“छोरी शिक्षा बीमा” कार्यक्रम आएको छैन : बालेश्वर मण्डल

नगरप्रमुख, धनुषाधाम नगरपालिका, धनुषा

स्थानीय सम्वाद्

    २०७५ साल चैत २२ गते शुक्रबार ।   

मिथिलाको पवित्र भूमि, माता जानकीजीको वैवाहिक कार्यक्रमको बखत श्री रामले उचालेको शिवको धनुष खण्डित भई तीन टुक्रा हुन पुग्दा त्यस मध्येको एक टुक्रा खसेको प्रसिद्ध भूमिको रूपमा परिचित, धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल हो धनुषाधाम । धनुषाधाम नगरपालिका जनकपुर अञ्चलको धनुषा जिल्लामा पर्दछ । यस नगरपालिकाको स्थापना साविकका गारू.वि.स हरू धनुषा गोविन्दपुर, धनुषाधाम, उमाप्रेमपुर र यज्ञभूमि गाभिएर २०७१ साल बैशाख २५ गते भएको हो । यस नगरपालिकामा जम्मा नौ वटा वडाहरू छन् ।

० धार्मिक र सांस्कृतिक रूपमा चर्चित धनुषाधाम नगरपालिकामा तपाई निर्वाचित भएर आएसँगै के–कस्ता कामहरू गर्नुभयो ?

— यो पुरानो नगरपालिका हो । धार्मिक, सांस्कृतिक र पौराणिक हिसाबले अति महत्वपूर्ण ठाउँ पनि हो । जनकपुरदेखि १६ किलोमिटर दुरीमा रहेको यो नगरपालिकामा नौं वटा वडाहरू रहेका छन् । म निर्वाचित भएर यहाँ आएपछि यो नौवटै वडालाई कसरी सुविधा सम्पन्न बनाउन सकिन्छ भनेर नयाँ भिजन लिएर अगाडि बढेको छु ।

० यो नगरपालिका पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ, पर्यटकलाई आकर्षित गर्न कस्ता योजना बनाउनुभएको छ ?

— धनुषाधाममा धनुष मन्दिर र सँगै जोडिएको धनुष पोखरी छ । र यस्तै बीच भागमा एउटा सानो जंगल रहेको छ । त्यो जंगल संरक्षित वन भनेर नेपाल सरकारबाट घोषित भएको छ । नगरपालिकाको स्रोत र साधनबाट सम्भव भएसम्म यी क्षेत्रको संरक्षण हामीले गरिरहेकै छौं । पर्यटन विभागबाट संघीय सरकारले पनि धनुषाधामलाई महत्वपूर्ण ठाउँ भनि छुट्याएको छ र यसको लागि बजेट पनि विनियोजन गरिएको छ । डिजाइन गरेर टेन्डरको आह्वान समेत गरिसकिएको छ । अब कार्यान्वयन हुने प्रक्रियामा छ । जस अन्तर्गत धनुषाधामको धनुष पोखरीलाई सौन्दर्यीकरण गर्ने मास्टर प्लान बनेको छ ।

० यो क्षेत्रको ऐतिहासिकतालाई कसरी वर्णन गर्नुहुन्छ ?

— रामचन्द्रजीको सीतासँग स्वयम्वर हुँदाखेरी धनुष भाँचिएर तीन टुक्रा भयो । तीन टुक्रा मध्ये एक टुक्रा आकाश एक टुक्रा पाताल र अर्को टुक्रा धनुषाधाममा आइपुग्यो भन्ने पौराणिक मान्यता रहेको छ । यहाँ लगभग १०० वर्ष पुरानो एउटा धर्मशाला बनेको छ जुन भारतको पटनाका एकजना व्यक्तिले बनाइदिएका हुन् । ६०÷६७ कोठे धर्मशाला छ । यसले के जागृत गर्छ भने यो धनुषाधामको १०० वर्ष पहिले नै त्यति धेरै महत्व थियो । त्यो हिसाबले यहाँ धर्मशाला बनेको हो र यसको महत्व विशेष गरेर भारतसँग जोडिएको हुनाले भारतबाट प्रत्येक दिन सयौंको संख्यामा भक्तजनहरू आउने गर्छन् । भारतका प्रधानमन्त्री र राष्ट्रपति जनकपुर आउँदा पनि धनुषाधामको धार्मिक मान्यताको वर्णन गर्नुभएको थियो । भारतीय प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको रामायण सर्किट अन्तर्गत धनुषाधाम पनि परेको छ र गाँसिएको छ ।

० यति महत्वपूर्ण क्षेत्र अहिलेसम्म किन ओझेलमा पर्दै आएको होला ?

— स्थानीय प्रतिनिधि नभएको अवस्थामा यो क्षेत्रलाई मात्र भनेर बजेट छुट्याउन सकिँदैन थियो । एकदम कम बजेट पर्दथ्यो । यो महत्वपूर्ण ठाउँ हो नेपाल सरकारले निर्माण गरिहाल्छ नि भन्ने दृष्टिकोणले हेर्ने गरिन्थ्यो, नेपाल सरकारबाट पनि खासै चासो पुग्न सकेन त्यसैले यो क्षेत्र विकसित हुन सकेन । यो क्षेत्र पछाडि पर्नुमा पर्यटन मन्त्रालय, पुरात्तात्विक विभाग, नेपाल सरकारकै कतै कमजोरी हो कि भन्ने मलाई लाग्छ ।

० त्यहाँ मूर्तीको रूपमा रहेको ढुंगा दिनहुँ बढ्दै गईरहेको छ भनिन्छ नि ? यो सत्य हो ?

— जहाँ रामचन्द्रजीको धनुषको टुक्रा आइपुगेको थियो भनिन्छ त्यहाँ एउटा पिपलको बोट छ त्यही पिपलको मुनी एउटा प्राकृतिक रूपमै अनौठो किसिमको ढुंगा छ र त्यो ढुंगा केही न केही शक्ति कै रूपमा रहेको छ । त्यो बिस्तारै बढ्दै गईरहेको देखिन्छ । त्यो अप्राकृतिक रूपमा बढेको देखिंदैन ।

० तपाईको कामबाट त्यहाँका जनता कत्तिको सन्तुष्ट छन् ?

— म निर्वाचित भईसकेपछि नगरपालिकाको नियम अनुसार एउटा कार्यपालिका छ । त्यसको एउटा सभा हुन्छ जुन स्थानीय संचालन ऐन अन्तर्गत नै रहेर सबै प्रक्रिया अगाडि बढ्ने हो । यहाँ विभिन्न दलबाट जितेर आएका जनप्रतिनिधिहरू छन् । हामी सबै मिलेर विकास गर्नुपर्छ यो नगरलाई समृद्ध बनाउनुपर्छ भनेर लागेका छौं र हामी सबैले मिलेर काम गरेर देखेर यहाँका नगरवासीहरू पनि खुसी छन् । एकैचोटि सबैथोक परिवर्तन हुने त होइन । जनप्रतिनिधिहरूले राम्रो काम गर्दैछन् विस्तारै परिवर्तन हुन्छ भन्ने सोचाई सबैमा रहेको छ । हाम्रो कामबाट जनता सन्तुष्ट छन् ।

० स्थानीय निर्वाचन पश्चात् सिंहदरबार गाउँ गाउँमा पुग्छ भनिन्थ्यो त्यहाँको नगरबासीले यो अनुभूति गर्न पाएका छन् ?

— म आफैं यसमा विश्वास गर्दिन । किनकी सिंहदरबार गाउँ गाउँमा पुग्यो भन्ने हल्ला मात्र भयो । नेपाल सरकारका उच्च ओहदामा बस्ने र निर्णय गर्ने माननीयज्यूहरूले नीति र नियम बनाउँदा संग्रम स्थितिलाई विचार गरेर नीति नियम बनाउने प्रयास गर्र्नुहोला । उहाँहरूले बनाएको नीति नियममा कतै न कतै कमजोरीहरू रहेका छन् कि भन्ने लागेको छ । मर्यादाक्रमको विषयमा भएको निर्णयमा पनि त्यस्तै देखिएको थियो । जिम्मेवारी दिने तर अधिकार नदिने परिपार्टीमा परिवर्तन जरूरी छ ।

० प्रदेशलाई भन्दा पनि स्थानीय तहलाई बढी अधिकार दिईएको छ भनिन्छ नि ?

— प्रदेश सरकारको समन्वय हामीसँग पनि भएन । प्रदेश सरकारको क्षेत्राअधिकार के हो त्यो बाहिरी रूपमा मात्र हामीलाई जानकारी भयो । नगरपालिका आफैंमा स्वायत्त छ भनिन्छ उसको निर्णय आफैं गर्ने क्षमता हुन्छ । नियम, कानुन, कार्यविधि, नियमावली बनाएर स्थापना भएको नगरपालिकालाई सबै अधिकार छ भनिन्छ । तर, हामीले निर्णय त गर्ने तर निर्णय लागू गर्ने त प्रमुख प्रशासकीय अधिकृतले हो । उहाँहरूले मनपरी रूपमा मन्त्रालयबाट पठाउने र यति छिटो सरूवा हुने कि हामीलाई थाहै हुन्न । यहाँ काम गर्न यत्ति गाह्रो भइरहेको छ जुन शब्दमा भनेर व्यक्त गर्न सकिंदैन । सरकारको स्पष्ट नीति नभएका कारण भित्रभित्रै विभिन्न झन्झटहरू रहेका छन् ।

० प्रदेश २ को सरकारले ‘छोरी शिक्षा बिमा’ भनेर जुन महत्वकांक्षी योजना ल्याएको छ त्यो योजना तपाईहरूको नगरपालिकामा कत्तिको लागू भएको छ ?

— प्रदेश सरकारले यो योजना प्रदेश २ भरी लागू भयो भनेको छ तर दुर्भाग्यवंश हामीलाई यो विषयमा कुनै जानकारी छैन । प्रदेश सरकारले कहाँ कहाँ यो योजना लागू गरेको भनेर अनौपचारिक रूपमा मैले पनि सुनेको हो तर मेरो नगरपालिकामा यो योजना आएको छैन ।

० केन्द्रीय सरकारबाट लागू भएको तराई–मधेश समृद्धि कार्यक्रमबाट तपाईको क्षेत्रमा कत्तिको योजना आएको छ ?
— यो कार्यक्रम अन्तर्गतको योजना हामीले पाएका छौं र त्यो योजनालाई हामीले प्रक्रियामा अगाडि बढाएका छौं । यो योजनाबाट हामी सन्तुष्ट छौं ।

 

तपाईको प्रतिक्रिया