प्रदेश २ को गठबन्धन टुट्दैन : विजय यादव (अन्तर्वार्ता)

आर्थिक मामिला तथा योजना मन्त्री

अन्तर्वार्ता

    २०७६ वैशाख २० गते शुक्रबार   

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रदेश २ मा पनि नेकपाकै सरकार आवश्यक रहेको भन्ने अभिव्यक्ति दिएपछि प्रदेश २ का सत्तारूढ दलहरू फोरम र राजपाले कडा आलोचना गरेका छन् । प्रदेश २ को सरकार मधेशी जनताको हितमा काम नगरेकोले अब नेकपाकै सरकार बन्ने प्रचण्डको दावीलाई प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले त्यसको कुनै सम्भावना नरहेको बताएका छन् । उनले प्रदेश २ मा फोरम र राजपाबीचको गठबन्धन नटुट्ने दाबी गरेका छन् । प्रदेश २ को सत्ता समीकरण, फोरमको महाधिवेशन तयारी, राजपा र नयाँ शक्तसँग एकीकरणको प्रक्रियालगायतका विषयमा मन्त्री यादवसँग मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंशः

० नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा नेकपाको सरकार बन्ने किसिमका अभिव्यक्ति दिनुभएको छ, यसलाई तपाइँले कसरी लिनुभएको छ ?

— प्रचण्डजीको यो व्यक्तिगत धारणा होला । उहाँ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षमध्ये एक हुनुहुन्छ र पूर्वप्रधानमन्त्री पनि हुनुहुन्छ । जनयुद्धदेखि अहिलेसम्मका उहाँका अभिव्यक्तिहरू हेर्दा त्यसमा कुनै तारतम्यता मिलेको देखिँदैन । उहाँले भनेजस्तै प्रदेश २ मा नेकपाको सरकार बन्ने अवस्था अहिलेसम्म छैन । उहाँले केही दिन पहिला पनि जनकपुरमै आएर यस्ता किसिमका कुराहरू गर्नुभएको थियो । तर, त्यो परिस्थिति आएन । नेपालको प्रधानमन्त्री भइसकेको मान्छे, परिवर्तनका वाहक जस्तो व्यक्तिले त्यत्रो जनयुद्धको उपलब्धिलाई नेकपामा विलय गरिदिनुभयो । पहिला त्यही प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी ओलीलाई गालीगलोज गर्नु हुन्थ्यो । तर, अहिले उहाँसँगै पार्टी मिलाएर एउटै पार्टीमा बसिरहनुभएको छ । उहाँ नेपालको राजनीति परिस्थिति परिवर्तन गर्न माहिर हुनुहुन्छ । तर, प्रदेश २ मा उहाँको केही पनि चल्नेबाला छैन । हामी आफ्नो बाटोमा अगाडि बढिरहेका छौं । हामी संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बचाउने अभियानमा छौं । अहिले संघीयतामाथि पनि खतरा देखिएको छ । प्रदेश २ को मात्रै होइन, सातै प्रदेशका मुख्यमन्त्रीहरू, स्थानीय प्रतिनिधिहरूले पनि यस्ता कुराहरू उठाइरहेका छन् । संघीयतालाई समाप्त पार्ने यस्ता किसिमका अभिव्यक्तिहरू आइरहेका छन् ।

० प्रदेश २ मा नेकपाको सरकार बन्ने सम्भावना छ त ?

— नेपालको राजनीतिक इतिहास हेर्दा १० वर्षभित्र व्यवस्था परिवर्तन हुँदै आएको छ । २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको मर्मअनुसार जुन संविधान बनाउने संकल्प थियो त्यसलाई जनयुद्धका शीर्ष नेताहरूले नै समाप्त पारिदिए । जनताको आकांक्षा विपरीत यो संविधान आएको हो । शासन गर्दै आएका केही सीमित व्यक्तिहरूलाई अहिले पनि यो व्यवस्था मन परेको छैन । संघीयता, लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्ने दायित्व फोरम नेपालको हो । हामी त्यही योजनाअनुसार अगाडि बढिरहेका छौं । संघीयतालाई समाप्त पार्ने षड्यन्त्र हामी सफल हुन दिँदैनौं ।

० तपाइँकै पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका अध्यक्ष प्रचण्डबीच प्रदेश २ मा सरकार बनाउने तयारी चलिरहेको छ नि ?

— यो कुरा अफवाह हो । उपेन्द्र यादव भनेको संघीय सरकारका मन्त्री हुनुहुन्छ । हुनसक्छ, त्यस्तो प्रस्ताव राखिएको होला । फोरम नेपाल सैद्धान्तिक र वैचारिक पार्टी हो । सरकार परिवर्तनबारे प्रदेश २ कै समितिबाट हुन्छ । संघीय सरकारलाई फोरम नेपालले संविधान संशोधनका लागि अल्टिमेटमसमेत दिइसकेको छ । संविधान संशोधन गरेर हाम्रा असन्तुष्टिहरूलाई समेटिने प्रयास गरिएन भने हामी संघीय सरकारबाट बाहिर पनि आउन सक्छौं । फोरम नेपाल संविधान संशोधनका लागि संघीय सरकारमा सम्झौता गरेर गएको हो । फोरम नेपालको तीन ‘स’ को नीतिे छ, सडक, सदन र सरकार । अहिले पनि हामी यी तीनवटै ठाउँमा हाम्रो उपस्थिति छ । सरकारमा हुँदा पनि हामी संघर्षमै छौं । हामीले संघीय सरकारलाई संशोधनको सुनिश्चितता गर भनेर अल्टिमेटम दिएका छौं । हामीले संशोधनका लागि समयसीमा माग गरेका छौं । त्यसैले, प्रदेश २ मा नेकपासँग फोरमले सरकार बनाउँछ भन्ने कुरा वाहियात हो ।

० तर, पूर्वप्रधानमन्त्री र सत्तारूढ दलका अध्यक्ष जस्तो व्यक्तिले प्रदेश २ मा नेकपाको सरकार बन्छ भन्ने किसिमका अभिव्यक्ति दिनुको केही न केही अर्थ त होला नि ?

— प्रचण्डको अभिव्यक्ति पछाडि नलागौं हामी । प्रचण्डका यस्ता अभिव्यक्तिहरू पहिला पनि आउने गरेका थिए । प्रचण्डले विगतमा केपी ओलीलाई तथानाम गालीगलोज गर्नु भएकै हो । तर, अहिले केपी ओलीसँगै पार्टी मिसाएर एकै ठाउँमा हुनुहुन्छ । उहाँले प्रदेश २ मा नेकपाको सरकार बन्छ भन्ने अभिव्यक्ति दिनुभएको छ, त्यो कुन आधारमा बन्छ भन्ने कुरा उहाँलाई नै सोध्नुस् । तर, प्रदेश २ मा राजपा र फोरमबीचको गठबन्धन टुट्दैन ।

० यदि नेकपा र फोरम गठबन्धनको सरकार प्रदेश २ मा पनि बन्यो भने कस्तो सन्देश जाला ? 

— फोरम नेपाल भनेको वैचारिक र सैद्धान्तिक पार्टी हो । हामी आफ्नो नीति र सिद्धान्तको आधारमा अगाडि बढ्छौं । यसमा जो कोही पनि आउन सक्छ । बाटो खुल्ला छ ।

० डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकताको प्रक्रिया कहाँसम्म पुग्यो ?

— डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग धेरै पहिलादेखि एकताका लागि वार्ता भइरहेको छ । सिद्धान्त र विचार मिल्नेसँग एकता गर्ने हाम्रो नीति नै हो । हामीले गत निर्वाचनभन्दा पहिलादेखि सिद्धान्त र विचार मिल्ने पार्टी, समूह र व्यक्तिसँग एकता, गठबन्धन र सहकार्य गर्ने नीति लिएका छौं । त्यहीं नीति अनुसार अगाडि बढिरहेका छौं । हामीसँग सिद्धान्त र विचार मिल्नेसँग एकता हुनसक्छ । हामीले त्यसका ढोका खुला राखेका छौं ।

० चुनावभन्दा पहिलादेखि एकताको प्रक्रिया भइरहेको छ, किन टुंगो लाग्न सकेन ?

— फोरम नेपाल सैद्धान्तिक पार्टी हो, हामीले जुन नीति तय गरेका छौं त्यो नीति अनुसार अगाडि बढिरहेका छौं । एकता भनेको सानोतिनो कुरा होइन । त्यसका विभिन्न कुराहरू मिलाउनुपर्छ । दुवै पार्टीबीच वृहत् विचार विमर्श आवश्यक हुन्छ । तलदेखि माथिसम्म विभिन्न कुराहरू मिलाउनुपर्ने हुन्छ । त्यसैले अहिलेसम्म टुंगो नलागेको हो । तर, हाम्रो नीति र सिद्धान्त एउटै बनिसकेपछि एकताको घोषणा हुन्छ । हामीले दीर्घकालीन रणनीति बनाउनुपर्छ । अब टुट र फुटको राजनीतिबाट माथि उठ्नुपर्ने आवश्यक छ । हामीले एकता गर्न लागेको दलसँग हाम्रो नीति र सिद्धान्त मिल्नुपर्छ । फोरमले तय गरेको नीति, सिद्धान्त र विचारमा जुनसुकै शक्ति आयो भने एकता हुनसक्छ । हामीले कसैका लागि बाटो बन्द गरेका छैनौं । जो हाम्रो लाइनमा आउँछ एकता हुन्छ । फोरमको नीति सिद्धान्तमा प्रचण्डजी आउनुभयो भने पनि हामी तयार हुन्छौं ।

० तर, फोरम र नयाँ शक्तिबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ पिन ?
— हाम्रो बैठक २१ गते बस्दैछ । फोरम नेपालमा कुनै व्यक्तिले निर्णय गर्ने होइन, सामूहिक छलफलबाट तय हुन्छ ।

० भनेपछि नयाँ शक्तिसँग एकताको प्रक्रियाबारे आधिकारिक जानकारी छैन तपाइँलाई ?
— म फोरम नेपालको केन्द्रीय पदाधिकारी पनि हुँ । मैले थाहा पाएअनुसार भन्दैछु ।

० फोरमले राजपासँग पनि एकताका लागि प्रस्ताव पठाएको थियो, यस विषयमा के हुँदैछ ?

— राजपासँग पनि धेरै पहिलादेखि एकता प्रक्रिया सुरू भएको हो । राजपा गठनभन्दा पहिला पनि सबै मधेशवादी शक्तिहरूबीच एकीकरण हुनुपर्छ भन्ने धारणा हामीले ल्याएका थियौं । त्यसमा केही हदसम्म सकारात्मक कुराहरू पनि भयो तर त्यो निष्कर्षमा पुग्न सकेन । केही प्राविधिक कुराहरू नमिलेर त्यो बेला एकता हुन सकेन । तर, हामीले निर्वाचनमा जाँदा गठबन्धन बनाएरै चुनाव लड्यौं र अहिले प्रदेश २ मा सरकार पनि चलाइरहेका छौं ।

० फोरमले नयाँ शक्तिसँग एकतालाई बढी महत्व दिएको र राजपालाई त्यति महत्व नदिएको देखिएको छ नि ?

— एकताका लागि राजपाले पनि आफ्नो तयारी गर्दैछ । हामीले कसैका लागि ढोका बन्द गरेका छैनौं । मुख्य कुरा नीति, सिद्धान्त र विचार मिल्ने शक्तिलाई प्राथमिकताको आधारमा राखेका छौं ।

० फोरम र राजपाबीच एकताका अप्ठ्याराहरू के–के छन् ?

— फोरम र राजपाबीच एकताका लागि कुनै समस्या छैन । फोरममा कुनै समस्या छैन, राजपाभित्रै समस्या देखिएको छ । राजपाभित्र ६ जनाको अध्यक्षमण्डल छ । उहाँहरूले महिनेपिच्छे संयोजक परिवर्तन गर्ने नीति बनाउनुभएको छ । राजपाको अधिवेशनपछि संस्थागतरूपमा आउँछ । त्यसपछि राजपासँग एकता गर्न सहज हुन्छ ।

० भनेपछि, छ जना अध्यक्ष हुँदा सबैसँग कुरा गर्नुपर्ने अप्ठ्यारा छन् ?

— हामीले नेतासँग एकता गर्न खोजेको होइन, पार्टीसँग एकीकरण चाहेका छौं । जुन बेला हामीले २२ बुँदे सम्झौता ग¥यौं, त्यो बेला गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेको होइन । तत्कालीन अवस्थामा प्रधानमन्त्रीको कुर्सीमा बसेको सरकारका प्रतिनिधिसँग गरेको हो । हाम्रो सम्झौता प्रधानमन्त्रीसँग भएको थियो । हामीलाई कुनै व्यक्ति विशेषसँग मतलब छैन । त्यसैले, हामीले राजपासँग एकताका लागि अहिले पनि पहल गरिरहेका छौं ।

० तपाइँहरू एकताको पहिलो महाधिवेशनको पनि तयारीमा हुनुहुन्छ, के छ प्रगति ?

— हामीले महाधिवेशनका लागि द्रूतगतिमा तयारी गरिरहेका छौं । महाधिवेशनका सबभन्दा अप्ठ्यारा कुरा हो वार्ड अधिवेशन हो । अहिले हामी विभिन्न तहहरूमा अधिवेशनहरू सम्पन्न गर्दैछौं । हामी पूर्ण तयारीमा छौं ।

० महाधिवेशनको मूल एजेन्डा के हो ?

— २१ गते हाम्रो नीति तय हुन्छ । हामीले तत्कालीन मधेशी जनअधिकार फोरमको प्रथम महाधिवेशन वीरगन्जमा ग¥यौं, त्यहीं नीतिअनुसार अहिलेसम्म अगाडि बढिरहेका छौं । फोरम नेपाल भनेको पूर्ण लोकतान्त्रिक पार्टी हो । कार्यकर्ताहरूको भावना र आकांक्षा अनुसार हामी नीति तय गर्छौं ।

० फोरम नेपाल संविधान संशोधनको सर्तमा संघीय सरकारमा सहभागी भएको हो, तर संशोधनका विषयमा कुनै प्रक्रियासमेत सुरू भएको छैन । कहिलेसम्म तपाइँहरू सरकारमा बस्ने ?

— संविधान संशोधनका लागि फोरमले सरकारलाई अल्टिमेटम दिइसकेको छ । हामी संविधान संशोधनप्रति एकदम सचेत छौं । फोरम नेपाल भनेको संस्थागत वैचारिक पार्टी हो । समग्र नेपालका जनताको भावनालाई समेटेर हामी निर्णयमा पुगिसकेका छौं । हामीले दिएको अल्टिमेटमअनुसार सरकारले काम गरेन भने हामी सरकारमा बसिरहने अवस्था हुँदैन । हामीसँग भएको सहमति पूरा गरिएन भने नेपालमा सुनामी जस्तै अवस्था आउनेछ । त्यो सुनामीले प्रतिक्रियावादीहरूलाई समाप्त पार्नेछ ।

० कहिलेसम्मको अल्टिमेटम दिनुभएको छ ?

— हामीले दिइसकेका छौं । सरकारबाट चिठ्ठी आएपछि थाहा हुन्छ । त्यहींआधारमा हामी आफ्नो नीति तय गर्छौं । कति दिनसम्म भनेर तय हुँदैन । हामीले सरकारलाई सुधार्न अल्टिमेटम दिएका छौं । आगामी २१ गते हाम्रो बैठक हुँदैछ, त्यसपछि हामीले मिति तय गर्छौं ।

० तपाइँ फोरम नेपालको मधेश प्रदेश समिति अध्यक्षमा निर्वाचित हुनुभएको छ । कतिका चुनौतीहरू देख्नुहुन्छ ?
— चुनौती केही पनि छैन । नीति, विचार र सिद्धान्त स्पष्ट हुनुपर्छ । त्यहीं लाइनअनुसार पार्टीलाई लग्नुपर्छ । हामीले यथार्थ कारणहरू दिएर काम ग¥यौं भने फोरम नेपाल आउने समयमा देशको एउटा वैकल्पिक शक्तिको रूपमा आउँछ । त्यसमा प्रदेश २ ले ठूलो भूमिका खेल्नेछ भन्ने विश्वास लिएर म प्रदेश २ समितिको अध्यक्षमा निर्वाचित भएको हुँ । मलाई जुन विश्वासका साथ मधेश प्रदेश समितिमा निर्वाचित गराइएको छ, त्यसको भावनाअनुसार पार्टीलाई अगाडि बढाउनेछु ।

० तपाइँ प्रदेश २ को आर्थिक मामिला तथा योजनामन्त्री पनि हुनुहुन्छ । प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गरेन भन्ने आरोप लाग्ने गरेको छ नि ?
— यो प्रदेशको अवस्था हेर्दा सबभन्दा दयनीय छ । हाम्रो तेस्रो समन्वय परिषद्को बैठक केन्द्रीय अर्थमन्त्रीको संयोजकत्वमा बसेको थियो । सो बैठकमा मैले प्रदेश २ को सबै तथ्यांकहरू प्रस्तुत गरेको थिएँ । कहीं न कहीं संघीयतामाथि खतरा आउने संकेत देखिएको छ । प्रदेश २ सरकारको अस्थायी राजधानी जनकपुरधाममा छ । प्रदेश सरकारसँग ३२ जना उपसचिवको दरबन्दी छ तर एउटा पनि छैन । सबभन्दा सम्वेदनशील मन्त्रालय भनेको अर्थ मन्त्रालय हो । प्रदेश २ को मात्रै यो समस्या छैन, सातवटै प्रदेशको अवस्था एउटै छ । कर्मचारी समायोजनको झेल नटुंगिएसम्म यस्ता समस्याहरू आइरहन्छ । संघीयताप्रति जसरी षड्यन्त्र भइरहेको छ, त्यसमा सातै प्रदेश एकमत छन् । हामी सबै प्रदेश एक भएकोले षड्यन्त्र गर्नेहरूको मनसाय पूरा हुन दिँदैनौं ।

० प्रदेश २ का मन्त्रीहरूले विभिन्न आर्थिक अनियमितता गरेको आरोपहरू छन् नि ? 

— खासगरेर प्रदेश २ को बेरूजु र संघ सरकारको बेरूजु तुलना गर्नुस् । संघ सरकारका भौतिकमन्त्रीका कतिको बेरूजु छ ? बेरूजु कर्मचारीका कारणले हुन्छ । पञ्चायतकालदेखि कर्मचारीतन्त्रको जुन मनोवृत्ति छ त्यसले समस्या भइरहेको छ । कर्मचारीहरू अहिले समायोजनमा त्रसित छन् । यहाँका न्यायपालिकाले पनि सही समयमा न्याय नदिएर समस्याहरू आएका छन् । कुनै पनि देशमा नयाँ व्यवस्था आउँदा समस्याहरू आउँछन् । नेपाल त झन् एउटा नयाँ मोडलमा गएको छ । जति राष्ट्रहरूमा नयाँ व्यवस्था आएपछि सुरूमा अलि समस्या आउँछ नै । त्यसैले यसमा आत्तिनु पर्दैन । विस्तारै सुध्रिदै जान्छ ।

० प्रदेशले नाम र स्थायी राजधानी टुंगो लगाउन गठन गरेको आयोगले पनि आफ्नो प्रतिवेदन तयार गरिसकेको छ । नाम र राजधानी तोक्न किन ढिलाइ भइरहेको छ ?

— प्रदेश २ को नाम र राजधानी अब छिट्टै आउँछ । सदन अहिले बन्द भएकोले त्यो प्रस्ताव पेश हुन सकेको छैन । सदन बन्द हुनुको कारण कर्मचारी नै हो । यहाँ प्रदेशस्तरका सबै सचिवहरूको सरूवा भइसकेको छ । सदन कसरी चलाउने ? यो अवस्था सबै प्रदेशमा छ । २० गतेदेखि सदन सुरू हुन्छ, त्यसपछि हामी प्रस्ताव दर्ता गराउँछौं र प्रक्रिया अगाडि बढ्छ ।

० आगामी बजेटका लागि प्रदेश २ मा केकस्ता योजनाहरू बन्दैछन् ?

— प्रदेश २ भनेको कृषि प्रधान प्रदेश हो । हामीले कृषिलाई उद्योगसँग जोडेर नीतिका आधारमा बजेट विनियोजन गर्छौं । त्यस्तै, हामीले शिक्षा, स्वास्थ्य, यातायात र ऊर्जा लगायतका क्षेत्रलाई हामीले विशेष प्राथमिकतामा राखेर बजेटका योजनाहरू बनाउँदैछौं ।

तपाईको प्रतिक्रिया