सांसद यादवलाई कारवाही गर्ने चेतावनी

राजनीति

       

काठमाडौं, १ जेठ । समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव आफ्नो पार्टीलाई जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको विषयमा पार्टीले मुख खोलेको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यक्रममा पर्साबाट निर्वाचित सांसद यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए अनुशासनको कारबाही गर्ने समेत चेतावनी दिएका छन् ।

सत्तारुढ पार्टीकै सांसद ‘फ्रि तिब्बत’ अभियानमा सहभागी भएपछि चिनियाँ पक्षले असन्तुष्टि जनाएको छ । चिनियाँ असन्तुष्टिपछि अध्यक्ष एवं उपप्रधानमन्त्री यादवले सांसद यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको र यसबारे उनसँग स्पष्टिकरण लिइने बताएका छन् ।

यादवसँगै राजपा सांसद एकवाल अहमद शाह लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएका थिए ।

एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै समाजवादी पार्टीले विवादास्पद भ्रमणका क्रममा सांसद यादवले राखेको धारणाले पार्टीको विचारको प्रतिनिधित्व नगर्ने समेत प्रष्ट पारेको छ ।

अध्यक्ष यादवले सांसद यादवले ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा राखेको धारणा पार्टीको धारणा नभएको समेत स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया