‘देशलाई नै भावनात्मक रूपमा जोडेका छौं’ : उपेन्द्र यादव (सम्बोधन)

केन्द्रीय समिति अध्यक्ष, समाजवादी पार्टी नेपाल

विचार/दृष्टिकोण

    २०७६ साल वैशाख २७ गते शुक्रबार ।   

नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ दृष्टिकोण, विचार र आयामका साथ दुइटा पार्टी एकीकृत भई समाजवादी पार्टी, नेपालको गठन भएको छ । समाजवादी पार्टी नेपाल गठन भइसकेपछि कतिपय साथीहरूको मनमा अब मधेश आन्दोलनको मुद्दा के हुन्छ भन्ने चिन्ता परेको छ । सामाजिक सञ्चालमा पनि कतिपयले ‘फोरम’ शब्द पनि छुट्यो, मधेशको मुद्दा पनि छुट्ने भयो भनेर खुशियाली पनि मनाइरहेका छन् । कतिपयले आदिवासी जनजातिको मुद्दा, दलित, शिल्पी या मुस्लिम, थारू समुदाय लगायत विभिन्न उत्पीडित वर्ग समुदायको मुद्दा ओझेलमा पर्ने भो भनेर चिन्ता पनि हुन लागेको छ ।

म स्पष्टताका साथ भन्न चाहन्छु, अब ती मुद्दाहरू, विभेद र पछाडि पारिएकाहरूका मुद्दाहरू, तिनका पहिचान र न्यायका लागि लड्ने अब हिजोभन्दा अझ सशक्त पार्टी समाजवादी पार्टी, नेपाल भइसकेको छ । हिजो हामी बेग्लाबेग्लै लड्थ्यौं । केहीलाई खुशी पनि थियो कि मधेशीहरू एकातर्फ लडिरहेका छन्, आदिवासी जनजातिहरू अर्कोतिर लडिरहेका छन्, अब खसआर्यहरू आफ्नो धुनमा गइरहेका छन् । तर, अब चिन्ता उहाँहरूको सुरू भयो । खस–आर्य, आदिवासी जनजाति, मधेशी लगायत अन्य शोषित, पीडित जनताहरू सामाजिक न्याय, समानता, पहिचान, विभेदको अन्त्य र समाजवादी व्यवस्थासम्म जानका लागि सबै शक्ति एकताबद्ध भएर जान अगाडि बढिसकेका छन् ।

हिजो हामी अलग–अलग पार्टीमा, अलग–अलग झण्डा बोकेर लडिरहेका थियौं । अब समाजवादी पार्टीको झण्डामुनी गोलबन्द भएर त्यो लडाई अझ सशक्त हुने भएको छ । अब तराईको जनकपुर, वीरगन्ज, लहानमा आन्दोलन भयो भने निश्चितरूपमा गोरखा चुप लागेर बस्दैन । अब आन्दोलन धनकुटा वा सोलुखुम्बुमा भयो भने वीरगन्ज सुतेर बस्दैन । अब काठमाडौंमा आन्दोलन भयो भने पूरै मुलुक एकजुट हुन्छ । अब आन्दोलनले व्यापकता लिएको छ । अब जनताका मुक्तिका चाहनाहरू पूरा हुने सम्भावना बोकेर हामी अगाडि बढिसकेका छौं । त्यसले गर्दा जो हिजो खुशी थिए, अब तिनले चिन्ता व्यक्त गर्ने हुन् । तर, हिजो जसले उत्पीडन र पीडा भोगेका थिए, आज आशा, भरोसा र हिम्मतका साथ अगाडि बढ्ने छन् । हामीले मुख्यतः मुलुकमा परिवर्तनलाई अगाडि बढाउन चाहन्छौं ।

कुनै जमानामा निश्चितरूपमा नेपाली कांँग्रेसको राम्रै भूमिका थियो । उहाँहरूको वैचारिक आधार जन्मकालदेखि नै संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र हो । अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको छ । अहिले त उहाँहरूको गाडी नै बिग्रिसकेको छ, अगाडि बढ्न सकिरहेका छैन । कम्युनिष्ट पार्टीहरू, जसमा हामी पनि लामो समय लागेका थियौं, त्यो बेला हामी कम्युनिष्ट हुन लागेका थियौं । अहिले यसो फर्केर हेर्दा सबै कमाउनिष्ट भइसकेका छन् । अब कम्युनिष्ट भए पो कम्युनिष्टको कुरा गर्ने ।

कहिलेकाहीं साथीहरू भन्छन् कि अहिले कम्युनिष्टहरूकै बोलवाला हो, तर कम्युनिष्टहरूको होइन कमाउनिष्टहरूको बोलवाला हो । त्यहाँ विचार र सिद्धान्तबाट पदच्यूत भएर कमाउनिष्टको अवसरवादी धारमा अगाडि बढिसके । उनले भन्ने गर्छन्, यो संघीयता भन्ने कुरा त हाम्रो मुद्दै थिएन । जबर्जस्ती मधेश आन्दोलन भयो अनि हाम्रो काँधमा बोकाइदियो हो । बोकेर घिसा¥याछ, घिसा¥याछ । गणतन्त्र त छोडिसक्या थिए । संसारमा राजतन्त्र मान्ने कम्युनिष्टको नमूना नेपालमै थियो । संघीयता र समावेशिता कहिल्यै नीति नै उहाँहरूको थिएन । झन् यो पहिचान र समानुपातिक समावेशिता र समावेशी लोकतन्त्र भन्दा त कम्युनिष्टहरूलाई त हजार भोल्टको करेन्ट लाग्छ । तिनले अबको गतिलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर विगतका आन्दोलनहरूबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै मुलुकलाई गतिशील रूपमा परिवर्तनको लागि अगाडि बढाउन सक्दैन ।

आजकाल कम्युनिष्टका धेरै नेताहरू कम्युनिष्ट नाम त राखिहालेका छन् । कमजोर वा लुते भएपनि वीरबहादुर नाम राखेपछि उनलाई वीरैबहादुर भन्दिनुपर्ने हुन्छ । उहाँहरू भन्नुहुन्छ अब राजनीतिक आन्दोलन सकियो । अब आर्थिक परिवर्तन गर्ने अनि राजनीतिक आन्दोलन सकियो । उहाँहरूको यो कुरा एकदम सहि हो, राजनीतिक आन्दोलन सकिएकै हो । तर, कसको सक्या हो ? अब राजनीतिक आन्दोलन शोषित, पीडित जनताको अगाडि बढ्छ, उहाँहरूको सकिएको हो । अबको आन्दोलन समाजवादीहरूको अगाडि बढ्छ, कांग्रेस–कम्युनिष्टको सकिएको हो । त्यसकारणले अधिकार प्राप्तिको संघर्ष अगाडि बढाउन अब जुन शक्तिको आवश्यकता थियो मुलुकलाई त्यो शक्तिको निर्माण भइसकेको छ ।

मुलुकलाई पछाडि धकेल्न खोजिँदैछ । मुलुकलाई ४६ सालतिर धकेल्न खोजिँदैछ । अब ७६ वर्षको मानिसलाई कसरी ४६ वर्षको बनाउने हो । कांग्रेसहरू पछाडि लैजान खोजिरहेका छन् । तिनले मुलुकको लोकतान्त्रिक गणतन्त्रलाई न जोगाउन सक्छ, न अगाडि बढाउन सक्छ । प्राप्त भएका अधिकारहरूलाई सुरक्षित गर्ने, संस्थागत गर्ने कार्य कांग्रेस–कम्युनिष्टबाट सम्भव छैन । त्यसकारणले यसलाई अब संरक्षित गर्ने, संस्थागत गर्ने र यसको विकास गर्ने शक्ति समाजवादी शक्ति हो ।

दोस्रो, कुरा रह्यो आर्थिक समृद्धिको । कांग्रेस–कम्युनिष्टहरू सत्तामा आउनुभन्दा अगाडि यो मुलुकमा काठमाडौंमा बाँसबारी छालाको जुत्ता कारखाना थियो, हरिशिद्धि ईँटा टायल कारखाना थियो, हिमाल सिमेन्ट कारखाना थियो । विराटनगरमा जुट मिलहरू थिए, वीरगन्जमा चिनी कारखाना र कृषि औजार कारखाना थिए । हेटौंडा औद्योगिक क्षेत्र थियो, कपडाको कारखाना थियो । बुटवलमा धागो कारखाना थियो, नारायणी पारी भृकुटी कागज कारखाना थियो । थुप्रै कारखानाहरू थिए । त्यो बेला थोरै मान्छे मलेसिया, कतार जान्थे होला नभए जानुपर्ने अवस्था थिएन । ती कारखानाहरूलाई उदारीकरण र निजीकरणको नाममा कौडीको भाउमा बेचेर मुलुकको अर्थतन्त्र धरासायी गर्नेले देश बनाउन सक्दैन । त्यसले आर्थिक विकास गर्दैन । त्यो धारासायीले जनकपुर चुरोट कारखाना हरायो, त्यसले मुलुकको अर्थतन्त्र चौपट भयो ।

आफ्नो देश निर्माण गर्ने उमेरका युवायुवतीहरू, जसले यो देशको कायापलट गर्न सक्छ, आज विदेशको मरूभूमिमा ज्यान गुमाएर, खुनपसिना बगाएर बस्नुपरेको छ । आज एयरपोर्टमा हेर्नुहुन्छ, दिनहुँ पाँच÷सात हजार युवायुवतीहरू विदेश जाने र दिनहुँ पाँच÷सात वटा शव उताबाट आउने गरेका छन् । यो देन कसको हो ? यसको जिम्मेवार को हो ? जसले ती उद्योगधन्दाहरू बन्द गरे, जसले देशको अर्थतन्त्रलाई चौपट पारे, मुलुकमा लुट, कमिशनतन्त्र र भ्रष्टाचारलाई संस्थागत गरे तिनै यसका दोषीहरू हुन् । यी भनेका को हुन् त, अहिलेका कांग्रेस–कम्युनिष्टका नेताहरू हुन् । यिनले देश बनाउन सक्दैन । धेरै मुलुक हेर्ने अवसर प्राप्त भयो, आज नेपाल जति सुन्दर ठाउँ, संसारकै आकर्षक पर्यटन क्षेत्र हिमाल, यति राम्रो जडिबुटी र कृषि उपज हुने पहाड, दुनियाँकै अति उर्बर भूमि तराई र सबै ठाउँ नदी बग्ने त्यस्तो राम्रो भौगोलिक अवस्था र सांस्कृतिक विविधता भएको सयकडौं भाषाभाषी, जातजाति, धर्म, संस्कृति रहेको देशको रूपमा मैले संसारमा देखेको छैन ।
संसारको समृद्धि मुलुक बन्ने क्षमता नेपालमा छ । जलस्रोतलाई मात्र उपयोग गर्ने हो भने नेपालमा गरिबी, बेरोजगारी रहँदै रहँदैन । अरूबाट दान दक्षिणा लिएर विकास गर्छु भन्नै पर्दैन । हामीले पर्यटनलाई उपयोग गर्ने हो भने नेपाल समृद्ध मुलुकभन्दा अगाडि बढ्छ । कृषि र ह्युम्यान रिसोर्सलाई डेभलप गर्ने हो भने नेपाल संसारको समृद्ध मुलुकको दाँजोमा अगाडि बढ्न सक्छ । तर, अहिलेको अवस्था के छ भने नेपाललाई यिनीहरूले संसारको सबभन्दा दरित्र मुलुकको रूपमा पु¥याएको छ । संसारको दरित्रतम् मुलुकमा पु¥याउनेले विकास निर्माण गर्न सक्दैन । त्यसकारणले राष्ट्र निर्माण गर्ने, विकास गर्ने र समृद्धि ल्याउने कार्य अब समाजवादी पार्टीको काम हो ।
त्यसैगरी अब नेपाल संघीयता प्रणालीमा अगाडि बढेको छ । साँच्चिकै यसलाई संघीय प्रणालीमा रूपान्तरण गर्नुपर्ने हो । अब नेपालमा संघीय प्रणालीलाई समाप्त पार्छु र ४७ सालको भन्दा उता फर्काउँछु भन्ने सोच राख्नेले संघीय गणतन्त्रलाई संस्थागत गर्न सक्दैनन् । जसले जबर्जस्ती मधेश आन्दोलनबाट टाउकोमा थुपारियो भनेर बुझ्छन् तिनले यसलाई संस्थागत गर्दैनन् । आज संघीय गणतन्त्रलाई कमजोर पार्ने, विकृत्तिहरू उत्पन्न गराइदिने र अन्त्यमा समाप्त पार्ने खेलहरू खेलिँदैछ । त्यसले मुलुकलाई हित गर्दैन ।

नेपालको भविष्य भनेकै संघीय गणतन्त्र हो । त्यसकारण संघीयता जति बलियो हुन्छ, त्यति नै नेपाल शक्तिशाली हुन्छ । आन्तरिक एकता दह्रो हुन्छ र नेपालमा राजनीतिक स्थिरता हुन्छ । त्यसका लागि संविधान संशोधन गरेर प्रदेशहरूलाई अधिकार दिनुपर्छ । प्रदेशका मातहत स्थानीय तह रह्ने र प्रदेशहरूलाई साधनस्रोत, जनशक्ति र अधिकार सम्पन्न बनाउनुपर्छ । अनि मात्र संघीयता संस्थागत हुन्छ । हिजो संविधान बनाउँदा राज्य पुनर्संरचना आयोगले समेत सिफारिस गरेको र अन्य मुलुकहरूको पनि प्रचलन रहेको पहिचान र सामथ्र्यमा आधारित संघीय प्रणाली हुनुपर्छ र राज्य पुनर्संरचना गरिनुपर्छ । त्यो नगरि भौगोलिकरूपले जुन मात्र ध्यान दिइएको छ, यो गलत छ । यसलाई सच्याउनुपर्छ । अर्को, लोकतन्त्रलाई समावेशी बनाउनैपर्छ । सबै समुदायलाई सबैमा हिस्सेदार बनाउनैपर्छ ।

यो एक्काइसौं शताब्दी हो । सांस्कृतिक समाजवादको युग आइसकेको छ । एउटा कल्चरल ग्रुपले अर्को कल्चरल ग्रुपलाई विभेद ग¥यो भने त्यसले ठूलो संकट नै उत्पन्न गर्छ । इतिहासमा हामीले त्यहीं पढेका पनि छौं । त्यसले गर्दा नेपालजस्तो बहुभाषिक मुलुकमा एउटै मात्र सरकारी कामकाजी भाषा हुनसक्दैन । बहुराष्ट्रिय मुलुक देश हो यो । यसमा धेरै जातिहरू र भाषाहरू छन् । सबै भाषा र संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्छ । बहुभाषिक र बहुजातीय नीतिलाई अँगाल्नुपर्छ । संविधानमा बहुजातीय नेपाल हो भने एकल जातीय बनाउने जुन नीति छ, यो गलत हो । विविधतामा एकतालाई, एकतालाई विविधतामा सम्बोधन गर्नु महत्वपूर्ण आयाम हो ।

जब सबै जाति, भाषा, भेषभूषा, संस्कृति, समुदाय, व्यक्तिहरूको पहिचान, समावेशिता, सहभागिता सुनिश्चित गर्दै जब सामाजिक न्याय प्राप्त हुन्छ तब राष्ट्रिय एकता अत्यन्त बलियो भएर जान्छ । दुनियाँको अनुभव यही नै हो । यसका साथसाथै हामीले भनेका छौं सुशासन । अहिलेको जस्ता लोकतन्त्र, माफियातन्त्र र कमिशनतन्त्रको राज्य होइन । सुशासन, समानता, सामाजिक न्याय र नागरिक स्वतन्त्रता अत्यन्त महत्वपूर्ण पक्ष रहेको छ । यी सवालहरूको सम्मान गर्दै मुलुकलाई आर्थिकरूपले समृद्ध र सम्पन्न बनाउनुपर्छ । ताकि कुनै पनि नेपालीले नेपालमा रोजगार नपाएर खाडी मुलुकमा या विभिन्न मुलुकमा गएर खुन पसिना बनाउनु नपरोस् । कुनै पनि नेपाली नागरिकका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरोस् । कुनै पनि नागरिकको स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् । कुनै पनि नागरिक घरवारविहीन भएर सडकमा सुत्न नपरोस् । कुनै पनि नागरिक फलानो जातको भएकै कारणले अपहेलित र अपमानित हुन नपरोस् । कुनै पनि जातिका व्यक्तिहरू त्यो जातजातिको आधारमा होइन, उसको चेहराको रंगको आधारमा होइन, उसको वंशका आधारमा पनि होइन, उसको चरित्र, योग्यता र क्षमताको आधारमा मूल्यांकन हुनुपर्छ । उसले अवसर पाओस् । त्यस किसिमको राजनीतिक प्रणाली स्थापना गर्ने, समृद्ध नेपाल, समाजवादी नेपाल, विभेदरहित नेपाल, गरिबी–बेरोजगारीरहित नेपाल बनाउँछौं । वर्गीय उत्पीडन मात्र होइन, यो मुलुकमा वर्णको आधारमा पनि विभेद छ । वर्ग विभेद, वर्ण विभेद र लिंग विभेदरहित नेपाल निर्माण गर्ने पार्टी नेपालमा अब स्थापित भइसक्यो ।

यस घडीमा सबैलाई म बधाई दिन चाहन्छ । हामी सबै मिलेर नेपालमा नयाँ युगको सूत्रपात गर्दै नयाँ परिवर्तन ल्याउने शक्तिको रूपमा हामीले समाजवादी गठन गरेका छौं । यो गठनले नेपाललाई भावनात्मकरूपमा जोड्ने काम पनि गरेको छ । तराई, हिमाल र पहाड, क्षेत्रीय बाहुनदेखि लिएर जनजातिसम्म, दलितदेखि लिएर सबै समुदायलाई यसले जोडेको छ । मानव भूगोलको रूपमा, बसोवासको रूपमा हिमाल, पहाड र तराईलाई हामीले जोडेका छौं ।

विगतका शासकहरूले त्यसलाई विभाजित गरेका थिए । हामी जोड्ने काम गर्छौं । उनीहरूले विभाजन गर्छन्, हामीले जोडेका हौं । तर, विभेद र असमानता, जनजाति भएकै कारण विभेद सहनुपर्ने, महिला भएकै कारण अपमानित हुनुपर्ने, मधेशी भएकै कारणले विदेशी भनिनुपर्ने त्यस्ता मानसिकता र चिन्तनको जबसम्म अन्त्य हुँदैन, तबसम्म राष्ट्रिय एकतालाई दह्रो पार्न सकिँदैन । त्यसकारणले हामीले राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरेका छौं । यो पार्टी आर्थिक समृद्धि, विकास र संघीय गणतन्त्रको संस्थागत, समावेशी लोकतन्त्र लगायत जातीय, वर्गीय र वर्ण व्यवस्थाका कारण उत्पन्न भएका असमानता र विभेद समेतलाई समाप्त पारी एउटा समाजवादी गणतन्त्र, समावेशी लोकतन्त्र, भएको विभेदलाई अन्त्य गरी नेपाल निर्माण दिशामा अगाडि बढ्न हामीले यो पार्टी निर्माण गरेका हौं । यसलाई यहाँसम्म पु¥याउने, सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । 

यो हाम्रो सुरूवात मात्रै हो । हामी आह्वान गर्छौं र केही कुराकानी पनि भएका छन् राष्ट्रिय जनता पार्टी नेपालसँग । राजपा नेपाललाई पनि आह्वान गर्छौं, आउनोस्, एकताबद्ध होऔं । राजपालगायत अरू पार्टीहरूलाई पनि आह्वान गर्छौं । एकताबद्ध होऔं र परिवर्तनको दिशामा अगाडि बढौं । अब यसो ठाउँ–ठाउँमा सानोतिनो सटर खोलेर ग्राहक आइहाल्छ कि भनेर बस्ने युग गयो । अब आउनोस्, मिलौं । एकताबद्ध भएर अगाडि बढौं भन्ने अपील म राजपा, जनमुक्ति पार्टी लगायतका पार्टीहरू जो परिवर्तन र पहिचानका पक्षमा छन् । उहाँहरूलाई पनि आह्वान गर्न चाहन्छु । समाजवादी पार्टी सबैका लागि हो । सबै मिलेर अगाडि बढौं ।


(समाजवादी पार्टी नेपाल घोषणा समारोहमा यादवले गरेको सम्बोधनको सम्पादित अंश)

 

तपाईको प्रतिक्रिया