भर्ना अभियान र प्रदेश २ को अवस्था

सम्पादकीय

    प्रकाशित मिति : २०७६ बैशाख ६ गते   

गत वर्ष वैशाख ११ गते बडो तामझामका साथ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाका एक दलित बालिकाको पढाइको अभिभावकत्व लिए । ती थिइन् धनुषाको मिथिला विहारी नगरपालिका ८ की साढे ४ वर्षीया लक्ष्मीनियाकुमारी दास ।

धेरैलाई लाग्न सक्छ–उनलाई अब पढाइमा कुनै कठिनाइ छैन होला । पाँच महिनासम्म त ठिकै थियो तर त्यसपछि उनी विद्यालय जानै छाडिन् । कारण सोधखोज गर्न न मुख्यमन्त्री राउत पुगे, न उनका कोही सहायक नै । दुई भाइ–बहिनीलाई घरमा खेलाएर दिनभर बस्नुपर्ने बाध्यता मुख्यमन्त्रीको ‘कृत्रिम सन्तान’ हुँदा पनि लक्ष्मीनियालाई हटेन ।

यसवर्ष देखि सरकारले हरेक वर्षको वैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवसका रूपमा मनाउने निर्णय गरेको छ । त्यस्तै प्रत्येक वर्ष बैशाख २ गतेदेखि १६ गतेसम्म देशभर विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ भन्ने नाराका साथ प्रत्येक वर्ष दिवस र अभियान मनाइने छ ।

गतवर्ष पनि सरकारले विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरेको थियो । जसमा प्रधानमन्त्री, अन्य मन्त्री, मुख्यमन्त्री, सांसद देखि विभिन्न अभियान्ताले विद्यालय बाहिर रहेका बालबालिकाको अभिभावकत्व ग्रहण गरेर स्कुलमा भर्ना गराएका थिए ।

सरकारले यसवर्ष पनि अभिभावत्क ग्रहण गरेका बालबालिकाको पठनपाठनमा सहयोगका लागि निरन्तरता दिन आह्वान गरेको छ । त्यस्तै अन्य बालबालिकालाई भर्ना गराउन सहयोगको अपिल गरिएको हो । अझै ६० हजारभन्दा बढी विद्यालय उमेर समूहमा बालबालिका कक्षाकोठा बाहिर रहेको आँकडा छ ।

बैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुबै तर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना गरिनेछ । विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

प्रदेश २ मा विद्यालय जाने उमेर समूहका अधिकांश बालबालिका विद्यालय बाहिर रहेको सरकारी तथ्यांक छ । अभिभावकमा चेतनाको कमीका कारण पनि विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेका छन् । यसका लागि प्रदेश २ सरकारले विशेष किसिमको अभियान नै चलाउने भएको छ ।

हरेक स्थानीय तहमा जनप्रतिनिधिले विद्यालय बाहिर रहेका बालबालिकालाई खोजी भर्ना गराउने प्रदेश २ सरकारको तयारी रहेको छ । गत वर्षको तथ्यांकले प्रदेश २ मा प्राथमिक तहका ४ दशमलव २ प्रतिशत विद्यार्थी विद्यालय बाहिर देखाएको थियो । पछिल्लो समय भर्ना भइसकेका विद्यार्थी पनि विद्यालयमा टिक्न नसकेका धेरै उदाहरण छन् ।

गरिबीका कारण बाल श्रम गर्नुपर्ने, आफूभन्दा साना भाइबहिनी हेरेर अभिभावकलाई काममा पठाउनु पर्ने लगायत कारण पनि बीचमै विद्यालय छाड्नेको संख्या उच्च छ । सरकारले यस वर्षदेखि सुरू गरेको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमले नियन्त्रणका लागि केही सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

अझै पनि निम्न माध्यमिक तहमा ३७ प्रतिशत र माध्यमिक तहमा ४३ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्यांकले देखाएको थियो । भर्ना भन्दा पनि भर्ना भएकालाई विद्यालयमा टिकाई राख्नु बढी चुनौतीपूर्ण छ ।

प्रदेश २ को सरकारले ल्याएका विभिन्न कार्यक्रममध्ये चर्चित ‘बेटी पढाउ, बेटी बचाउ’ नारामा सीमित बन्दै गएको छ । यसै अभियानअन्तर्गत बालिकाको अभिभावकत्व ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरीहरूको शिक्षाका लागि ल्याएको विशेष योजनामा सबैलाई सहयोग गर्न अपील गरेका थिए ।

उनले दलित बालिकाका लागि सरकारले शिक्षा विमा, दिवा खाजाजस्ता योजना शीघ्र ल्याउन गृहकार्य गरिराखेको बताएका थिए । तर हालसम्म त्यस्ता कार्यक्रम ल्याइएका छैनन् । ‘बेटी बचाऊ, बेटी पढाऊ’ योजना गत आर्थिक वर्षमा प्रदेशका आठै जिल्लामा सञ्चालन गर्न करिब ८० लाख रूपैयाँ छुट्याइएको थियो । त्यसको जम्मा ५ लाख खर्च भयो । ७५ लाख फ्रिज भयो । चालु आर्थिक वर्षमा सरकारले यस अभियानका लागि ५ करोड ११ लाख ३८ हजार विनियोजन गरेको छ ।

पहिल्यै घोषणा गरिए पनि भदौ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरमा समारोह आयोजना गरी यो अभियान औपचारिक आरम्भ गरेको थियो । कार्यक्रममा लक्षित बालबालिका देखिएनन् । बरू प्रदेश सरकारले प्रदेशसभाका सदस्यहरूलाई आकर्षक ब्याग बाँडेको थियो ।

तपाईको प्रतिक्रिया