कथबनियाँलाई अति पिछडावर्गमा सूचीकृत गर्नुपर्छ : रवीन्द्र कुमार चौधरी

केन्द्रीय उपाध्यक्ष नेपाल कथबनियाँ सेवा समाज

अन्तर्वार्ता

    २०७५ साल चैत २२ गते शुक्रबार ।   

० कथबनियाँलाई नेपालमा कसरी चिनिने गरिन्छ ? 

— कथबनियाँ भनेको एउटा व्यापारिक वर्गको रूपमा चिनिन्छ । हाम्रा पूर्वजको व्यापारिक पेसाअन्तर्गत पर्ने सिन्दूर बेच्ने, नापतौल गर्ने सामग्री लगायतका सामानहरू बेच्ने हाम्रो व्यापारिक पेसा हो । अहिले त हाम्रा समुदायका व्यक्तिहरू विभिन्न पेशामा आवद्ध छन् । नेपालको आठ जिल्लामा हाम्रो समुदायको विशेष बसोबास छ ।

० नेपाल कथबनियाँ सेवा समाज किन गठन गर्नुभयो ?

— हामीले हाम्रा समुदायका व्यक्तिहरूको हक अधिकार सुरक्षित गर्न र संविधानले दिएको अधिकारहरू बारे जगेर्ना गर्नका लागि यो संस्था गठन गरेका छौं । हामीले आफ्ना मागहरू संगठित रूपमा एकताबद्ध भई समाजको उत्थानका लागि यो एउटा प्रयास हो । हाम्रो जातीय अधिकार प्राप्ति नै हाम्रो मुख्य उद्देश्य हो । हाम्रा समाजमा रहेका अति पिछडिएकाहरूको जीवनशैली उकास्नका लागि यो समाजले सहयोगी भूमिका खेल्छ ।

० समाजको महाधिवेशन पनि हुँदैछ, तयारी कस्तो छ ?

— हाम्रो महाधिवेशन प्रदेश २ को अस्थायी राजधनी जनकपुरधामस्थित गोपाल धर्मशालामा आज (शुक्रबार)देखि हुँदैछ । यसका सम्पूर्ण तयारी पूरा भइसकेको छ । सबै जिल्लाबाट हाम्रा प्रतिनिधिहरू आइसकेका छन् । यो महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन हाम्रा सम्पूर्ण स्वजातीय बन्धुहरू लागिपरेका छन् । यो महाधिवेशन शनिबारसम्म चल्ने छ । महाधिवेशनको पहिलो दिन हामीले रैली र आमसभाको आयोजना गर्ने छौं । महाधिवेशनमा प्रमुख अतिथिको रूपमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालज्यू हुनुहुन्छ । यसैगरी, अतिथिहरूमा प्रदेश २ का प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, सांसदहरूलगायतका पनि निम्त्याएका छौं । एकदम उत्साहका साथ यो महाधिवेशन गर्न लागेका छौं ।

० यो महाधिवेशनको मूल एजेन्डा के हो ?

— कथबनियाँ समाजका व्यक्तिहरू आफ्नो जातीय हक अधिकारप्रति त्यति जागरूक थिएनन् । तर, अहिले महाधिवेशनले गर्दा जागरूक भइरहेका छन् । हामी यही महाधिवेशनको माध्यमबाट एक सूत्रमा एकतावद्ध भएर हामी अगाडि बढ्छौं । यो महाधिवेशनको मूल एजेन्डा भनेको हाम्रो जातिलाई सरकारले जातीय सूचीमा सूचिकृत गर्नुपर्छ । त्यसका लागि हाम्रा जातिका सबै जना हातमा हात मिलाएर एक साथ उभिन म आग्रह गर्दछु ।

० नेपालमा कथबनियाँको जनसंख्यामा कति छ ?

— नेपालको तथ्यांक विभागअनुसार हाम्रो जनसंख्या दुई लाख २५ हजार देखाएको छ । तर, त्यसमा केही पहाडका बानियाँ थर भएकाहरूलाई समावेश गरिदिएको छ । त्यसैले, कथबनियाँको जनसंख्या नेपालमा दुई लाखको हाराहारीमा होला ।

० कथबनियाँका थरहरू के–के छन् ?

— हाम्रा समुदायका मानिसहरूले कथबनियाँ, गुप्ता, श्रीवास्तव, दास लगायतका थरहरू लेखाउँछन् । खासगरी, हाम्रा समुदायका व्यक्तिहरूले व्यापार, व्यवसाय गर्ने गरेका छन् । तर, विभिन्न पेशामा छन् । त्यसैले, अहिले व्यापारिक वर्ग मात्रै भन्न मिलेन ।

० तपाइँहरूको मुख्य समस्या के हो ?

— हाम्रा समाजका व्यक्तिहरूले आआफ्नो जीविका चलाइरहेकै छन् । तर, विभिन्न समस्याहरू आइरहन्छन् । सरकार पक्षबाटै हाम्रो जातिको कहीं पनि सूचिकृत गरिएको छैन । हाम्रो जातिका बारेमा ठूलठूला राजनीतिक दलहरूलाई थाहा पनि छैन । त्यसैले, हाम्रो जातिको नेपालमा पहिचान नै नभएकोले हामीलाई अप्ठ्यारो भइरहेको छ । हामीलाई सूचीकृत गर्नका लागि बेलाबेलामा आवाज पनि उठायौं । २०६६/६७ सालमा हाम्रो जातिको सूचिकृतका लागि काठमाडौंमै रैलीको पनि आयोजना गरेका थियौं । सो रैलीमा हामीले विभिन्न जिल्लाबाट करिब १० हजारको संख्यामा उपस्थित भएका थियौं । तर, अहिलेसम्म पनि सरकारको तर्फबाट हाम्रो जातिलाई सूचिकृत गर्न पहल भएको छैन ।

० कथबनियाँलाई केमा सूचिकृत गराउन चाहनुहुन्छ ?

— हाम्रो जातिको बारेमा सरकारलाई कुनै पनि जानकारी नभएको, हाम्रो जातिका व्यक्तिहरूको राज्यको अंगहरूमा उपस्थिति नभएकोले हामीलाई अति पिछडावर्गमा सूचिकृत गर्नुपर्छ । सरकारलाई यो संस्थाको तर्फबाट अनुरोध गर्न चाहन्छु कि हामीलाई अति पिछडावर्गमा सूचिकृत गरोस् ।

० अहिलेसम्म तपाइँहरूको जातिको बारेमा सरकारलाई थाहा छैन भने कस्तो गल्ती हो ?

— यसमा हाम्रो पनि कमजोरी हो । हाम्रा जातिका अगुवाहरूले विगतमा सचेत नभएर जातिको बारेमा आवाज उठाउन सकेनन् । तर, अब हामी सचेत भइसकेका छौं । २०६६ सालदेखि हामीले आफ्नो जातीय पहिचान र सूचिकृतका लागि निरन्तर संघर्षरत् छौं । आसन्न हाम्रो यो महाधिवेशनाबाट हाम्रो जातिलाई अझ ऊर्जाशील बनाउँछ । हाम्रो समाजमा जागरूकता गराउनकै लागि हाम्रो यो महाधिवेशन हुन गइरहेको छ ।

तपाईको प्रतिक्रिया