प्रदेश २ को सरकारलाई उपराष्ट्रपतिको सुझाव, सुशासनको लागि मात्र प्रतिस्पर्धा गर्नु

समाचार

राकेश यादव

       

रौतहट, ३१ बैशाख । उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ्गले नेपाली जनताले लामो समय राजनितिक संघर्षमा बिताएर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय सहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लगायतका उपलब्धिहरु प्राप्त गर्नुमा नेपाली सपूतहरुको धेरै योगदान रहेको बताएका छन् ।

उनले विभिन्न कालखण्डमा जनआन्दोलन, मधेश आन्दोलनहरुबाट मधेशी जनजाति, आदिवासी, पिछडावर्गहरु गरेका संघर्षबाट धेरै हदसम्म प्राप्त भएका अधिकारहरु संविधानमा सस्थागत भइसकेको दावी गरेका हुन् ।

रौतहट जिल्लाको कटहरियामा सोमवार आयोजित जानकी जयन्ती समारोहमा सम्वोधन गर्दै उपराष्ट्रपति पुनले संविधानमा सस्थागत भइसकेको उपलव्धीहरु प्रति गौरव गर्न अपील गरेका छन् । हरेक समुदायको आ आफ्नो पहिचानहरु रहेको बताउँदै उनले मधेशको रीतिरिवाज, भाषा संस्कृति र पहिचान रहेको जिकिर गरे ।

मधेशले ठूलो विभूतिहरु जन्माएको बताए । सीमामा कुनै समस्या हुँदा मधेशीहरुले सच्चा पहरेदारको रुपमा पर्खाल बनेर देश र सिमानाको रक्षा गर्दै आएको स्मरण गरे ।

उपराष्ट्रपति पुनले सबैको पहिचानलाई सम्मान गर्नु पर्ने सुझाव दिए । उनले भने हामीले एक अर्काको स्वाभिमान, पहिचानको सम्मान गर्ने सक्नु पर्छ अनि, मात्र एकता बलियो हुनसक्छ ।

राष्ट्रिय एकता, स्वाधीनता, भौगोलिक अखण्डता, सार्वभौमिकतालाई सुढृढ बनाउन बलियो बनाउन हरेक नेपालीले योगदान गर्नुपर्ने धारणा राखे ।

देश यथास्थानमा दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर रहेको भन्दै विकास, समृद्धि मुख्य प्राथमिकता रहेको बताए ।

समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय अभियानलाई सार्थक रुपमा सबैको योगदान रहनुपर्ने जोड दिँदै उपराष्ट्रपति पुनले सम्पूर्ण नेपाली जनता समृद्ध सुखी र खुसी हुन सके मात्र समृद्ध नेपाल बन्ने बताए ।

समृद्ध नेपालका लागि तराई–मधेश समृद्ध बन्नू पर्दछ, पहाड, हिमालको साथै रौतहट जिल्ला पनि समृद्ध बन्नू पर्ने टिप्पणी गरे । समृद्धिका लागि प्रशस्त आधारहरु रहेको बताए ।

हिमाल पहाडबाट झरेका नदीहरुलाई सिचाईमा परिणत गर्न सक्ने उल्लेख गरे । प्रकृतिको अनुपम उपहारको रुपमा रहेका प्राकृतिक संस्कृतिलाई पर्यटनको रुपमा रूपान्तरण गर्न सक्ने बताए ।

विकास समृद्धिका लागि आन्दोलन गर्नुपर्ने बेला आएको बताए । प्रदेश प्रदेश तथा स्थानीय तह अर्को स्थानीय तहसँग विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्नु पर्ने बताए ।

उनले प्रदेश २ का सरकारलाई विकास र समृद्धिको कार्यमा मात्र प्रतिस्पर्धा गर्नुपर्ने सुझाव दिएका छन् । सुशासन, विकास र समृद्धिको बाहेक कुनै विषयमा प्रतिस्पर्धा गर्न नहुने उनको भनाइ रहेको छ ।

भ्रष्टाचार, अनियमितता विकासको र समृद्धिको शत्रु भएकोले न्यूनीकरणका लागि तल्लोभन्दा तल्लो निकायले खबरदारी गर्नुपर्ने जरुरी रहेको बताए ।

प्रदेश २ विकास र समृद्धिको यात्रामा अवल सावित हुने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति पुनले विकास समृद्धिको लागि प्रचुर सम्भावना बोकेको प्रदेश समेत रहेको जिकिर गरे । सीताको नामले जीवन धन्य हुने बताउँदै सीता माताको आचरण, त्याग, व्यवहार, सतीत्वले नारीको सम्मान बढाएको बताए ।

त्रेता युगमा जन्मेकी महान नारीका विचारहरुलाई पूर्ण स्मरण र मनन गर्न जरुरी रहेको बताउँदै सीता जयन्ती समारोहले महिलामाथि हुने घरेलु, पारिवारिक, सामाजिक हिंसामा न्यूनीकरण हुनेमा आफु विश्वस्त रहेको बताए ।

उपराष्ट्रपति पुनले महान नारीको रुपमा रहेकी माता सीताको आदर्श विचारलाई मनन् गरेमा मानवको विचारमा परिवर्तन आउने दावी गरेका छन् ।

कटहरिया नगरपालिकाको आयोजनामा भएको महोत्सवमा सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याएका महिलाहरुलाई सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया