डा.सीके राउतको मौनता ठूलो रहस्य हो : डा.विजयप्रसाद मिश्र

मधेश मामिलाका जानकार

अन्तर्वार्ता

    प्रकाशित मिति : २०७५ चैत ८ गते शुक्रबार   

० पृथकतावादी धारबाट मूलधारको राजनीतिमा डा.सीके राउतको आगमनले मधेश राजनीतिले कस्तो मोड लिएको छ ?

— मधेशका धेरै युवाहरू डा.सीके राउतप्रति आकर्षित थिए । उहाँ खुला राजनीतिमा आइ पार्टी दर्ता गर्ने निर्णय गरेकोले यसले पक्कै पनि मधेशमा एउटा आशा पलाएको देखिन्छ । संविधानसभाको निर्वाचनमा मधेशकेन्द्रित दलहरूले राम्रो मत ल्याएका थिए तर दोस्रो संविधानसभासम्म आइपुग्दा पार्टीहरू टुटफुटका कारण संख्या कम हुन पुगेको थियो । तर अहिले आएर कार्यगत एकता गर्न थालेपछि प्रदेश २ मा मधेशकेन्द्रित दलको सरकार बन्यो । त्यसैले, डा.सीके राउतको पार्टीले मधेशकेन्द्रित दलहरूसँग कार्यगत एकता ग¥यो भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीलाई अप्ठ्यारो पार्न सक्छ । तर, मिलेर गएन वा कार्यगत एकता गरेन भने कुनै उपलब्धि हासिल गर्न सक्दैन ।

० डा.सीके राउतको पार्टीले मधेशकेन्द्रित दलहरूसँग कार्यगत एकता गर्नुपर्ने हो ?

— हो, निश्चितरूपमा कार्यगत एकता आवश्यक छ । मधेशमा संगठनको होडबाजी चल्छ । मधेशी दलहरू मधेशबाट जसरी जितेर आइसकेका छन् त्यति पकड त अहिले डा.सीके राउतसँग छैन । यो उहाँको यो पहिलो स्टेज हो । पहिला डा.राउतप्रति जुन किसिमको आकर्षण देखिएको थियो त्यसमा अहिले ह्रास आएको छ । राजविराजमा उहाँको जुन रैली भएको थियो त्यसमा जनताको खासै उपस्थिति थिएन । त्यसैले, अहिले पनि उहाँले चाहेको जस्तो सजिलैसँग संगठन बनाउन सक्नुहुन्न । जनता जहिले पनि परिवर्तनशील हुन्छ । उहाँको संगठनमा जनतालाई आफ्नो तर्फ आकर्षित गर्नसक्ने क्याडरको कमी छ ।

० मधेशमा राजपा र फोरमको विकल्पमा डा.सीके राउत आउन सक्छन् ?

— राजपा र फोरमको विकल्पमा पहिला देखिएको थियो । तर, डा.सीके राउत जेलमा ५÷६ महिना बस्दा राम मनोहरको मृत्यु भइसकेपछि उहाँ धेरै त्रसित हुनुभयो । यति दिन मात्रै जेल बस्दा कसरी बार्गेनिङ्ग गरेर छुट्छु भन्ने देखियो । यो एउटा राजनेताको लक्षण होइन । हुन त उहाँ विदेशमा एउटा अध्ययन गरेका, वैज्ञानिक मान्छे र सम्पन्न परिवारका हुनुहुन्छ । त्यसैले उहाँ जेलमा पाँच महिना बस्दा आतिनु भयो । यसरी आतिँदा त त्यसको मूल्यांकन जनताले गर्छन् । यो कुरा अब गाउँ–घरको चिया पसलमा उठ्छ कि पाँचै महिना जेल बसाइले कसरी यी नेता आतिए । किनभने नेपालमा धेरै नेताहरू वर्षौंवर्ष जेल बसेर अहिलेको अवस्थामा आएका छन् । राजनीतिक सहमति घोषणा कार्यक्रममा डा.राउतले आफ्नो पाँच महिना जेल बसाइको जुन कहानी सुनाउनुभयो त्यसले उहाँको सातो लिएको जस्तो छ ।

० डा.राउतलाई राजनीतिमा स्थापित हुन कतिको चुनौती देख्नुहुन्छ ?

— डा.सीके राउतले महात्मा गान्धी, बुद्ध र नेल्सन मण्डेलाको सिद्धान्त मान्छु भन्नुहुन्छ । तर, दक्षिण एसियाको निर्वाचन प्रणाली के छ भने पैसा खर्च नगरिकन चुनाव जितिँदैन । जनताले के स्वाद पाइसकेका छन् भने जो नेता पनि पैसा लिएर चुनाव लड्न आउँछन् । त्यसैले लोकतन्त्रमा पैसाको खोलो बग्ने हुन्छ, त्यसले गर्दा जसले पैसाको खोलो बगाएर चुनाव जित्छ उसले पैसा असूल गर्नका लागि कमिसन खाने, भ्रष्टाचार गर्छन् । निर्वाचन जितेर गइसकेका प्रतिनिधिहरू कुनै पदमा पुग्दा उनी कानून बनाउनका लागि आएको सोच्दैनन् । उनले खर्च गरेको पैसा कसरी असूल गर्ने भन्ने सोच राख्दछन् । जनताले भोट दिएर जिताइसकेपछि उनीहरूले कमिसन र भ्रष्टाचार गर्ने लाइसेन्स प्राप्त गर्छन् । यो छुट जबसम्म नेपाली नेताहरूले पाइरहन्छन् तबसम्म सीके राउतको सिद्धान्त, भिजन काम लाग्दैन । किनभने नेताहरूले अनेक टिकडम् गरेर सफल हुन दिँदैनन् । उहाँ पक्कै पनि कमिशन खाने अथवा भ्रष्टाचार गर्ने सोच राखेर आउनुभएको छैन । त्यत्रो पैसाको तलब छोडेर मधेशी जनताको हक अधिकार तथा आत्मसम्मानका लागि जसरी राजनीतिमा होमिनु भएको छ । अरू नेताहरू अर्थ राजनीति गर्छन्, पैसाका लागि राजनीति गर्छन् भने उहाँले त्यस्तो गर्नुहुन्न जस्तो लाग्छ । पैसाका लागि राजनीति गर्नेहरूको टिकडम्बाट उहाँ बच्न सक्नुहुन्छ कि हुन्न त्यसमा शंका लागिरहेको छ ।

० प्रधानमन्त्रीले डा.सीके राउतसँग मात्रै सम्झौता गरेर नेपालमा पृथकतावादी आन्दोलनहरू समाप्त हुन्छ त ?

— प्रधानमन्त्रीले आफ्नै पहलमा सम्झौता गरेर डा.सीके राउतलाई मूलधारमा ल्याउनुभयो भन्नेमा म विश्वास गर्दिँन । किनभने प्रधानमन्त्री र गृहमन्त्रीलगायतका नेताहरूले यति आक्रोशित भएर सीके राउत अथवा मधेशको बारेमा कुरा गर्नुहुन्थ्यो । त्यसैले उहाँले एक्लैले चाहेर सीके राउतसँग सम्झौता गरेको होइन । यहाँ भित्र कसैको प्रयास हुनुपर्छ जसले गर्दा प्रधानमन्त्रीलाई पनि बाध्य बनाइएको हो । राम मनोहरको घटनापछि नेपालको कम्युनिष्ट सरकार जो दुई तिहाइको छ, यसले जे पनि गर्छ कि भन्ने चिन्ता उनको परिवार पनि थियो । उहाँका परिवारलाई मात्रै होइन, देश विदेशमा रहेका शुभ चिन्तकहरू र विदेशी शक्तिहरूलाई पनि चिन्ता हुन थालेको थियो । यी सबै कुराहरू परिबन्ध मिलेर बल्ल यो ११ सहमति हुन गएको हो ।

० भनेपछि अब सीके राउत विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा आएकै हुन् ?

— विखण्डनको मुद्दा छोडेर मूलधारको राजनीतिमा आएको कुरा कागजमा लेखेको एकातिर छ भने सीके राउतको बडि ल्याङ्वेज अर्कै छ । मौनतामा धेरै ठूलो रहस्य हुन्छ । सीके राउतले पहिलोचोटि बोल्दा जनमत संग्रहको कुरा गर्नुभयो । तर, त्यसमा विवाद आइसकेपछि उहाँ जनकपुर जाँदा पनि केही बोल्नुभएन । त्यसपछि पनि कुनै सार्वजनिक ठाउँमा कुनै अभिव्यक्ति दिनुभएको छैन । यसबाट के बुझिन्छ भने सीके राउतले ११ बुँदे सहमतिलाई पनि दखल नहुने गरी एउटा यस्तो बीचको बाटो निकालौं, जसले जनमत संग्रहको जुन अभियान छ त्यसलाई कार्यान्वयन कसरी गर्ने भन्नेमा लाग्नुभएको छ । जब जनलहर आफ्नो पक्षमा आउन थालेपछि उहाँले आफ्नो मुद्दालाई फेरि उठाउनुहुन्छ । त्यसैले उहाँले जनमत संग्रहको मुद्दा छोड्नुभएको छैन, स्थगित गर्नुभएको मात्रै हो । पछि फेरि एक दिन यो कुरा उहाँले उठाउनुहुन्छ । किनभने उहाँको मनभित्र त्यो कुरा बसिसकेको छ । अहिले हाम्रो अनुकूल परिस्थिति छैन, पहिलो बाँच बाबु त्यसपछि आफ्ना मागहरू राख्न सकिन्छ भन्ने कुरा आफ्ना कार्यकर्ताहरूलाई बुझाउन थालेका छन् । जनमत पार्टी गठन गरेर भविष्यमा निर्वाचनमा गएर मधेश छुट्टै राष्ट्र बनाउने आधार हो । जग बनाउनका लागि यस्तो गर्नुपर्छ । उहाँको दूरदर्शी सोच हो । उहाँले भिजन छोड्नुभएको छैन तर उहाँले अलिकति रणनीति मात्रै परिवर्तन गर्नुभएको हो ।

० भनेपछि उहाँको अहिलेको मौनता रणनीतिक नै हो ?

— उहाँले रणनीति बनाउँदै हुनुहुन्छ कि कसरी जनमत संग्रहको मुद्दालाई उठाउन सकिन्छ । उहाँको जनमत संग्रहको भिजन छँदैछ तर बाटो मात्रै परिवर्तन गर्नुभएको हो । उहाँले पहिला जसरी सिधै भन्नुहुन्थ्यो कि मधेश स्वतन्त्र हुनुपर्छ, त्यसको तरिका परितर्वन गर्नुभएको छ । उहाँ अदालत वा सरकारको अवरोध नहोस् भन्ने मनसाय राजनीतिक दाउपेचमा लाग्नुभएको छ । त्यसैले उहाँ मौन बस्नुभएको छ । जसरी जयकृष्ण गोइतले विखण्डनको कुरा गर्नुभएको छ । जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा खोल्दा पहिलो विज्ञप्ति जारी गर्दा त्यसमा छुट्टै मधेश भनेर लेख्नुभएको छ । त्यो विज्ञप्ति अहिले पनि मसँग सुरक्षित छ । त्यो विज्ञप्तिमा आत्मनिर्णयसहितको संघीय राज्य हुनुपर्छ लेखिएको छ । यदि त्यो संघीय राज्यका जनताले चाहना गरेमा पछि छुट्टिने अधिकार पनि हुनुपर्छ भन्ने तर्क हो । सुरूमै जनमत संग्रह गरेर छुटाउनुपर्छ भन्ने कुरा होइन । यो कुरा त मधेशका धेरै नेताहरू उठाएको थिए । मधेशका मात्रै हैन, लिम्बून, खुम्बुवानले पनि यो कुरा उठाएका थिए ।

तत्कालीन अवस्थामा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा हृदयेश त्रिपाठी पनि मन्त्री हुनुहुन्थ्यो । गोइतसँग वार्ता गर्न त्रिपाठीलाई पठाउनु भएको थियो । त्रिपाठीले गोइत वार्तामा आउन खोजेको कुरा प्रधानमन्त्रीलाई सुनाउनुभयो । प्रधानमन्त्रीले गृहमन्त्रीसँग सरसल्लाह गर्न भन्नुभयो । गृहमन्त्रीले माओवादीहरूसँग सोध्नुभयो पछि केही कारणले वार्ता हुनसकेन । पछि फेरि त्रिपाठीले गृहमन्त्रीसँग सोध्दा उनले माओवादीहरूले गोइत हाम्रो पार्टीबाट गएकोले पहिले हामी वार्ता गर्छौं त्यसपछि सरकारले वार्ता गरोस् भने । त्यसपछि त्रिपाठी निराश हुनुभयो । त्यतिबेला पनि त्रिपाठी सरकारमा पुग्नुभयो तर उहाँसँग पावर पुगेन । मधेशी नेताहरू सरकारमा धेरै पटक पुगे तर जब सत्ताको कुरा आउँछ त्यतिबेला बेबकुफ मात्र बन्छ । त्यतिबेला वार्ता हुँदैन भन्ने कुरा थाहा पाइसकेपछि गोइतले मधेश छुट्टै राज्य चाहिन्छ भनेर विज्ञप्तिहरू निकाल्न थाल्नुभयो ।

० भनेपछि सीके राउतको सिद्धान्त परिवर्तन हुनसक्दैन ?

— सरकारले यदि सीके राउतप्रति राम्रो व्यवहार गर्न थाल्यो भने उसको सिद्धान्त परिवर्तन हुनसक्छ । त्यसैगरी, जयकृष्ण गोइतसँग पनि राम्रो व्यवहार गरिएको भए उनले छुट्टै मधेश माग्ने थिएनन् । अहिले पनि अवसर छ, उनीहरूसँग सकारात्मक व्यवहार ग¥यो भने, मधेशको आत्मसम्मानलाई सम्बोधन गर्ने गरी यो सरकारले गतिविधि गर्छ भने उनीहरूले छुट्टै राज्यको अभियान छोड्न सक्छन् । तर, प्रधानमन्त्रीले जहिले पनि मधेशीप्रति व्यंग गरेर मधेशीको आत्मसम्मानलाई ठेस लाग्ने गरी अभिव्यक्तिहरू दिनुहुन्छ । मैले केपी ओलीको धेरै भाषणहरू सुनेको छु तर पहिलोपटक उहाँले राजनीतिक सहमति घोषणा कार्यक्रममा मधेशको प्रशंसा गरेर बोल्नुभएको हो । अब त उहाँ सकारात्मक हुनुभयो कि भन्ने लागेको छ । तर, यो नियमित हुन्छ कि हुँदैन भन्ने कुरा समयले बताउँछ ।

० सीके राउतले आफ्नो बाटो मात्रै परिवर्तन गर्नुभएको हो, उहाँको लक्ष्य त्यही नै हो त ?

— उहाँको दूरदृष्टि र भिजन भनेको मधेशलाई छुट्टै देश बनाउने नै हो । त्यो कुरा अब कागजमा नभए पनि मनमष्तिस्कमा छ । उहाँको बडी ल्याङ्ग्वेज पनि देखाइरहेको छ । उहाँले एकदम ठूलो विजय हासिल गरेको जस्तो गर्नुभयो । म सीके राउतलाई के सन्देश दिन चाहन्छु भने उहाँले आफूलाई बुद्धको सन्तान भन्नुहुन्छ । तर, बुद्धको सन्तानले बायस्ट भएर नकारात्मक कुराहरू गर्दा कुन अवस्था भोग्नुपर्छ त्यो बुझ्नुपर्छ । बुद्धको सन्तान पनि भन्ने र कसैप्रति बायस्ट पनि हुने होइन । त्यसैले उहाँले सबैप्रति सकारात्मक दृष्टिकोण राखेर हिंड्नुभयो भने पहाडी जनताले पनि उहाँलाई समर्थन गर्न सक्छन् । किनभने उहाँ एउटा बौद्धिक व्यक्ति हो, नेपालको आवश्यक छ भन्ने कुरा प्रधानमन्त्री केपी ओलीले पनि भनिसक्नुभएको छ । त्यसैले यत्रो ठूलो अवसरलाई कसरी प्रयोग गर्नुहुन्छ त्यो उहाँमा भर पर्छ । मौन बसेर मात्रै हुँदैन । यसका विभिन्न तर्कहरू हुन सक्छ । उहाँले धेरै दिन मौन बस्नुहुँदैन ।

० संविधान संशोधनको माग जसरी मधेशकेन्द्रित दलहरूले उठाउँदै आएका थिए, त्यसलाई ओझेलमा पार्न सीके राउतलाई मूलधारमा ल्याइएको हो कि ?

— यो सरकारले संविधान संशोधन गर्छ भन्ने कुरामा विश्वास गर्नु नै गलत हो । संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ । अहिलेको अवस्थामा मधेशकेन्द्रित दलहरूले कम्युनिष्ट पार्टीको विरोध गरेर दुई तिहाइ पु¥याउन सक्दैनन् । त्यसैले यो पाँच वर्षभित्रै संविधान संशोधन गर्ने हो भने कम्युनिष्ट पार्टीसँग मिलेर जानुपर्छ । तर, उनीहरूले संविधानमा संशोधन गर्ने छाँटकाँट देखिएन । पाँच वर्षमा संविधान संशोधन भएन भने के भयो ? के नेपाल पाँच÷दश वर्षका लागि हो ? त्यसैले, मधेशकेन्द्रित शक्तिहरू एक आपसमा कार्यगत एकता गरेर संविधानमा के संशोधन गर्नुपर्छ भनेर आपसी सहमति गर्नुपर्छ । त्यो विषयमा पहाडका उत्पीडित जनताहरूको पनि मन जितेर यसलाई अभियानको रूपमा अगाडि बढाउनुपर्छ । जसले गर्दा आगामी पाँच पछिको निर्वाचनमा संविधान संशोधन गर्न चाहने व्यक्तिहरूको दुई तिहाइ हुन सक्ने सम्भावना हुनसक्छ । यहाँ खाली संशोधन–संशोधन भनेर भन्छन् तर नागरिकहरूलाई कहाँ–कहाँ संशोधन गर्ने भन्ने कुरा थाहै छैन । नेताहरूले यो कुरा जनतालाई कसरी बुझाउने भन्नेतिर ध्यानै गएको छैन । सरकारले उनीहरूको मागै प्रष्ट छैन भनेर भन्छ । त्यसैले वैज्ञानिक तरिकाले मधेशी समुदायलाई मात्रै होइन पहाडे समुदायलाई पनि अवगत गराएर उनीहरूका् पनि मन जित्ने प्रयासमा मधेशकेन्द्रित दलहरू लाग्नुप¥यो ।

० भनेपछि यो सरकारले संशोधन गर्दैन ?

— संशोधन गर्छ तर भनेकै सबै कुरा एकैचोटि हुँदैन । किस्ताबन्दीमा संशोधन गराउनुपर्छ । योभन्दा पहिलाको सरकारले पनि त केही बुँदा संशोधन गरेका छन् नि त । अहिले मधेशकेन्द्रित दलले केपी ओलीको बडी ल्याङ्ग्वेज बुझ्नुप¥यो, उसको आत्मा छाम्नुप¥यो । जुन–जुन कुरा उसले परिवर्तन गर्न चाहन्छन् किस्ताबन्दीमा त्यति मात्रै लिएर अघि बढ्नुप¥यो । अर्को पाँच वर्षमा बहुमत ल्याउँछौं र गछौं भनेर अगाडि बढ्नुपर्छ । अहिलेको सरकारले संशोधन गर्न सक्ने सम्भावित के–के बुँदा हुनसक्छ, त्यसमा मधेशी दलहरूबीच बहस हुनुप¥यो र त्यो मात्रै माग लिएर गयो भने अरू माग पछि पनि गराउन सकिन्छ भन्ने कुरा जनतालाई बुझाउन सक्नुपर्छ । तर, जनताको बीचमा गएर नकारात्मक कुरा मात्रै गरेर भड्काउन खोजिएको छ । त्यसले विकास र समृद्धि सम्भव हुँदैन ।

० नेपालको राजनीति अहिले मधेशकेन्द्रित हुँदै गइरहेको देखिन्छ । के छ रहस्य ?

— मधेश नेपालको अन्न भण्डार हो । मधेशबिनाको नेपालको पहिचान एकदम साँधुरो भएर जान्छ । मधेशको संस्कृति पुरानो हो र नेपालमा मधेशीको जनसंख्या सबभन्दा बढी छ । त्यसले गर्दा मधेशबिना नेपालको राजनीति अब अलिकति पनि यताउता हुँदैन । मधेश यो देशको अति नै महत्वपूर्ण भएको कुरा पहाडे शासक नेताहरूको मनमष्तिस्कमा बसिसकेकोले मधेशमा आफ्ना गतिविधि बढाउन बाध्य भएका छन् । नेपालका पार्टीहरू मात्रै होइन विदेशी शक्तिहरू पनि मधेशको राजनीति बुझ्नका लागि धेरै लगानी गरिरहेका छन् । अहिले मधेशमा धेरै विदेशी शक्तिहरू पनि प्रवेश गरिसकेका छन् । त्यसैले, मधेशकेन्द्रित दलहरूको सम्बन्ध विदेशी शक्तिसँग पनि बढेर गएको छ । त्यसले गर्दा नै सरकारलाई मधेशको पक्षमा काम गर्न बाध्य बनाउँदै आएको छ ।

० भनेपछि राजनीतिक दलहरूले राजनीतिक स्वार्थका लागि मात्रै मधेशलाई प्रयोग गर्न चाहेका छन् ?

— हो । मधेश एउटा बहुप्रतिभा भएको भूमि हो । त्यसैले राजनीतिक दलहरूले राजनीतिक स्वार्थ पूर्तिका लागि मात्रै प्रयोग गर्दै आएका छन् । मधेश स्वर्गभूमि हो तर, यहाँ राजनीतिक मुद्दा मात्रै उठाइदिएर नर्क बनाउन खोजिँदैछ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया