सत्ताका दलाल नै मधेशी जनताका मुक्तिको बाधक : मो.रिजवान अन्सारी

अध्यक्ष, नेपाल संघीय समाजवादी पार्टी

अन्तर्वार्ता

       

० बारा र पर्सामा हावाहुरीबाट पीडितहरूको राहत, उद्धार तथा पुनर्वासमा तीनै तहका सरकारहरूको भूमिका कस्तो देख्नुहुन्छ ?

— हावाहुरी प्रभावितहरूको अवस्था एकदमै दयनीय छ । उनीहरूको राहत तथा उद्धार कार्यमा राज्यको उपस्थितिमा कमी देखिएको छ । खासगरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना परिचालित भएको अवस्था छ । राहतका लागि सरकार तथा गैरसरकारी संस्था, व्यक्तिहरूले पनि तत्कालीन राहत उपलब्ध गराए । घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ । तर, ग्राउण्डमा त्यो देखिएको छैन । राहतका नाममा जुन अस्थायी व्यवस्थाहरू गरिएको छ त्यो पर्याप्त छैन । फेरि आँधी बेहरी वा पानी प¥यो भने त्यसले धान्न सक्ने अवस्था छैन । अहिले नेपालमा जसरी तीनै तहको सरकार छ र उनीहरूले केही घोषणाहरू गर्नुपर्ने थियो त्यो सन्तोषजनक छैन ।

० सरकारले के–के गर्नुपर्ने हो ?

— मृतकका परिवारलाई क्षतिपूर्ति त गर्न सक्दैन तर उनीहरूको पीडा अवश्य कम गर्न सकिन्छ । सरकारले मृतकका परिवारलाई कमसेकम प्रति व्यक्ति १०÷१५ लाख रूपैयाँ दिनुपर्ने हो । प्रदेश सरकारले ३ लाख दिने घोषणा गरेको छ र केन्द्र सरकारले पनि पाँच लाख दिने कुरा गरेको छ । त्यो पर्याप्त होइन । मृतक परिवारलाई १० देखि १५ लाखसम्म कम्तिमा दिनुपर्ने हाम्रो माग हो । राज्यले आपतकाल घोषणा गरेर राज्यका सम्पूर्ण शक्ति लगाउनुप¥यो । राज्य चाहिएको भनेको यस्तै आपतविपद्का बेला न हो । राज्यले अहिले चाहेको भए सम्पूर्णलाई खानपान, बस्ने व्यवस्था गर्न सक्थ्यो । तर, त्यो स्तरमा काम भएको छैन ।

० भनेपछि केन्द्रीय सरकारको प्रभावकारी उपस्थिति देखिएन ?

— केन्द्रीय सरकारको जुन ढंगको प्रभावकारी उपस्थिति हुनुपर्ने थियो त्यो देखिएको छैन । तर, कामै नभएको होइन । त्यहाँ सरकारका विभिन्न अंगहरू परिचालित छन् तर त्यो मात्रै पर्याप्त होइन । मृतकका परिवारका बच्चाहरूलाई कमसेकम उच्चस्तरीय शिक्षाको व्यवस्था, योग्य जागिर खाने खालका कोही छ भने सरकारी जागिर दिनुपर्ने घोषणा गर्नुपर्दथ्यो । राज्य सम्पूर्ण नेपाली जनताको हो र सबैका लागि बराबर हो भन्ने जुन आभाष राज्यले दिलाउनुपर्ने थियो यसमा चुकिरहेको छ ।

० बेलाबखतमा यस्ता प्राकृतिक विपदाहरू आइरहन्छ तर, त्यसबाट कमभन्दा क्षति हुन दिने, पूर्वतयारी किन देखिँदैन ?

— यसमा राज्यको ठूलो लगानी हुन्छ । स्थायी रूपमा नै प्राकृतिक विपदा वा संकटहरू आए भने त्यस्ता बेलाका लागि विभिन्न संयन्त्रहरू बनेका छन् । त्यसमा कोषहरू पनि राखिएका छन् । तर, त्यसको प्रभावकारिता देखिँदैन । २०७२ सालमा जसरी महाविनाशकारी भूकम्प आयो त्यसबेला राज्य नै छैन भन्ने आभाष भयो नि । त्यसैले, यस्ता विपदाहरू हाम्रो मुलुकमा भइरहेकै छ । तर, यो विनाशकारी हावाहुरी नेपालका लागि नयाँ घटना थियो । यसले गर्दा नेपालमाथि एउटा नयाँ चुनौती पनि थपियो । त्यसैले, यी सबैका लागि राज्य सक्षम र तयारी अवस्थामा बस्नुपर्छ । त्यसमा कमी कमजोरीहरू देखिएको छ ।

० बारा र पर्सामा गएको हावा हुरीप्रति सरकार उदासीन देखिए तपाइँ भन्नुहुन्छ ?

— म व्यवस्थापिका संसदको सदस्य हुँदा त्यतिबेला सरकारलाई ध्यानाकर्षण गराएको थिएँ कि यदि मधेशमा रहेका नदीनालाहरूलाई वैज्ञानिक तरिकाले नियन्त्रण गरिएन भने मधेशमा मरूभूमीकरण हुन्छ । चुरे जसरी कटानी भइरहेको छ, प्राकृतिक स्रोतहरूको विनाश भइरहेको छ त्यसमा सरकारको संलग्नता छ । यसले आउने केही वर्षमै मधेशलाई मरूभूमीकरण बनाउँछ । कि त यो सरकारले भन्नुप¥यो कि मधेशलाई मरूभूमीकरण बनाउने नै योजना बनाएका छौं । आखिर वातावरणसँग खेलवाड गरेरै यस्ता नयाँ प्राकृतिक विपदाहरू आउँछ नै । मानवले वातावरणसँग खेलवाड गर्दा यस्ता नयाँ किसिमका विपत्तिहरू आइरहेका छन् । मधेशमा भएका चारकोसे झाडी समाप्त पारियो ।

० भनेपछि मधेशमाथिको उत्पीडन कायम नै राख्न चाहिएको हो ?

— मधेशमा धेरै किसिमका उत्पीडनहरू छन् । मधेश कृषि प्रधान ठाउँ हो । कृषिमा यदि बेजोड लगानी गरेको भए हाम्रो देशजस्तो १० वटा देशलाई मधेशले पाल्न सक्थ्यो । तर, जानी–जानी मधेशलाई पछाडि पार्ने कामहरू भयो । त्यहाँ बाटोघाटो बनाइएन । हुलाकी सडककै कुरा गरौं । जति बेला यसको प्रस्ताव भएको थियो त्यतिबेला बनेको भए चारकोसे झाडी पनि नष्ट हुने थिएन । यत्रो विपद नै आउने थिएन । त्यसकारणले सरकारको विभेदपूर्ण नीतिका कारण आज मधेशको यो हालत भइरहेको छ ।

० पृथकतावादी अभियान चलाउँदै आएका डा.सीके राउत नेतृत्वलाई जसरी मूलधारमा ल्याइयो, यसलाई कसरी हेर्नुभएको छ ?

— मैले पहिला नै भनेको थिएँ कि केपी ओली र सीके राउत एउटै सिक्काका दुईटा पाटा हुन् । सीके राउतजी सुरूदेखि नै मूलधारमा थिए तर उहाँले अलि फरक छु भनेर प्रस्तुत गर्नुभयो । तर, पनि उहाँलाई ल्याइयो यसमा हाम्रो असहमति छैन । हामीले सुरूदेखि नै भन्दै आएका छौं कि हामीलाई पृथक राष्ट्र चाहिएको छैन । हामीलाई देशभित्र अधिकार सम्पन्न प्रदेश, आत्म निर्णयको अधिकार, स्वाभिमान, पहिचान चाहिएको छ । हामी सामाजिक न्याय, समानता र पहिचानसहित स्वाभिमान भएर बाँच्न चाहन्छौं । मधेशका आन्दोलनहरू देश विखण्डनका लागि थिएन । नेपालका राजनीतिक नेतृत्वले यो कुरालाई बुझेन । हामीले नेपाली सरह व्यवहार गर भन्नका लागि मधेशको आन्दोलन भएको थियो ।

० तर, उहाँ मूलधारमा आएपछि अझ पनि आशंकाहरू गरिँदैछ नि ?

— उहाँलाई अहिले जसरी नाटकीय पाराले प्रस्तुत गरियो, त्यसमा कहीं न कहीं केही कुरा छ । मधेशका लागि दुर्भाग्य के छ भने कि अहिले जुन मधेशमा राजनीतिक नेतृत्व भनिन्छ ती सत्ताका दलालहरू छन् । किनभने मेरो पनि चित्त दुखाइ धेरै भएको छ । मधेशी र उत्पीडित जनतासँग पटक–पटक धोका दिने काम भएको छ । मधेश एउटा शक्तिशाली शक्ति हो जसले देशलाई बलियो बनाउन सक्छ । त्यसकारणले सम्पूर्ण नेपाली जनताको एकता नै नेपालको राष्ट्रियता हो ।

० मधेशकेन्द्रित दलहरूको भूमिका कस्तो देख्नुहुन्छ ?

— कथित मधेशवादी दलहरूले मधेशको दुखिरहेको भावनालाई आफ्ना स्वार्थपूर्तिका लागि क्यास गर्दै आएका छन् । यिनीहरूले भनेका थिए, अभि नही तो कभी नही, उधारो सम्झौता हुँदैन, संशोधन होइन पुनर्लेखन, आर कि पार लगायतका कुराहरू गरेर मधेशका जनताहरूलाई सडकमा ल्याएर सयौंलाई शहीद बनाएका छन्, अर्बौंको क्षति भएको छ । समुदाय–समुदायबीच एक खालको मनमुटाव पनि बढेको छ । अहिले जनताले सोध्नुपर्ने बेला आएको छ कि पुनर्लेखनको त कुरै छोडौं, संविधानमा एउटा कमा र फुलस्टप पनि परिवर्तन भएको छैन । उपेन्द्र यादवजी उपप्रधानमन्त्री हुनुहुन्छ, यो भन्दा ठूलो धोका मधेशका जनतासँग अरू के हुनसक्छ । जसले भन्दै थिए कि ६० जनाका हत्यारा केपी ओली हुन्, भनेपछि उसलाई प्रधानमन्त्री बनाउन मतदान गर्ने बेलामा कथित मधेशवादीहरूको हात कामेन ? त्यो बेला शहीदहरूको सम्झना आउनुपथ्र्यो । आज समर्थन फिर्ता लिने भन्छन्, समर्थन के का लागि गरेका थिए त ? के उनीहरू अदूरदर्शी हुन्, के उनीहरूलाई यो मुलुकको राजनीतिको बारेमा केही पनि थाहा छैन ? उनीहरूलाई थाहा थिएन कि केपी ओलीले केही गर्दैन भनेर ? यस्ता धोकेबाजहरू, सत्ताका दलालहरूले नै मधेशी जनताका मुक्तिका बाधक हुन् ।

० के मधेशको आन्दोलन सकिएकै हो त ? अबको बाटो के त ?

— मधेशको आन्दोलन सकिएको छैन । मधेशको आन्दोलन यो देशको आन्दोलन हो । मधेशको मुक्ति भनेको यो देशको मुक्ति हो । त्यसकारणले नेपालमा उत्पीडित जनता रहेसम्म उत्पीडित जनताको आन्दोलन सकिनेबाला छैन । नेपाली उत्पीडित जनताको आन्दोलन पुनर्गठित हुन्छ । अब नयाँ लहर र जोसजाँगरका साथ नयाँ नेतृत्व, नयाँ पार्टी र नयाँ मोर्चा बनेर हामी अगाडि आउँछौं ।

० भनेपछि, नेपालमा अब नयाँ वैकल्पिक शक्ति आउँदैछ ?

— निश्चितरूपमा । यो मुलुकमा कांग्रेस, कम्युनिष्ट र कथित मधेशवादीहरूको शासन सत्तामा नेपाली जनताले के पाए त ? आर्थिक अवस्थामा नेपाल कहाँ पुग्यो, भ्रष्टाचारको नियन्त्रण कहाँसम्म भयो, बेरोजगारी कतिसम्म समाप्त भयो, सुशासनको आभाष नेपाली जनताले गर्न पाए कि पाएनन्, समृद्धि कहाँसम्म पुग्यो ? यी सबै क्षेत्रमा हेर्ने हो भने यिनीहरूको शासनकालमा नेपाली जनता र राष्ट्र पछाडि परेको अवस्था छ । हामी संसारमा भ्रष्टाचारी मुलुकको नागरिकको रूपमा चिनिन्छौं । त्यसैले, अब हामीले वैकल्पिक बाटो खोजी गरेर अगाडि बढ्नुपर्छ । राजनीतिक दासताभन्दा माथि उठ्नुपर्छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया