यहाँ कृषिसम्बन्धी विद्यालय आवश्यक छ : इश्तियाक अहमद शाह

अध्यक्ष, नरैनापुर गाउँपालिका, बाँके

स्थानीय सम्वाद्

    प्रकाशित मिति : २०७५ चैत १ गते   

० तपाइँ नरेनापुरको अध्यक्ष भएदेखि केकस्ता कामहरू गर्नुभयो ?

— यो गाउँपालिका बाँके जिल्लाकै सबभन्दा दुर्गममध्येको एक हो । हामी निर्वाचित भएर आउनुभन्दा पहिला एकदम जीर्ण थियो । म निर्वाचित भएर आएदेखि यहाँ सबभन्दा पहिला हामीले बाटोघाटो निर्माणमा विशेष जोड दियौं । यहाँका सडकहरू कालोपत्रे गरिरहेका छौं । मैले यहाँ शून्यदेखि काम गरिरहेको छु । यो दुर्गम क्षेत्र भएपछि सरकारले विशेष प्राथमिकता दिनुपर्ने थियो तर त्यो अनुसार बजेट हामीलाई उपलब्ध गराइएको छैन । दुर्गम क्षेत्र भएकाले यहाँ अन्य ठाउँभन्दा बढी बजेट दिनुपर्ने हो । तैपनि हामीसँग जति बजेट छ त्यसमा हामी काम गरिरहेका छौं । यस गाउँपालिकाका लागि हामीले मास्टरप्लान पनि तयार गरेका छौं । यहाँको शिक्षाको स्तर पनि एदकम दयनीय थियो, त्यसमा पनि हामीले विशेष ध्यान दिएका छौं । यहाँ चेतनाको पनि धेरै कमी थियो ।

० बाँकेका सबभन्दा दुर्गम गाउँपालिका भएकोले यहाँको मुख्य समस्या के छ ?

— यो यति धेरै पिछडिएको ठाउँ हो कि मुख्य समस्या के भन्ने । यहाँ केही पनि थिएन । बाटो, बिजुली, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र अति नै दयनीय थियो । तर, हामी विस्तारै सुधार गर्दै लगिरहेका छौं ।

० विगतमा यो गाउँपालिका किन यतिधेरै पछाडि प¥यो त ?

— खासगरी यो यतिधेरै पछाडि पर्नुको मुख्य कारण चेतनाको कमी हो । अर्को कारण, यहाँका जनप्रतिनिधिहरूले आफ्नो भोटबैंक र करदाताको रूपमा प्रयोग गर्दै आए । तर, हामी निर्वाचित भएर आएदेखि दिनरात लागिपरेका छन् । त्यो मिहिनेतको फल हामी अवश्य नै पाउँछौं । यहाँका जनता हाम्रो कामबाट एकदम खुशी छन् । पहिला त यहाँ नेताहरूले हिन्दू–मुस्लिमको नारा लगाएर यहाँ सामाजिक सद्भाव विथोल्ने काम गरेका थिए । तर, मैले ती कुराहरूलाई समाप्त गरिसकेको छु । अहिले यहाँ सामाजिक सद्भाव कायम भएको छ । हामीले जाति वा समुदायको भावनाबाट माथि उठिसकेका छौं । हाम्रो एउटै मात्रै हो विकास र समृद्धि ।

० भनेपछि, त्यहाँका जनताले स्थानीय सरकारको महसुस गरेका छन् ?

— बिल्कुल महसुस गरेका छन् । जनता धेरै खुशी छन् ।

० सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा त्यहाँका जनताले महसुस गरेका छन् ?

— पहिलाको भन्दा हजारौं गुणा गाउँपालिकामा सुधार भएको छ । त्यसैले जनताले यो नारा महसुस गर्न पाएका छन् । मुलुक संघीयतामा गइसकेपछि तीन तहको सरकार रहेको छ र स्थानीय सरकारको महसुस गरेका छन् । तर, यो क्षेत्रलाई दुर्गम भनेर घोषणा गरे पछि राम्रोसँग संघीय सरकारले हेर्नुपर्छ । यहाँ २० वर्षसम्म विभिन्न एनजिओहरूले काम गरे तर केही पनि देखिने काम भएको छैन ।

० दुर्गम क्षेत्रको हिसाबले यो गाउँपालिका बजेट दिइएको छैन ?

— एकदम कम बजेट दिएको छ । जति बजेट आएको त्यसैमा स्वास्थ्य, शिक्षा, बाटोघाटो, कृषि लगायतका विषयमा विकास गर्नुपर्ने हो । त्यसैले हामीले चाहेजस्तो काम गर्न सकिरहेका छैनौं । सरकारले विशेष प्राथमिकताका साथ दुर्गम क्षेत्रलाई बजेट दिनुपर्ने थियो ।

० यस वर्षको बजेटमा के–के प्राथमिकतामा राख्नुभएको छ ?

— हामीले सबभन्दा बढी प्राथमिकतामा सडक सञ्जाल निर्माण गर्ने, शिक्षाको स्तर उकास्ने हाम्रो प्राथमिकता छ । यहाँ कृषिसम्बन्धी विद्यालय यहाँ आवश्यक छ । त्यसका लागि हामीले प्रयास गरिरहेका छौं ।

० नरैनापुरको मुख्य आयस्रोत के हो ?

— यहाँका जनजीवन कृषिमा नै आधारित रहेको छ । कृषिमा हामीले धेरै लगानी गर्न पाएका छैनौं । तर, हामीले कृषकलाई सिजनअनुसार विभिन्न खाद्यान्न वस्तुको बीउ वितरण गरेका छौं । हाम्रो बजेटले भ्याएसम्म अलि–अलि मल पनि उपलब्ध गराएका थियौं । त्यस्तै, यहाँ सिंचाइको पनि ठूलो समस्या छ । सहजरूपमा सिंचाइका लागि हामीले पहल गरिरहेका छौं । बोरिङ्गका लागि पनि हामीले यस पटकको बजेटमा योजना राखेका छौं । हाम्रो प्रदेश ५ को सरकारले पनि हामीलाई बोरिङ्गका लागि सहयोग गरेको छ । वडा नं. २ मा अन्तर्राष्ट्रिय स्टेडियमका लागि शिलान्यास पनि भइसकेको छ । यो निर्माण भइसकेपछि नरेनापुरको एउटा छुट्टै पहिचान बन्छ ।

० तराई मधेश समृद्धि कार्यक्रम यो गाउँपालिकामा आएको छैन ?

— यो कार्यक्रम यहाँ आएको थियो त्यसमा हामीले १५ करोडको योजना दिएका थियौं तर हामीलाई जम्मा ९० लाखको योजना मात्रै दिइयो । १५ करोडको योजनामा जम्मा ९० लाख आउँदा त्यसमा हामी के गर्न सक्छौं ? यो दुर्गम ठाउँ भएकोले यसलाई अझ बढी प्राथमिकता दिनुपर्ने हो तर, हामीलाई यसमा अति न्यून बजेट दिएको हो ।

तपाईको प्रतिक्रिया