एकीकरणको हल्ला (सम्पादकीय) 

सम्पादकीय

सम्पादकीय

    २०७६ वैशाख २० गते शुक्रबार   


फुटाउन पछि नपर्ने मधेशी दलको एकता प्रसंग यतिबेला फेरि चर्चाको विषय बनेको छ । गत महिना संघीय समाजवादी फोरम र राजपा नेपालबीच एकीकरणको चर्चा खुबै चल्यो । दुबै पार्टीले उत्साहित भएर एक अर्कालाई पत्र आदान–प्रदान पनि ग¥यो, प्रेमीप्रमिका जस्तै । तर त्यसले सार्थक रूप ग्रहण गर्न नपाउँदै ‘ट्राजेडी’ भएको छ । फरक सिद्धान्त तर उद्देश्य एउटै भएका दुई मधेशी दलको एकीकरण प्रसंगले स्वयम् मधेशी जनता आश्चर्यमा परेका छन् । मधेशी राजनीतिलाई नजिकवाट नियालेकाहरू पनि यी दुई मधेशी दलबीच सुरू भएको एकीकरण प्रयासलाई अचम्म परेका छन् ।

गत वर्ष भएको चुनावअघि चुनावी तालमेल गर्न समेत तयार नभएका फोरम र राजपा नाटकीय एकीकरणको प्रयास निरर्थक तुहिएको छ । फोरम र राजपाबीचको एकीकरण प्रयास कृत्रिम रहेको पनि कतिपयको टिप्पणी छ । ६ वटा पार्टी मिलेर बनेको राजपा अहिले आफै अस्तव्यस्त छ । एक वर्षभित्र महाधिवेशन गरिसक्ने कबुल गरेको उसले दुई वर्ष लाग्दा पनि गर्न सकेको छैन । महाधिशवेनको भाका सर्र्दै जाँदा हुने कि नहुनेमा पनि संशय छ ।

राजपाभित्र शीर्ष नेतृत्वको किचलो सतहमा आइसकेको छ । सबै शीर्ष नेताहरूलाई पार्टी सञ्चालन गर्ने महत्वाकांक्षा र गुटबन्दीका कारण राजपा अहिलेसम्म पनि पूर्ण पार्टीका आकार ग्रहण गर्न सकेको छैन । यस्तो अवस्थामा फोरमसँग एकीकरणको प्रयास गर्नु हास्यास्पद नै देखिन्छ । एकातिर दुई मधेशी दलबीच एकीकरण प्रयास सुरू भएपनि अर्कोतर्फ उनीहरू भित्रै भुसको आगो झै असन्तुष्टि चुलिँदै गएको छ ।

टुटफुटका कारण मधेशी दलको शक्ति क्षयीकरण भइरहेको समयमा एकतावद्ध भएर आउनु आफैमा सकारात्मक पाइला हो । वस्तुतः एकीकरणले दुईवटा सन्देश दिन्छ । पहिलो एकतामा शक्ति छ भन्ने सन्देश, अर्को फुटेका कारण टाढा भएका कार्यकर्ता र सहानुभूति राख्नेहरूलाई संगठित गर्ने काम पनि यसले गर्छ ।

यता, अहिले फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पनि एकताको कसरत भइरहेको छ । फोरमले एकै साथ राजपा र नयाँ शक्तिसँग एकीकरणको प्रयास चाल्नु उसको रणनीतिक शैली हो । अहिले उसले राजपालाई छाडेर नयाँ शक्तिसँग ‘प्रेम’ गर्नु रणनीतिक र राजनीतिक चाल हो । नयाँ शक्तिसँगको एकता प्रयास भित्रभित्रै चलिरहेको कुरा राजपाले थाहा नपाउनु उसको राजनीतिक कमजोरी हो । राजपा नेपाल अहिले प्रतिपक्षी दल हो भने फोरम नेपाल सत्ता साझेदार दल हो । प्रदेश २ मा राजपा र फोरमको संयुक्त सरकार छ । आफ्ना मागहरू पूरा नगरेको भन्दै राजपा नेपालले सरकारको कडा रूपमा आलोचना गर्दै आइरहेको छ भने संघीय समाजवादी फोरम नेकपा नेतृत्वको सरकारले गरेका कतिपय निर्णयमा फरक मत राख्दै आएको छ ।

नेपाली राजनीतिको मुख्य थलो भनेको मधेश नै हो । अहिले ठूला दलका रूपमा उदाएका नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसको उदय पनि मधेशबाट नै भएको थियो । धेरै जनसंख्या हुनु, भौगोलिक सुगमता, संगठन विस्तारमा सजिलो, अन्य थुप्रै विषयहरूमा सहजता जस्ता कारणहरूले गर्दा पनि हरेक राजनीतिक दलहरूले मधेशलाई आफ्नो राजनीतिको उर्वर भूमिको रूपमा प्रयोग गर्दे आए । विभिन्न मुद्दाहरू उठाई राजनीतिमा आफ्नो पहिचान बनाउन खप्पिस भइसकेका दलहरू हरेक समयमा आन्दोलनका लागि मधेशी जनतालाई प्रयोग गर्ने र अन्तिम अवस्थामा मधेशको मुद्दालाई सरकारसँग बेचेर आफू सत्तामा जाने गरेको यथार्थ अब मधेशी जनतबाट लुक्न सक्दैन । छुट्टा–छुट्टै दल हुँदा होस् वा एकीकरण भएपछि होस्, मधेशका राजनीतिक दलहरूको उद्देश्य मधेशको मुद्दा लिएर सत्ता प्राप्त गर्नु नै हो ।

पटक पटक बेइमानी गरेका दलहरूलाई अब धेरै समय मधेशी जनताले कुर्नेवाला छैनन् । अब मधेशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यक्ता महसुश हुन थालेको छ ।

मूलधारका राजनीतिक दलहरूले पनि अब मधेशको मुद्दा सम्बोधनमा ध्यान दिनुपर्छ । राष्ट्रिय अखण्डतालाई कायम राख्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान अघि बढाउने हो भने मधेशको मुद्दालाई छाडेर अगाडि बढ्न सकिन्न । मधेशमा बढ्दै गएको अलगाववादी राजनीतिलाई हटाउन मधेशको मागहरू समयमा नै सम्बोधन गराउन आवश्यक छ । किनकी मधेशमा अब जन्मिने वैकल्पिक शक्ति राज्यसँग वार्ता वा सहमति सम्झौतामा अल्झिदैंन उनीहरूको आन्दोलनले अलगाववादीलाई बल पु¥याउँछ जसले गर्दा अहिले मधेशको मुद्दालाई लिएर राजनीति गरिरहेका दलहरूको अस्तित्व समाप्त हुन्छ ।

तपाईको प्रतिक्रिया