आँप जोन बनाउने हाम्रो लक्ष्य हो : हरिनारायण चौधरी

मेयर, धनगढीमाई नगरपालिका, सिरहा

स्थानीय सम्वाद्

    २०७६ वैशाख २० गते शुक्रबार   

संक्षिप्त परिचय
स्थापना : आश्विन ०१, २०७२
जम्मा वडा : १४
जनसंख्या : ४७,४४९
क्षेत्रफल : १५९.५१ ( वर्ग कि.मी.)
साविकका समावेश गाविसहरू : भवानिपुर, हनुमाननगर, फुल्काहाकट्टी, धनगढी, अयोध्यानगर र विष्णुपुरकट्टी
दीर्घकालिन सोंच : “कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार, धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार”

० तपाईं मेयरमा निर्वाचित भएदेखि जनताले जनप्रतिनिधिको अनुभूति गरेका छन् ? 

— जनताका अपेक्षाहरू धेरै छन् । हामीसँग साधनस्रोत सीमित छ । त्यसमा यो नयाँ नगरपालिका हो । नगरपालिका नयाँ भएकाले हामी शहरीकरण गर्ने प्रक्रियामा छौं । पूर्वाधारको हिसाबले यस नगरभित्र सबै गाउँ–गाउँ नै भएकोले आन्तरिक स्रोत पनि न्यून छ र बजेट पनि कम नै छ । २० वर्षसम्म जसरी स्थानीय तह जनप्रतिनिधिविहीन थिए, तुलनात्मक हिसाबले जनताका अपेक्षाहरू सम्बोधन गर्ने काम गरिरहेका छौं । हामीले पहिलो प्राथमिकतामा शिक्षालाई राखेका छौं । त्यस्तै, स्वास्थ्य क्षेत्रमा पनि जनताको सहज पहुँचका लागि प्रयत्न गरेका छौं । यस्तै, कृषिलाई आधुनिकीकरण गर्नतिर लागेका छौं । यो नगरपालिकामा १४ वटा वार्डहरू छन् र सबै वार्डहरूमा सहजरूपमा सेवा प्रवाहका लागि प्रक्रिया सुरू गरेका छौं । हामीसँग कर्मचारीको अभाव भएपनि जनताको घर–घरमा सेवा प्रवाहका लागि कामहरू गरेका छौं ।

० भनेपछि जनताले स्थानीय सरकारको उपस्थिति महसुस गरेका छन् ?

— हामीले जनतालाई स्थानीय सरकारको उपस्थिति अनुभूति दिलाउने कामहरू गरेका छौं र जनताले केही हदसम्म स्थानीय सरकारको अनुभूति गरेका पनि छन् ।

० सिंहदरबार गाउँ–गाउँमा गएको छ ?

— सिंहदरबार गाउँ–गाउँमा जनताले महसुस गरेका छन् । किनभने हामीले जनताको घरमै सेवाहरू प्रवाह गरेका छौं । सबै वार्डमा कार्यालयको स्थापना गरेर सेवा दिइरहेका छौं । जनताको जति आकांक्षाहरू छन्, सबै पूरा भएको भनेर त भन्दिँन तर हामीले प्रयास गरेका छौं । किनभने हामीसँग साधनस्रोत कम छ ।

० जनताले अनुभूति गर्ने खालका केकस्ता कामहरू भएका छन् ?

— सेवा प्रवाहका लागि हामीले सबै वार्डहरूलाई परिचालन गरेका छौं । पूर्वाधारको क्षेत्रमा हामीले मुख्य सडकहरूलाई कालोपत्रे गर्ने कार्य सुरू गरेका छौं । विद्यालयका भवनहरू पनि निर्माण भएका छन् । यसवर्ष हामीले सात किलोमिटर सडकलाई पिच गरिसकेका छौं । अझै हामीले १२ किलोमिटर सडक पिच गर्दैछौं ।

० तपाइँहरूको मूल नारा के हो ?

— धनगढीमाई नगरपालिकालाई समृद्धि बनाउनका लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन मुख्य आधार हो भनेर नारा दिएका छौं । त्यसकारणले यो क्षेत्रमा प्राथमिकता तोकेर बजेट विनियोजन गरेका छौं र सम्पूर्ण गतिविधिहरू यसैमा केन्द्रित गरेका छौं ।

० धनगढीमाईमा पर्यटनका सम्भावनाहरू के–के छन् ?

— यहाँ धार्मिक पर्यटनका आधारहरू छन् । हामीले राजनीतिक पर्यटनको रूपमा पनि विकास गर्ने आधारहरू छन् । पुरातात्विक हिसाबले पनि धनगढीमाई भन्ने एउटा गढी छ । त्यस्तै, परापूर्वकालदेखि दुईटा राजदेवी मन्दिरहरू अवस्थित छन् । यस्तै, बनौली गढ छ । त्यसलाई एउटा कोरिडोरको रूपमा विकास गर्दै सलहेश कोरिडोरको रूपमा विकास गर्दैछौं । लोकनायक सहलेशलाई पनि कोरिडोरमा जोड्न चाहन्छौं । त्यसका लागि हामीले योजनाहरू निर्माणको प्रक्रियामा छौं ।

० यो नगरपालिकालाई केमा आत्मनिर्भर बनाउन सकिन्छ ? 

— यस नगरपालिकाको मुख्य आधार कृषि नै हो । यहाँ अन्नबाली र आँप उत्पादन मुख्य स्रोत हो । त्यसले गर्दा हामीले तरकारी र आँपलाई प्राथमिकतामा राखेका छौं । त्यसका लागि हामीले प्रयत्नहरू गरिरहेका छौं । आँप जोन बनाउनका लागि हामीले योजनाहरू बनाउँदैछौं । त्यस्तै, हाम्रो तीन वटा वार्डमा धानको जोन छ । त्यसलाई हामीले विस्तार गरेर धान जोनको रूपमा विकास गर्ने प्रयत्न गरेका छौं । पहिलादेखि नै तरकारीको पकेट क्षेत्र र माछाको पनि पकेट क्षेत्र घोषणा भएको कारणले यसलाई कार्यान्वयनको प्रक्रियामा लान खोज्दैछौं ।

० आँप उत्पादन धेरै हुन्छन् तर त्यसको बजार व्यवस्थापन हुन नसकेर त्यसबाट आम्दानी हुन सकिरहेको छैन । कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

— आँपको बजार व्यवस्थापनको सन्दर्भमा संघीय र स्थानीय सरकारले मिलेर गर्नुपर्छ । किसानले जसरी उत्पादन अनुसारको फाइदा पाउनुपर्ने हो त्यसमा विचौलियाहरूका कारण समस्या हुने गरेको छ । त्यसका लागि केन्द्रबाट नै एउटा संरचना निर्माण गर्नुपर्ने आवश्यक छ । त्यस्तै, आँपलाई प्रशोधनको प्रक्रियामा लगेर व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि हामीले अध्ययन गरिरहेका छौं । तरकारीहरूको सन्दर्भमा कोल्डस्टोर निर्माण गर्ने अवधारणा पनि ल्याएका छौं । त्यसका लागि धनगढीमाईमा दुई दिन तरकारीको बजार लाग्दछ । त्यो बजारलाई व्यवस्थित गर्नका लागि मल्टिपर्पस बिल्डिङ्ग बनाएर व्यवस्थित गर्न चाहन्छौं ।

० आगामी आर्थिक वर्षका लागि के कस्ता योजनाहरू बन्दैछन् ?

— यो वर्ष हामीले करिब–करिब ५० प्रतिशत आर्थिक प्रगति भएको छ । भौतिक संरचनाको दृष्टिकोणले हेर्दा झण्डै ६० देखि ८० प्रतिशतसम्म सम्पन्न भइसकेको छ । जेष्ठ मसान्तभित्र यो वर्षको योजनाको काम सम्पन्न गरेर नगरसभा गर्ने योजनामा छौं । आगामी आर्थिक वर्षमा हामी शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधारहरूको सन्दर्भमा ठोस कामहरूमा केन्द्रित हुन्छौं । हामीले आयआर्जनका लागि स्किल डेभलपमेन्टसम्बन्धी कामहरूमा दिन्छौं ।

० धनगढीमाईलाई समृद्ध बनाउन केकस्ता चुनौतीहरू छन् ?

— समृद्धि र विकासको अभियानलाई पूरा गर्न अवश्य नै चुनौतीहरू छन् । पुरानो मानसिकतालाई परिवर्तन गर्न अलि समस्याहरू आउँछन् । समृद्ध नेपाल सुखी नेपाली बनाउने संकल्प पहिला व्यक्तिबाट सुरू हुनुपर्छ । त्यसले गर्दा मान्छेको धारणामा परिवर्तन नगरिकन यो यो अभियानलाई पूरा गर्न सकिँदैन । त्यसले गर्दा हामीले यो अभियानलाई पूरा गर्न अगाडि बढिरहेका छौं ।

तपाईको प्रतिक्रिया