न्यायालयको सुदृढीकरण र शुद्धीकरणमा हाम्रो भूमिका अपरिहार्य छ : अधिवक्ता वीरेन्द्र कुमार ठाकुर

नेपाल बार एसोसिएनको केन्द्रीय सदस्यका उम्मेदवार, प्रगतिशील पेशाकर्मी समावेशी समूह

अन्तर्वार्ता

       

० नेपाल बार एसोसिएसन निर्वाचनमा तपाइँहरुको तयारी कस्तो हुँदैछ ?

— यो निर्वाचनलाई हामीले एउटा अभियानको रुपमा लिएका छौं । मेचीदेखि महाकालीसम्म हरेक उच्च अदालत बार र जिल्ला अदालत बारमा कार्यक्रम सम्पन्न गरेका छौं । यो निर्वाचनमा निर्वाचित भएकाहरुले तीन वर्षसम्म बारलाई डो¥याउनेछ र न्यायालयलाई कोर्ट अफिसरका रुपमा कानून व्यवसायीको भूमिकालाई सशक्तरुपमा राख्ने एउटा छाता संगठन हो । त्यसको कार्यभार हामी लिन गइरहेका छौं । सम्पूर्ण कानून व्यवसायीहरुले एकदम उत्साहका साथ हामीप्रति सहभागिता देखाएका छन् ।

० तपाइँहरुको मूल एजेन्डा के–के छन् त ?

— संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, स्वतन्त्र, निष्पक्ष न्यायपालिका, विधिको शासनका लागि व्यावसायिक बारको आवश्क्ता छ । सेवामुखी बारको आवश्यक्ता छ । यो नै हाम्रो मूलमन्त्र हो । त्यसैलाई हामीले लक्ष्य बनाएर हिंडेका छौं ।

० यो बार एसोसिएसन राजनीतिक प्रभावबाट कतिको टाढा छ ?

— नेपालमा दलगत व्यवस्था छ । सबै कानून व्यवसायी कुनै न कुनै राजनीतिक दलप्रति आस्था होला । तर, न्यायालयको मन्दिर बारभित्र प्रवेश गरिसकेपछि दलगत आस्थालाई ढोकामै फुकालेर एउटा कानून व्यवसायी भएर व्यावसायिक निष्ठामा रहेर काम गर्नुपर्छ । आस्था सबैको आआफ्नो ठाउँमा छ तर न्यायालयको शुद्धीकरणका लागि, व्यावसायीकरणका लागि, सेवामुखी बनाउनका लागि दलीयरुपमा हाम्रो कुनै भूमिका रहने छैन । त्यो म प्रतिबद्धता प्रकट गर्न चाहन्छु । त्यसमा रत्तिभर पनि हामी विचलित हुँदैनौं ।

० अहिलेसम्म बार किन राजनीतिक प्रभावबाट बाहिर आउन सकेन ?

— संक्रमणकालमा केही विचलन त आएको हो नै । तर बारको इतिहास हेर्ने हो भने हरेक अवस्था र व्यवस्था महत्वपूर्ण भूमिका निर्वाह गरेको हो । विगतमा भएका कमी कमजोरीलाई सच्याउने मौका हो । हाम्रो समूहका सबै निर्वाचित भएर बारमा गयौं भने हामीले पक्ष वा प्रतिपक्ष भएर होइन, विशुद्ध एउटा पेशाकर्मीको रुपमा हाम्रो उपस्थिति रहनेछ । कुनै दलमा मेरो आस्था होला तर बारभित्र त्यो आस्थाको प्रतिविम्ब झल्किँदैन ।

० तर, कार्यपालिकाले बेलाबखतमा न्यायपालिकामाथि हस्तक्षेप गर्दै आएको गुनासोहरु छन् नि ?

— हामी धेरै ठूलठूला संघर्षहरु पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौं । अब यो नयाँ युगमा नयाँ किसिमबाट केही गरौं न त भन्ने जुन जनअभिलाषा छ, त्यसमा हामी खरो ओर्लिनुपर्छ । नेपाल बार भनेको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाको बीचमा एउटा पुलको रुपमा यसलाई निष्पक्ष, स्वतन्त्र, जनमुखी बनाउने दिन आइसकेको छ । अहिले देश एकढिक्का भएको छ । त्यसैले अहिलेको युगमा यथास्थितिको विचलनलाई हटाएर जानुपर्छ । न्यायालयमाथि कुनै प्रकारको हस्तक्षेप हुन दिँदैनौं । हामीले स्वतन्त्र न्यायपालिकाको गरिमालाई बढाउनुपर्छ ।

० यदि तपाइँहरु नेतृत्वमा पुग्नुभयो भने न्यायपालिकामाथि कुनै किसिमको हस्तक्षेप हुँदैन ?

— हामीले हाम्रो ठाउँबाट खबरदारी गर्ने हो । नेपाल बारको २०१३ साल पुस ७ गते स्थापनाकर्ता हुनुहुन्छ देवनाथ वर्मा । म त्यहीं देवनाथ वर्माको भूमिबाट मधेशको प्रतिनिधित्व गर्छु । उहाँको जुन सपना थियो, त्यसमा आजको दिनसम्म पनि बार खरोरुपमा उभिएको छ । केही त्रुटिहरु भएका छन्, ती त्रुटिहरु आगामी दिनमा दोहोरिन दिनु हुँदैन भन्ने मान्यतामा हामी छौं ।

० नेपाल बार एसोसिएसन गठनको मूल उद्देश्य के थियो ?

— यसको मूल उद्देश्य नै सामाजिक न्याय कायम गर्न एउटा व्यावसायिक कानून व्यवसायीहरुको संगठन हो । अन्यायमा परेका मान्छेलाई न्याय दिलाउनु र विधिको शासनको पक्षमा एकढिक्का भएर समाजलाई डो¥याउने एउटा संस्था हो नेपाल बार । निष्पक्ष न्याय र स्वतन्त्र न्यायपालिकालाई सहयोगीको भूमिका खेल्ने नै यसको मूलभूत उद्देश्य हो । समाज परिवर्तनमा एउटा पाटो कानूनी शिक्षा पनि हो । त्यो कानूनी शिक्षालाई विस्तार गर्ने, कानून व्यवसायीलाई एकढिक्का गर्ने, उनीहरुलाई व्यावसायिक बनाउने, मेलमिलाप गर्ने, मध्यस्तकर्ताको काम गर्ने त्यसका लागि यसको स्थापना भएको हो । यसलाई संविधानले चिनेको छ । यो संस्थाले त्यो भूमिका आजको दिनसम्म निर्वाह गरिआएको छ ।

० नेपाल बारमा निर्वाचित हुनुभयो भने के–के काममा जोड दिनुहुन्छ ?

— कानूनी शिक्षाका लागि एउटा अभियान चलाउनुपर्ने हुन्छ । त्यसका लागि प्रशिक्षण, तालिम, कार्यक्रम लगायतका कुराहरु गर्नुपर्छ । कानूनी शिक्षालाई विस्तार गरेर सामाजिक अन्याय र कुरितीहरुलाई अन्त्य गर्न सामाजिक अभियन्ताको रुपमा काम गर्छु । यसमा म प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

० न्यायालयप्रति जनआस्था घट्दै गएको भन्ने आभाष हुन्छ, तपाइँ के भन्नुहुन्छ ?

— केही हदसम्म यो सही पनि हो । तर, न्यायालयबाट जुन किसिमका फैसलाहरु हुने गरेको छ, त्यसलाई पुनरावलोकन हुने गरी कुनै काम हुने गरेको पाइएको छैन । त्यसका लागि एउटा प्राज्ञिक समिति बनाएर त्यस्ता त्रुटिहरुलाई उजागर गर्नुपर्छ । त्यसप्रति लक्षित भएर हामी काम गर्नेछौं । आगामी दिनमा त्यस्ता विचलनलाई व्यवस्थापन गर्छौं र न्यायालयको गरिमालाई कायम गर्न हामी काम गर्छौं । हामी बोलेर होइन, गरेर देखाउनुपर्छ । म जे बोल्छु, त्यो गर्छु भन्ने आत्मविश्वासका साथ म बारको सदस्यमा आउन चाहन्छु । न्यायालयप्रति जुन असन्तुष्टिहरु छन्, त्यसलाई चिर्ने प्रयास गर्छु ।

० लोकतन्त्रमा न्यायालयको भूमिका कस्तो हुनुपर्ने हो ?

— लोकतन्त्र भनेको अफ द पिपुल, बाइ द पिपुल र फोर द पिपुल हो । जनताबाट जनताको अपेक्षाअनुसार सबै चीज हुनुपर्छ भन्ने व्यवस्था नै लोकतन्त्र हो । सर्वजन हिताय, सर्वजन सुखायको मार्गमा लोकतन्त्र स्थापित भएको छ । यसलाई सुदृढ गर्नका लागि न्यायालयले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसबाट रत्तिभर पनि विचलित हुनुहुँदैन । नेपालको लोकतन्त्रलाई कतैबाट अलिकति पनि खतरा छैन । यसलाई व्यवस्थित गर्ने राज्यको अभिभारा हो । अहिले मुलुकमा तीन तहको सरकार छ, लोकतन्त्र अहिले घरघरमा पुगिसकेको छ । त्यसबाट रत्तिभर पनि विचलित हुनुपर्ने अवस्था छैन । न्यायालयले त्यसका लागि अग्रगामी भूमिका निर्वाह गर्छ भन्ने मैले विश्वास लिएको छु । हाम्रो चण्डेश्वर श्रेष्ठ समूहको उम्मेदवारहरुले त्यसलाई आत्मसात गरेका छौं । न्यायालयमा सुदृढीकरण र शुद्धीकरणका लागि हाम्रो भूमिका अपरिहार्य छ ।

० अन्त्यमा के भन्न चाहनुहुन्छ ?

— म न्यायकर्मीहरुको बीचमा सेवा व्यवसाय गर्ने एउटा अभियन्ताको रुपमा लिन अनुरोध गर्दछु । नेपाल बार एसोसिएसनको कार्यसमितिमा हाम्रो समूहलाई सर्वसहमति पठाउन आग्रह गर्दछु । यो देशको मुहार फेर्न न्यायालयको जुन भूमिका हुनुपर्छ त्यसमा हामी खरो उत्रिन्छौं भन्ने मेरो बचन हो । हामीबाट जे अपेक्षा राखिन्छ त्यो हामी पूरा गर्छौं ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया