नेपालसँगको सम्बन्ध ऐतिहासिक उचाइमा : भारत

समाचार

       

काठमाडौं, ३१ वैशाख । भारतका उच्च अधिकारीहरुले विगत डेढ वर्षमा नेपाल–भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

भारतको दुई दिने भ्रमणका लागि दिल्ली आइपुगेको नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँगको अनौपचारिक भेटमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले विगत डेढ वर्षयता दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताइकी हुन् । उनले नेपाल–भारत सम्बन्धमा अहिलेसम्मकै उचाइमा पुगेको बताइन् ।

यसैगरी नेपाली पत्रकारहरुसँगै भएको बेग्लै भेटमा भारतीय विदेश सचिव विजय शेखर गोखलेले पनि भारतले सँधै नै छिमेकमा लोकतन्त्रको समर्थन हुँदै आएको र नेपालमा १९५० देखि सुरु भएको सम्पूर्ण लोकतान्त्रिक प्रक्रियाको सकारात्मक निष्कर्षमा पुगेको भारत खुशी रहेको बताए ।

त्यसैगरी नेपालमा डेढ वर्षअघि स्थिर सरकार बनेयता भएका समझदारी र सम्झौताहरुको कार्यान्वयन पक्षप्रति पनि गोखलेले सन्तोष व्यक्त गरे ।

नेपाली पत्रकारहरुसँगको भेटमा गोखलेले विगत पाँच वर्षमा नेपाल–भारतसम्बन्धमा देखिएको उतार चढावतर्फ संकेत गर्दै विगत बिर्सन नसकिने भए पनि सँधै त्यसमा अडिन नहुने समेत उल्लेख गरे ।

भारतीय विदेश सचिवले विगत डेढ वर्षमा पशुपति धर्मशाला, वीरगञ्ज एकीकृत जाँच चौकी, दुईवटा अन्तरदेशीय प्रसारण लाइन, दुई वटा अन्तरदेशीय रेलमार्ग, ६ महिनाभित्रै रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ र ट्राफिक सर्भेजस्ता उल्लेख्य कामहरु सम्पन्न भएको जानकारी दिए ।

त्यसका अतिरिक्त नेपाल र भुटानको अनुरोधअनुसार विद्युत व्यापारसम्बन्धी निर्देशिकाको समीक्षा भइसकेको र जलमार्ग सन्दर्भमा वाराणसी मल्टिमोडल टर्मिनल सञ्चालनमा आइसकेको र कालुघाट र शाहिबगंन्ज पनि तयार भइसकेको हुँदा त्यसलाई कसरी उपयोग गर्ने भन्ने नेपाल सरकारमा निर्भर रहने समेत गोखलेको भनाई थियो ।

साथै जग्गाअधिग्रहणलगायत जस्ता विषय कारण हुलाकी मार्ग र पाइपलाइनमा पनि केही ढिलाई भने परियोजना कार्यान्वयनका लागि नेपाल सरकारले देखाएको तत्परताको गोखलेले प्रशंसा गरे ।

 

तपाईको प्रतिक्रिया