रंगहरूको पवित्रता (सम्पादकीय)

सम्पादकीय

    प्रकाशित मिति : २०७५ चैत ८ गते शुक्रबार   

विगत वर्षझैं यसवर्षको रंगहरूको पर्व होली पहाड र मधेशमा दुई दिन मनाइएको छ । होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाइने गरिन्छ ।

होली हामी नेपालीको उत्सव हो तर होलीको नाममा पनि हिमाल, पहाड, तराईमा विभाजन गरिएको छ, छुट्टाछुट्टै दिन मनाउने भनेर । यसले गर्दा एउटै देशमा रहेका नेपालीहरूमा टाढा रहेको अनुभूति दिलाउँछ । भनाई नै छ नि ‘हिमाल पहाड तराई कोही छैन पराई’ । यसलाई बरू एकैदिन बनाउन आवश्यक देखिन्छ । तराईमा उल्लास हुँदा होलीको पहाडमा पनि खुशीयाली छाएको हुनुपर्छ, अनि हिमाल पनि ।

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रंगहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक अर्कालाई रंगीन बनाउँछन् ।

भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एकअर्कासत मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रंगमा रंगीएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रंग र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगीन पर्वको रूपमा लिइन्छ ।

फागुलाई मदनोत्सव पनि भनिन्छ । यहाँ मदनको अर्थ हो प्रणय, प्रेम र शृंगार ! हाँस र हँसाउ, जसले रंग लाइदिन्छ उसलाई रंग लाइदेउ, क्षमा गर, सहनशील बन यसको मुख्य संदेश हो । फाल्गुण पूर्णिमा चन्द्रमाको जन्म दिन हो । नेपालमा फागू पूर्णिमालाई चीर पर्व पनि भन्ने गरिन्छ । फागु पूर्णिमा सद्भावको प्रतीक हो । पूर्वा फाल्गुणी नक्षत्र पूर्णिमाको दिन रहन पुग्दा यो महिनालाई फाल्गुन भनिएको हो ।

चाड पर्व मनाउनुको पछाडी केही नैसर्गिक, सामाजिक, ऐतिहासिक एवं आध्यात्मिक कारण रहन्छन । यी चाड मनाउनुको पछाडि चाड मनाउने व्यक्तिले उसको सामाजिक जीवनमा लाभ पाओ्स भन्ने अभिप्राय लुकेको हुन्छ । फेरी चाड पर्व मनाइदा नै समाजको आध्यात्मिक उन्नति सम्भव हुन्छ । त्यसकारण चाड पर्वको शास्त्राधार के हो थाहा पाउनु जरूरी हुन्छ ।

होली संक्रान्ति सरह कि देवी हुन् । मानव शरीरको षड्विकारहरू माथि विजय प्राप्त गर्ने क्षमता होलीका देवीमा रहेको मानिन्छ । त्यसैले मानव विकार माथि विजय प्राप्त गर्न होलिका देवीसंँग प्रार्थना गरिन्छ । अग्निप्रति कृतज्ञता व्यक्त गर्नु यसको दोश्रो अंग हो । होली अग्निदेवताको उपासनाको एक अंग हो । अग्निदेवताको उपासना गर्दा व्यक्ति विशेषको तेजतत्व बढ्न पुग्छ र उसको रजो र तमो गुण घट्दछ । त्यसकारण होलीका दहन रात्रीकालमा गरिएको हो ।

पृथ्वी, पानी, तेज, वायु र आकाश यी पांँच तत्वहरूको सहायताले देव तत्वलाई पृथ्वीमा ल्याउने माध्यम यज्ञ हो । पृथ्वीमा स्पन्दन नहुँदा त्रेतायुगमा पञ्च तत्वमा विष्णुतत्व प्रकट हुन् पुग्यो । यज्ञको ज्वालासँंगै यज्ञकुंडमा विष्णुतत्व प्रकट भएको दिन फाल्गुन पूर्णिमाको दिन थियो । दुष्प्रवृत्ति एवं अमंगल विचार नाश गरी, सद्प्रवृत्तिका मार्ग देखाउने, ईश्वरीय चैतन्य प्राप्त गर्ने आध्यात्मिक साधनामा अग्रसर हुने, अग्निदेउता प्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो फागु ।

तपाईको प्रतिक्रिया