मधेशी एकता भंग गर्न सीके मूलधारमा आए : जासर यादव

पूर्व नेता, स्वतन्त्र मधेश गठबन्धन

अन्तर्वार्ता

    २०७६ वैशाख २० गते शुक्रबार   

० स्वतन्त्र मधेश गठबन्धन मूलधारको राजनीतिमा जनमत पार्टीको रूपमा आइसकेपछि तपाइँ किन टाढिनुभयो ? 

— स्वतन्त्र मधेश गठबन्धन जुनदेखि आत्मसमर्पण ग¥यो त्यो दिनदेखि नै मैले असन्तुष्टि जनाउँदै आएको छु । तर, पनि मलाई विश्वास थियो कि मधेशी जनताले केही पाउँछ । तर, त्यस्तो केही पनि देखिएन, त्यसको ठिक विपरीत हुँदैछ । म विगत ६/७ वर्ष देखि निरन्तर डा.सीके राउतलाई साथ दिइरहेका थियौं, बारम्बार जेलनेल पनि गयौं । कहिल्यै पनि म संगठनको विपरीत क्रियाकलाप गरिनँ ।

० डा.सीके राउत मूलधारमा आएर राजनीति गर्नु कसरी आत्मसमर्पण भयो ?

— मूलधारमा आउनु राम्रो हो । उहाँ जेलबाट निस्किने बित्तिकै सबभन्दा पहिला माला लगाएर मैले नै स्वागत गरेको थिएँ । तर, मधेशी युवाले जुन कुराको आशा लगाएका थिए, त्यो अब रहेन । अहिले पनि डा.सीके राउत केपी ओलीको गुणगान गर्दै हिंडिरहनुभएको छ । मधेशवादी शक्तिहरूलाई गाली गर्दै हुनुहुन्छ । यी सब के हो त ? बारम्बार प्रदेश २ को सरकारलाई मात्र टारगेट गरेर अभिव्यक्ति दिनु, गाली गर्नु कतिको जायज हो ? उहाँले त मधेशका सबै शक्तिलाई मिलाएर आउनुपथ्र्यो । तर, त्यस्तो व्यवहार उहाँको देखिएन ।

० उहाँले त यही देशभित्र रहेर मधेशी हक अधिकार दिलाउने भनिरहनुभएको छ नि ?
— उहाँले यही देशभित्र रहेर हक अधिकार दिलाउनु थियो भने युवाहरूलाई झुठो आश्वासन किन दिनुभयो ? अलग्गै देश बनाउनु, छुट्टै झण्डा बनाउनु, अलग राष्ट्रगान बनाउनु जस्ता कार्यहरू गर्नु भनेको त ठूलो घात हो नि । ठूलठूला सपना बाँडेर अकस्मात् पछाडि हट्नु भनेको त घात हो । उहाँ मूलधारमा आउनु राम्रो कुरा हो तर, मुद्दा बिर्सिनुभयो । अहिले पनि उहाँले झुठो आश्वासन दिइरहनुभएको छ कि १० लाख युवालाई रोजगारी दिन्छु । उहाँले ३५ सदस्यीय जुन केन्द्रीय समिति बनाउनुभएको छ, त्यसमा पनि समावेशीताको सिद्धान्त लागू छैन । काम गरेकाहरू, सुरूदेखि संगठनमा लागेकाहरूलाई विस्थापित गर्नुभएको छ । ३५ जना कतिपयको त कुनै भूमिका नै छैन । त्यसैले, उहाँले केन्द्रीय समिति बनाउँदा पनि सच्चा कार्यकर्ताप्रति बेइमानी गर्नुभएको छ । उहाँले राजनीति गर्न आएको छैन भनिरहनुभएको छ । यदि तपाइँ राजनीति गर्न आउनुभएको छैन भने के गर्न आउनुभएको छ ? मधेशी एकता भंग गर्न आउनुभएको हो ? भन्ने प्रश्न मैले गरेको थिएँ । त्यसको कुनै जवाफ आएन । राजनीति गर्नु छैन भने पार्टी किन दर्ता गर्नुभयो ? ३५ जनाको केन्द्रीय कमिटीमा आफू मात्रै अध्यक्ष हुने, बाँकी सबै सदस्य रहने भनेपछि यो अवसरवादी चरित्र हो । उहाँले त्यसमा पनि आफ्नै परिवारका चार जनालाई केन्द्रीय सदस्य बनाउनुभएको छ ।
जुन राम मनोहरलाई सिढी बनाएर आज मूलधारमा आउनुभयो, त्यो राममनोहरका लागि सीके राउत कतै पनि प्रोटेस्ट गर्नुभएको छ ? के फेसबुकमा लेख्दैमा आफ्नो दायित्व पूरा हुन्छ त ? मैले माने उहाँको आदेश थियो, तर उहाँको पनि त केही भूमिका देखिन्थ्यो नि । निरन्तर राम मनोहरका लागि प्रोटेष्ट गर्ने व्यक्ति जासर यादव हो । उहाँ जसरी आज मूधारमा आउनुभएको छ, त्यो सबै राम मनोहरजीको देन हो । मैले यति संघर्ष गरेँ, लाखौं रूपैयाँको लगानी गरेँ तर मलाई र राम मनोहरलाई सिढींको रूपमा मात्रै उपयोग गर्नुभएको छ । आफू उचाइमा पुगिसकेपछि त्यो सिढीलाई फालिदिनु कतिको जायज हो ? यसको आंकलन मधेशी जनताले त गर्ने नै छ । अर्को कुरा, उहाँ कार्यकर्ताप्रति कहिल्यै पनि इमान्दार देखिनुभएन । उहाँले जसरी ३५ सदस्यीय समितिमा आफू अध्यक्ष र बाँकी सबै केन्द्रीय सदस्य बनाउनुभएको छ, त्यसमा बाँकी पदाधिकारीहरू कसका लागि खाली राख्नुभएको छ ? अन्य कुनै शक्ति हो कि वा अरूद्वारा परिचालित हो कि ? ती कुरा त उहाँले सार्वजनिक गर्नुपर्ने थियो । अहिले पनि धेरै शंकास्पद कुराहरू छन् । अहिले पनि डा.सीके राउतले आफ्नो पार्टीका नीति नियम सार्वजनिक गर्नुभएको छैन ।

० जनमत पार्टीको ३५ सदस्यमा सीके राउतका आफन्त को–को हुन् ?

— अध्यक्षमा आफै हुनुभयो, सत्यनारायण खङ भन्ने उहाँको एसिस्टेन्ट हुन् । मैले जानेअनुसार सत्यनारायण मासिक १० रूपैयाँ काम गर्नुहुन्थ्यो । तर, सत्यनारायण उहाँकै गाउँका नातेदार नै हुनुहुन्छ । अर्को, बबिता इशर डा.राउतको भाउजु पर्नुहुन्छ र अर्को रामकली भन्ने महिला पनि उहाँको आफन्त भाउजु नै पर्नुहुन्छ । ठिक्कै छ उहाँले आफन्तहरूलाई पार्टीमा ल्याउनुभयो । तर, संगठनका लागि दिनरात काम गर्नेहरूलाई बाइपास गर्नुभएन नि । यस्तो धेरै कुराहरू छन्, समय आएपछि भनौंला । म बिना प्रमाण कुनै पनि आरोप लगाउँदिन । म जनतालाई आग्रह कि गर्छु कि सीके राउतको भ्रममा नपर्नुस । कि त सीके राउतले आफ्ना कमी कमजोरी सच्याएर आउनुपर्छ ।

० डा.सीके राउतले भन्नुहुन्छ कि नेपाल सरकारले सम्झौता गरेर ठूलो उपलब्धि हासिल ग¥यो । उहाँ नेपालमा पहिलो व्यक्ति हुनुहुन्छ जसले यस्ता पृथक अभियान चलाउनुभएको थियो ?

— यो उहाँको भ्रम मात्रै हो । उहाँले मधेशीहरूमा भ्रम फैलाउनुभएको छ कि मैले नै आजादीको आन्दोलन ल्याएको हुँ भनेर । उहाँभन्दा कयौं दशक पहिला पनि यस्ता आवाजहरू उठ्ने गरेका थिए । वि.सं. २०१५ सालमा रघुनाथ ठाकुर ‘मधेशी’ले मधेशी जनक्रान्ति दलको नामक संगठन खोलेर एकात्मक शासन प्रणालीबाट मधेश मुक्तिको माग ल्याउनु भएको थियो । त्यसपछि निरन्तर यस्ता आवाजहरू उठ्दै आएको हो । मधेश स्वतन्त्रताको अभियान प्रथम र अन्तिम पनि होइन । जसरी उहाँले विसर्जन गर्नुभयो, भोली अन्य कुनै न कुनै शक्ति आउँछ । उहाँ मूलधारको राजनीतिमा आउनु ठिक हो । उहाँले यसलाई जसरी ठूलो उपलब्धि भन्नुभएको छ त्यो ठूलो उपलब्धि सीके राउत बाहेक अरू कसैका लागि छैन । किनभने उहाँ जेलमा हुँदा पनि स्वतन्त्र मधेश गठबन्धनका कुनै पनि कार्यक्रम स्थगित भएन । उहाँ जेलभित्र रहँदा हामीले विभिन्न ठाउँहरूमा सफलतापूर्वक कार्यक्रमहरू गरेका थियौं । नेपाल सरकारसँग भएको सम्झौता उहाँका लागि ठूलो उपलब्धि हो, कार्यकर्ताका लागि होइन । दिनरात काम गर्ने कार्यकर्ताहरूलाई उहाँले टिस्यु पेपरजस्तै प्रयोग गरेर फालिदिएको अवस्था छ ।

० भनेपछि ११ बुँदे सम्झौता डा.सीके राउतका लागि मात्रै ठूलो उपलब्धि हो ?

— जुन ११ बुँदे सम्झौतालाई मधेशको ऐतिहासिक जित भन्नुभएको छ, त्यसमा मधेशका लागि के कुराहरू छन् त ? त्यो ११ बुँदे सम्झौता पढ्दा मधेशी समुदायका लागि के दिन्छ त नेपाल सरकारले ? उहाँले जनअभिमत ठूलो उपलब्धि भन्नुभएको छ । जनताको अभिमत पाएँ भने उहाँले मात्रै गर्नुहुन्छ कि अरूले पनि त गर्न सक्छन् नि । त्यसमा सीके राउतकै आवश्यकता छ भनेर लाग्दैन । मधेशकेन्द्रित दलहरूले पनि अभिमत पाए भने गर्न सक्छन् ।

० सीके राउतसँग सहमति पश्चात् पनि पृथकतावादी धार आउने सम्भावना छ ?

— त्यो भन्न सकिदैँन । जहाँ असन्तुष्टि, विभेद र असमानता हुन्छ, त्यहाँ विद्रोह हुनु स्वाभाविक नै हो । सीके राउतले मुद्दा छोड्दै गर्दा त्यो हराउँदैन ।

० उहाँले आगामी निर्वाचनमा प्रदेश २ मा क्लिन स्वीप गर्ने दाबी गर्नुभएको छ, यसलाई कसरी लिनुहुन्छ ?

— उहाँको दाबी जायज हो । उहाँको नियत र नीति दुइटै स्पष्ट भयो भने केही न केही गर्न सकिन्छ । अहिले पनि उहाँको संगठनमा हेर्ने हो भने ५/७ जना मात्रै क्षमतावान वक्ता हुनुहुन्छ । त्यतिले मात्रै क्लिन स्वीप गर्न सक्नुहुन्छ ? प्रदेश २ मा रहेका राजपा–फोरम र अन्य दलहरूलाई मत आउँदैन ? आफूलाई नै सबभन्दा ठूलो मान्नु भनेको नै उहाँको ठूलो गल्ती हो । उहाँले सर्वप्रथम आफूमा भएको अहम् र घमण्ड फाल्नुपर्छ ।

० उहाँले अहिले जसरी खासगरी प्रदेश २ को सरकार र मधेशकेन्द्रित दलहरूप्रति कडा आलोचना गर्नुभएको छ । यसलाई कसरी हेर्नुहुन्छ ?

— अहिलेको अवस्थामा सबभन्दा बढी मधेश विरोधी सीके राउत नै हुन् । आज म उहाँबाट टाढिनुको कारण नै यही हो । मैले बारम्बार भन्ने गरेको थिएँ कि प्रदेश २ लाई मात्रै किन टारगेट गर्नुहुन्छ । मधेशी भूभाग र बसोबास अन्य प्रदेशहरूमा पनि छ । अन्य प्रदेशका मुख्यमन्त्रीहरूको किन आलोचना गर्नुहुन्न ? के त्यहाँ भ्रष्टाचार छैन ? प्रदेश २ मा पनि कांग्रेस र नेकपाका सांसदहरू छन् । तिनीहरूलाई विरोध नगर्नु र मधेशवादीको मात्रै विरोध गर्नु ठिक होइन ।

० भनेपछि उहाँले मधेशकेन्द्रित शक्तिलाई कमजोर मान्दै आउनुभएको छ ?

— उहाँको रणनीति पहिलादेखि नै हो । विगतको चुनावमा जसरी उहाँले नो भोटको प्रचार गर्नुभयो त्यसबाट मधेशी शक्तिलाई कमजोर गरियो । जतिबेला स्व.राम मनोहरको शव ६ महिनासम्म अस्पतालमै थिए, त्यतिबेला आवाज उठाउने मधेशकेन्द्रित दलहरू नै थिए । अरूलाई गालीगलोज गरेर अगाडि बढ्नु जायज होइन ।

० कोठली बाहर मतदान अभियान मधेशकेन्द्रितलाई कमजोर गर्नका लागि थियो ?

— त्यो बेला त ठिकठिकै लागेको थियो । तर, अहिलेको उहाँको व्यवहार हेर्दा मधेशकेन्द्रित दललाई कमजोर गर्नकै लागि थियो भन्ने लाग्छ । हामीले यस्ता कुराहरू उठाउँदा हामीजस्ता कैयौं साथीहरूलाई बाइपास गरिएको छ ।

० भनेपछि, कोठली बाहिर मतदात अभियान उहाँको दीर्घकालीन सोच थियो, जसको परिणाम अहिले पाउनुभएको छ ?

— हो, पाउनुभयो । उहाँले नो भोटको नाममा शक्ति देखाउनुभयो, त्यसलाई अहिले भजाउनुभएको छ ।

० तपाइँहरूले त्यो रणनीति नबुझेर अभियानमा लाग्नुभयो । अहिले त्यसको पश्चाताप गर्दै हुनुहुन्छ ?

— म मात्रै पश्चाताप गर्नु पर्दैन, मजस्ता हजारौं युवाहरू भोली पछुताउनुपर्ने हुन्छ । त्यसैले, कुनै संगठनमा लाग्दा पूरै कुरा नबुझिकन लाग्नु हुँदैन । किनभने, मेरो जुन सात सालको लगानी थियो त्यो त आज पानीमा गएको छ ।

० तपाइँ अब के गर्नुहुन्छ ?

— मेरो राजनीतिक क्यारियर डा.सीके राउतले समाप्त गर्नुभएको छ । तर, भोली म मधेश र मधेशीका लागि काम गर्ने नै छु । म कुनै न कुनै विकल्प खोज्ने नै छु । मेरो कार्यकाल सफल भएको हो । म अरू जस्तो केन्द्रीय सदस्यको लोभमा लागिन । संगठनभित्र बसेर डा.सीके राउतको गुलामी र विभेद सहन सक्दिँन । जुन गुलामी, विभेद र उपनिवेशका विरूद्ध हामीले संघर्ष गरेका थियौं, ती सबै कुरा जनमत पार्टीभित्रै छ । अहिले दुई तीन महिनासम्म डा.साहेबको रणनीति हेर्छु । यदि उहाँको नीतिमा सुधार आयो भने स्वतन्त्ररूपमा पनि बस्न सक्छु । मसँग अहिले सयौं साथीहरू छन् ।

तपाईको प्रतिक्रिया