसँगको सहमतिले नेपालमा अब पृथकतावादी आन्दोलन हुँदैन भन्नेमा विश्वास गर्न सकिन्छ ?

—प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति जुन प्रकारले कटाक्षपूर्णरूपमा आइरहेको छ त्यो उहाँको बालसुलभ हठको धोतक मात्र हो । उहाँमा राजनीतिक दूरदर्शिताको सर्वथा अभाव छ । उहाँ कटाक्ष र व्यंग्य गर्नुहुन्छ तर सबभन्दा बढी पराजित कोही छ भने ओलीजी नै हुनुहुन्छ जसले सम्झौता गरेको हो । मैले पनि सीके राउतको लिटरेचर धेरै हदसम्म पढेको छु । उहाँले जुन किसिमका मुद्दा उठाउनुभएको थियो र उहाँका जुन प्रकारका समर्थकहरू छन्, उनीहरूले पनि समर्पण गरिहाल्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । उहाँको अहिलेको विचारलाई समर्थकहरूले समर्थन गरेका छैनन् । त्यसैले उहाँले जनमत संग्रहको कुरा गरिरहनुभएको छ । उहाँका प्रवक्ताहरूले भनिरहेका छन् कि रणनीतिकरूपमा उपयोग हो यो सम्झौता । त्यसैले सीके राउत मूलधारमा प्रवाह गरे पनि जबसम्म विभेदरहित समाज हुँदैन तबसम्म यस्ता कुराहरू उठिरहन्छ । समाजमा यस्ता पृथक आवाज सीके राउतले परिकल्पना गरेको हो भन्नु गलत हुन्छ । जबसम्म क्षेत्रीय र वर्गीय विभेदहरू अन्त्य हुँदैन तबसम्म यस्ता कुराहरू समाप्त हुँदैन ।

० रेशम चौधरीलाई जन्मकैददेखि सीके राउतसँग भएको सम्झौतासम्मको राजनीतिक घटनाक्रम एउटा संयोग मात्र हो कि यो एउटा रणनीतिगत हो ?

— जुन प्रकारको अहिले गतिविधिहरू भइरहेका छन्, त्यसले प्रष्टरूपमा भनिरहेको छ कि यो सुनियोजित तरिकाले भइरहेको छ । रौतहटको गरूडामा जुन प्रकारले केपी ओलीको अभिव्यक्ति आयो, त्यो एकदम हास्यास्पद हो । राजपा र फोरमले मधेशबाट ठगेर मत लिएको हो भने के नेकपाले अहिले जुन मत ल्याएको छ के त्यो ठगेर ल्याएको होइन ? उहाँ भन्नुहुन्छ कि मधेशवादीहरूलाई उन्माद भयो, तर सत्तापक्षका नेताहरूमा उन्माद भएको हो । दुई तिहाइ सत्ताको उन्माद भएको छ, गम्भीरता छैन । कहीं न कहीं यो षड्यन्त्र मधेशप्रति मात्र होइन समग्र नेपालप्रति भइरहेको छ । अहिले अदालत पनि राजनीतिको बन्दी भएको छ । दलीय प्रतिनिधिहरू अदालतमा जान्छन् भने त्यसको परिणति यस्तै हुन्छ । त्यसैले यो सबै सुनियोजित हो । गरूडामा केपी ओली र माधव नेपालको जुन अभिव्यक्ति थियो त्यो अहंकारपूर्ण थियो र षड्यन्त्रको एउटा कडी हो ।

० भनेपछि, प्रदेश २ मा पनि आफ्नो कब्जा जमाउन नेकपा नेतृत्वको सरकारले सीकेलाई मूल धारमा ल्याउन नाटक गरेको हो ?

— एउटा रणनीति तहत यस्तो हुनसक्छ । सीके राउतको हस्ती र अहिलेसम्मको स्थिति के हो भन्ने कुराको मूल्यांकन गर्नसक्ने सामथ्र्य नेकपामा भएन । गत चुनावमा सीके राउतको अभियान थियो कोठली बाहर मतदान । उहाँ स्वतन्त्र मधेश गठबन्धनको माध्यमद्वारा स्वतन्त्र मधेशको पक्षधर तर उहाँ संघीयता पक्षधर हो कि होइन त्यो कुरा कहिल्यै पनि स्पष्ट गर्नुभएको छैन । प्रदेश २ को आर्थिक र प्रशासकीय अवस्था कमजोर हुनुको अर्थ संघीयता कमजोर हुनु हो । जहाँबाट संघीयताको सूत्रपात भएको हो त्यो आधार प्रदेश २ नै हो । त्यो प्रदेशलाई कमजोर बनाउनुको अर्थ संघीयतालाई विफल बनाउने षड्यन्त्र हो । अहिले पनि नेकपामात्रै होइन, नेपाली कांग्रेसका अधिकांश शीर्ष तहमा बसेका नेताहरू संघीयता रूचाइरहेका छैनन् । प्रदेश २ अस्थिर भइरहोस् भन्नेमा कहीं न कहीं समर्थन कांग्रेसको पनि छ । राजनीतिमा कोही कसैको मित्र वा शत्रु सर्वकालिक हुँदैन । समृद्धि र खुसी भाषणबाट हुँदैन आचरणबाट हुन्छ ।

० सीके राउतको मैन स्ट्रिमिङ्गले मधेशकेन्द्रित दललाई कस्तो असर पर्न सक्छ ?

— यदि डा.सीके राउतले पहिचान र जनमुखी राजनीति गर्नुहुन्छ भने मधेशकै प्रतिनिधि ठान्छु । उहाँ मधेशको प्रखर प्रतिनिधि हुनुहुनेछ । तर, जुन मनसाय हो नेकपाको तिनीहरूको पृष्ठपोषक भएर यदि सीके राउत अग्रसरता देखाउनु हुन्छ भने उहाँको राजनीतिको कुनै भविष्य हुँदैन । तात्कालिक उहाँले कुनै लाभ प्राप्त गर्न सक्नुहुन्छ तर दीर्घकालिकरूपमा उहाँ टिक्न सक्नुहुन्न । किनभने उहाँप्रतिको जुन आकर्षण हो त्यो निश्चितरूपमा पहिचानलाई स्थापित गर्ने हो । उहाँले पृथकवादी नारा छोडेर स्वायत्त मधेशको राजनीति गर्नुहुन्छ भने मधेशको राजनीति त झन् सवल हुन्छ । त्यसैले मधेशकेन्द्रित दलहरूका लागि एउटा ठूलो अवसर हो । मधेशकेन्द्रित दलका नेताहरूमा यदि दूरदृष्टि छ भने सीके राउतलाई अवसरको रूपमा प्रयोग गर्न सक्नुपर्छ । किनभने अहिले उनीहरू पनि सत्तालिप्सामा बढी लागेको देखियो । मधेशकेन्द्रित दलहरू संघर्ष गर्छन् तर उनीहरूमाथि प्रलोभन र प्रताडन दुबैको प्रभाव छिटो पर्छ । त्यसबाट जोगिन सक्नुपर्छ । उनीहरूले बुझ्नुपर्छ कि काठमाडौंको सरकारले उनीहरूकै विरूद्ध षड्यन्त्र गरिरहेको छ । सीके राउत मधेशी दलहरूका लागि एउटा चुनौती पनि हो ।

० डा.सीके राउतलाई रातारात सहमति गरेर मूलधारमा ल्याउने तर संविधान संशोधनप्रति यो सरकारले गम्भीरता नदेखाउने, भनेपछि यो सरकारले संशोधन गर्छ त ?

— म दृढ विश्वस्त छु कि केपी ओलीको सरकारले संविधान संशोधन गर्दैन । केपी ओलीको सरकार वा केपी ओली प्रवृत्तिको क्यापिटल भनेको दमित वर्गलाई उन्मुक्ति नदिनु उसको राष्ट्रियताको पहिचान हो । त्यसैले सकारात्मक संविधान संशोधन कदापि गर्दैन । अहिलेसम्म मृगतृष्णामै फोरम बसिरहेको छ । राजपालाई पनि त्यो मृगतृष्णा थियो । यो सरकार मधेशको भावनाअनुकूल संविधान संशोधन गर्छ भन्ने कुराको कल्पना पनि नगरे हुन्छ । किनभने उग्रराष्ट्रवादको रूपमा ओलीजीको छवि छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया