होली वा वसन्त नवसस्येष्टि पर्व

कला/संस्कृति

विवेककुमार वैश्य

       

होली पर्व आर्य वर्षको प्रमुख चाडपर्व मध्ये फाल्गुन मासको पूर्णिमामा पर्ने हिन्दूहरुको महान पर्व हो । होली अथवा वसन्त नवसस्येष्टि पूर्व वैदिककालदेखि चलिआएको आरोग्य, सौहार्द एवं उल्लासपूर्वक मनाइने महान चाड हो ।

वसन्त नवसस्येष्टि अर्थात (नव–नयाँ, सस्य–अन्न, येष्टि–यज्ञ) वसन्त ऋतुमा उब्जेको नयाँ अन्न वा अनाजहरुको यज्ञ विधिबाट गरिने पुजा हो । प्रह्लाद र होलीको कथा प्रसिद्घ भएपनि होली वा वसन्त नवसस्येष्टिसँग परसपर सम्बन्ध भने राख्दैन ।

यो पर्व प्रह्लाद र होलीकाको भन्दा पहिलैदेखि मनाउँदै अएको पर्व हो । पौराणिक मान्यताअनुसार हिरण्य कश्यपुको बहिनी होलिकाले भगवानबाट वरदान पाएकी थिइन् कि उनी आगोमा जल्ने छैनन् । हिरण्य कश्यपु घोर नास्तिक थिए तर उनका छोरा प्रहलाद धर्मात्मा, ईश्वर भक्त थिए ।

बाबु छोरामा सधै अनमन, अन्तर्विरोध भै रहन्थ्यो । एकदिन हिरण्य कश्यपुले बहिनी होलिकालाई भने कि तिमी आगोमा जल्ने छैनौ त्यसकारण तिमी प्रहलादलाई काखमा राखेर चितामा बस । त्यस पस्चात प्रहलाद जलेर भस्म हुनेछ र हाम्रो बिरोधी भगवान मान्ने पनि सिद्धिनेछ ।

तर, अन्ततः ईश्वरका कृपाले होलिका आगोमा जलिन् र प्रहलाद बचे । प्रह्लाद र होलीकाको सन्र्दभमा हामी सबैलाई विदित भएपनि होलीलाई हामीले उचित अर्थमा र सहि विधिलाई बुझ्न जरुरी छ । जसरी हामी नेपालीहरुले असार १५ लाई धान दिवस वा दहिचिउरा दिवस मनाइन्छ त्यसरी नै यो पर्वमा गहुँ, चना, केराउ, जौ, आदिको आगमनको खुसिमा महायज्ञ गरी त्यसको परिक्रमा गर्दै हर्ष उल्लासका साथ मनाउने गरिन्थ्यो ।

वस्तवमा यो पर्वको सान्दर्भिक अर्थ अन्नसँग जोडिएको छ । संस्कृत भाषामा आगो अद्र्ध पाकेको अन्नलाई “होलक” भनिन्छ । जसको पुष्टी वा प्रमाणित गर्न हेतु शब्द कल्पद्रुमकोशः का अनुसार तृणाग्नि भ्रष्टाद्र्धपक्वशमीधान्यं होलकः अर्थाात अर्ध वा आधा पाकेको बोक्रा भएको अन्नलाई होला वा होलक भनिन्छ जसको संस्कृत अर्थमा अद्र्ध पक्वशमीधान्यै स्तृण भ्रष्टैश्च होलकः होलकोऽ ल्पानिलो मेदकफदोषश्रमापहः हो ।

हामी नेपाली जनमानसमा नविन अन्न वा बस्तुको पुजा नगरिकन प्रयोगमा ल्याउन हुँदैन भन्ने प्रथा परमपरा प्रचलित छ । यो मान्यता वा परम्परा अहिले मात्र नभई प्राचिनकालदेखि चलिआएको छ त्यसकारण यस पर्वमा भित्राउने नयाँ अन्नको पुजा यज्ञ विधिद्वारा गर्ने गरिन्छ र यज्ञ विधिलाई “यज्ञो वै श्रेष्ठतमं कर्म” अर्थात यज्ञ नै सर्वोतम कर्म हो भनिएको छ ।

यस पर्वको मुख्य उद्देश्य भेदभाव मेटेर पारस्परिक प्रेम वा सदभाव प्रकट गर्ने हो । यज्ञ गरेर आफ्नो दुर्गुण, दुरवेशन तथा कुसंस्कारको अहुति दिएर मधुर सम्बन्धलाई उजागर गर्नु हो ।

अतः यो प्रेम प्रसारको पर्व पनि भनिन्छ । प्राचिन समयमा पलासको फुलबाट बनाइएको रंग वा बेसार, कुमकुम चन्दनबाट होली खेलिन्थ्यो तर हालको स्थिति विभिन्न विकृति र असभ्यताका कारणले गर्दा नितान्त विकराल रुप लिँदै गएको पाइन्छ ।

होलीको नाममा हिलो र फोहोर पानी छ्याप्ने, काँचो अण्डा हान्ने, रक्सी, बाटोमा विदेशीहरुलाई असभ्य व्यवहार गर्ने र महिला उत्पीडन जस्तो कार्यले विकृत र प्रदुषित हुँदै गएको छ । यस्तो विकृति र असभ्यताले यस पर्व प्रतिश्रद्धा विश्वास र होली मनाउन चाहने व्यक्ति त्रास, असुरक्षितका कारण घरमै बसिरहेका हुन्छन् ।

मुख्यतः यस्ता असभ्य कार्यको कारणले प्रत्यक्ष रुपमा महिलाहरु असुरक्षित र पीडित भएको पाइन्छ । अनलाइन गुगल फोर्मको माध्यमबाट होलीमा महिला उत्पीडन सम्बन्धी लिइएको सानो तथ्यांकले महिलाहरु ज्यादै असुरक्षित छन् भन्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आजभोली जसप्रकारले होली मनाउने गरिन्छ त्यो हेरेर जो कोही बुद्धिमान, विद्वान, शिक्षित वा धार्मिक वर्गका मानिसले सो कार्य अनुचित छ भन्ने ठहर गर्न सक्दछन् ।

आजको स्थिति हेर्दा हाम्रा महापुरुषले चलाइआएको शिष्ट पर्वलाई असभ्यतामा बदलिँदै गएको छ र यस सन्दर्भमा हाम्रो संस्कार, संस्कृति मेटिँदै कुसंस्कार, असभ्यता, विकृतिले ठाउँ लिँदैआएको छ भन्दा पनि फरक नपर्ला ।

नेपाल जस्तो महा तपोभूमि, महान ऋषीमुनिको स्थल प्रदुषित र संस्कार मलिन हुँदै गएको छ । होलीले यस्तो कार्य गर्नु भनेको हाम्रो संस्कार, संस्कृति, महापुरुष माथि प्रश्नचिन्ह खडा गर्नु हो । हामीले सो विकृति सुधार गर्ने अत्यन्त आवश्यक छ ।

हामी “मनुर्भव जनया दैव्यं जनम्”(ऋगवेद १०–५३–६) को भाव आन्तरीकरण गर्नुका साथै पैराणिक कथामा प्रह्लाद र होलीका सम्बन्धीभनिआएको कथावाट पनि सतमार्ग, सत्याग्रहतिर हिड्नु पर्छ प्रेणा समेत ग्रहण गर्न जरुरी छ । हामीले यस विषय सम्बन्धी विचार गर्नुपर्ने समय आएको र अगामी दिनमा बढ्ने विकरालको पूर्वआँकलन गरी समयमा रोकथाम गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया