कलामा नेपाल र भारत

कला/संस्कृति

       

काठमाडौं, २८ चैत । कला मार्फत नेपाल र भारतको सम्बन्धमा कलाकारहरुले प्रकाश पारिरहेका छन् । बौद्धस्थित तारागाउँ म्युजियममा जारी चित्रकला प्रदर्शनीले यति बेला नेपाल र भारतको सम्बन्ध प्रकाशलाई कलामार्फत देखाइरहेका छन् ।

एकातिर काँशी, अर्कोतिर लुम्बिनी, एउटै क्यानभासमा गान्धी र बुद्ध । अनि स्वयम्भू र ताजमहल । दुई देशको राष्ट्रिय प्रतीक स्वरुप झण्डाहरू पनि क्यानभासमा उत्तिकै हाबी छन ।

सुशीला आर्ट एकेडेमीले गरेको प्रदर्शनीमा राखिएका कलाकृतिहरू दुई देश जोड्ने कला सेतु बनेका छन । एउटै फ्रेममा एकातिर बनारस र अर्कोतिर लुम्बिनी प्रस्तुत गर्नु निकै अर्थपूर्ण देखिन्छ ।

यसले नेपालका हिन्दु धर्मावलम्बीहरूको बनारस कनेक्सन र भारतका बौद्ध धर्मावलम्बीहरूको लुम्बिनी कनेक्सन प्रस्तुत गरिएको छ । भारतको झण्डापट्टि गान्धी र नेपालको झण्डापट्टि बुद्धको फिगर उतारिएको कलाकृति पनि उत्तिकै अर्थपूर्ण लाग्छ ।

दुई देशबीचको सुमधुर सम्बन्धलाई प्रस्तुत गर्न एउटा कलाकृतिमा आ–आफ्ना राष्ट्रिय पोसाक लाएका दुई व्यक्ति एक अर्को सम्मानमा झुकिरहेको प्रस्तुत गरिएको छ । दुई देशको बीचको जनस्तरीय प्रगाढ सम्बन्धलाई पनि यो चित्रले प्रस्ट्याउँछ ।

आर्ट एकेडेमीका सदस्य कञ्चन पाण्डेका अनुसार नेपाल र भारतबीच रहँदै आएको मैत्री सम्बन्धलाई अझै प्रगाढ बनाउन प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा नेपालमा विभिन्न जनजातिको सांस्कृतिक विविधतासँगै भारतीय संस्कृतिको भावनालाई पनि साझा गरिएको छ । प्रदर्शनीमा तैल, एक्रेलिकलगायतका माध्यम अपनाइएका ८९ वटा कलाकृतिहरू छन ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय दूतावाससितको सहकार्य रहेको प्रदर्शनी वैशाख १ गतेसम्म जारी रहनेछन् । प्रर्दशनीको नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले उद्घाटन गरे ।

तपाईको प्रतिक्रिया