भट्टराई–यादवको मिलनको सन्देश (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल वैशाख २७ गते शुक्रबार ।   

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण भएको छ । यादव र भट्टराईले दुई पार्टी एकीकरण भई समाजवादी पार्टी नेपाल गठन गरिएको घोषणा गरेका हुन् ।

संघीय फोरमले अवलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्ति पार्टीले अवलम्बन गरेको समुन्नत समाजवादको आधारमा समुन्नत संघीय समाजवादको सिद्धान्तबाट अघि बढ्ने सहमति दुई पार्टीको छ ।
एकीकृत पार्टीको मूल सिद्धान्त संघीय समाजवाद हुने तय भएको छ ।

पार्टी एकीकरण घोषणा कार्यक्रममा प्रस्तुत गरिएको नौबुँदे आधारपत्रमा संघीय फोरमले अवलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्ति पार्टीले अवलम्बन गरेको समुन्नत समाजवादको आधारमा समुन्नत संघीय समाजवादको सिद्धान्तबाट अघि बढ्ने सहमति गरिएको छ । साथै संविधान संशोधनमार्फत देशका प्रगतिशील रूपान्तरण, दिगो विकास, समतामूलक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता गरिएको छ ।

एकीकृत पार्टीले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, बालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवं मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका तथा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैगरी एकीकृत पार्टीका मौलिक विशेषतामा संघीय शासन, समाजवादी व्यवस्था, सहभागितामूलक समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, सामाजिक न्याय, समतामूलक समृद्धि, लोककल्याणकारी राज्य र सामाजिक सुरक्षा, सुशासन, सदाचार, समाननुपातिक समावेशीकरण, स्वशासन र स्वायत्तता, सांस्कृतिक बहुलता, समानुपातिक निर्वाचन प्रणाली, पर्यावरणीय सन्तुलन, बहुलतायुक्त समाज र राष्ट्रिय एकतालाई राखिएको छ ।
फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरणसँगै मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको सम्भावना देखिएको छ । प्रायः राजनीतिक दलहरू चुनावको समयमा एकीकृत हुने र चुनाव सकिएलगत्तै विभाजित हुने प्रवृत्ति नेपाली राजनीतिमा देखिँदै आएको हो ।

तर, यसपटक भने त्यसको ठीक विपरीत निर्वाचनपछिको समयमा दलहरू एकीकृत भएका छन् । यसले यी दुई पार्टीबीचको एकीकरण क्षणिक स्वार्थका लागि मात्र नभएको कुरालाई संकेत गर्छ । प्रतिनिधिसभाको चुनाव सकिएको करिब डेढ वर्षपछि यी दुई पार्टीबीच एकीकृत भएको हो ।

मुलुकमा वास्तवमै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस भएको छ । तर, अहिलेकै अवस्थामा नवगठित दलले वैकल्पिक राजनीतिक शक्तिको रिक्त स्थान पूर्ति गर्न सम्भव छ ? यसको नेतृत्वमा जुन व्यक्ति छन् तिनीहरू अहिलेसम्म पनि वर्तमान राजनीतिकै केन्द्रमा रहँदै आएका पात्र हुन् । तैपनि उनीहरूमा राजनीतिलाई नयाँ ढंगले लैजानुपर्छ भन्ने सोच अवश्य नै पलाएको हुनुपर्छ । मुलुकमा कांग्रेस र कम्युनिस्टका दुई भिन्न धुरी देखिए पनि सत्तामा रहँदाको प्रवृत्ति उही छ । त्यो स्थितिलाई नयाँ दलले कसरी चिर्छ भन्ने प्रश्न पनि छ । बेलाबेलामा वैकल्पिक राजनीतिक धारको प्रसंग मुलुकमा चल्ने गर्छ ।

तर, तदनुकूल राजनीति भने अघि बढेको महसुस भएको छैन । डा. बाबुराम भट्टराईजस्ता राजनीतिक सुझबुझ भएका, उपेन्द्र यादवजस्ता मधेशको राजनीतिमा चिनिएका र अशोक राई जस्ता पहाडको जनजाति राजनीतिसँग जोडिएका व्यक्तिको त्रिवेणी हो, अहिलेको यो नयाँ दल । यसले मुलुकको संघीय गणतान्त्रिक राजनीतिलाई यथार्थमै जनमुखी बनाएर अघि बढाउने प्रतिबद्धताका साथ अघि बढेमा सर्वसाधारणले अविश्वास गर्ने छैनन् ।
फोरम पहिचानवादी राजनीतिक दल हो । हिजो अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँगको एकता स्वभाविक थियो । राजपासँग सहजै एकता हुनुपर्ने हो । तर, बाबुरामजीसँग कसरी एकता हुन गयो, त्यो शंकास्पद छ ।

यो एकतापछि तत्कालीन फोरमप्रति आस्था राख्ने मधेशी समुदाय र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीप्रति विश्वास राख्ने पहाडका आदिवासी जनजाति समुदायले अगामी दिनमा समाजवादी पार्टीलाई कसरी मूल्यांकन गर्ने हो, त्यो भविष्यले बताउँनेछ ।

तर, पुरानो नेपाली कांग्रेस र कम्युनिस्ट एकतापछि बनेको नेकपालाई सन्तुलन गर्न समाजवादी पार्टीले भूमिका खेल्न सक्ने राजनीतिक विश्लेषकको ठम्याइ छ ।
मधेशी नेताहरू अहिले पनि सत्ताकै परिक्रमा गरिरहेका छन् । मधेशमै आएर नेकपाले प्रदेश २ को सरकार विघटन गरिदिने चेतावनी दिएका छन् र सोही पार्टीको नेतृत्वमा रहेको संघीय सरकारमा उपेन्द्र यादव आफैं मन्त्री छन् । पहिचानवादी दलहरू फोरम र राजपाबीच फुट ल्याउन उद्धत रहेको नेकपासँग टाँसिनुले यादवको ढुलमुले राजनीतिक चरित्र प्रष्ट हुन्छ ।

फोरम र नयाँ शक्तिबीच एकीकरणपश्चात उत्तर अथवा दक्षिण कुन सिद्धान्तमा अघि बढ्ने हो त्यो पनि महत्ववपूर्ण पक्ष रहेको छ । वाम पृष्ठभूमिबाटै आएका यादव, राई र भट्टराई नेतृत्वको छुट्टाछुट्टै दल एउटै नेतृत्व अन्तर्गत समाहित हुनु नेपाली राजनीतिको लागि सुखद् पक्ष भए पनि राजनीतिक सिद्धान्त र विदेश नीति प्रष्ट नभएसम्म उत्साहित भइहाल्ने स्थिति भने छैन ।

तपाईको प्रतिक्रिया