कस्तो वैकल्पिक शक्ति ? (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल जेठ ३ गते शुक्रबार   

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरणसँगै मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको सम्भावना देखिएको छ । प्रायः राजनीतिक दलहरू चुनावको समयमा एकीकृत हुने र चुनाव सकिएलगत्तै विभाजित हुने प्रवृत्ति नेपाली राजनीतिमा देखिँदै आएको हो । तर, यसपटक भने त्यसको ठीक विपरीत निर्वाचनपछिको समयमा दुई दल एकीकृत भएका छन् । यसले यी दुई पार्टीबीचको एकीकरण क्षणिक स्वार्थका लागि मात्र नभएको कुरालाई संकेत गर्छ ।

राजनीतिमा तरंग ल्याउनसक्ने प्रतिभा र पार्टी दुवैको अभाव खड्किरहेका बेला पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवबीच राजनीतिक सहमतिले नयाँ बहस पनि सिर्जना गरेको छ । भट्टराई र यादवको एकीकरण राजनीतिक प्रणयका रूपमा मात्र होइन, यसले स्थायी र विश्वसनीय वैकल्पिक लोकतान्त्रिक ऊर्जा उत्पन्न गर्नसक्छ कि भनेर अपेक्षा बढाएको छ ।

७ दशकपहिले स्थापना भएको कम्युनिस्ट पार्टीमा अनेक चिरा भए तर अहिले ती विस्तारै एउटा भंगालोमा डालिन लागेका छन् । संघीय, प्रदेशसभा निर्वाचनका समयमा प्रमुख कम्युनिष्ट पार्टीबीच मात्र एकता भए पनि साना कम्युनिष्ट पार्टीहरूलाई समर्थन गर्ने वा साना कम्युनिष्ट पार्टीहरूले सहयोग गर्ने काम भएको थियो । यसका विपरित केही स्थानमा व्यक्तिगतरूपमा लोकतान्त्रिक उमेदवारहरूबीच तालमेल गरिए पनि आमरूपमा त्यो सफल भएको थिएन । यसैकारण संघीय र प्रदेश संसदमा लोकतान्त्रिक शक्तिको उपस्थिति अत्यन्त कमजोर हुन पुगेको छ । अहिले लोकतान्त्रिक शक्तिको पुरानो मियो नेपाली कांग्रेसले मात्रै कम्युनिष्ट निरंकुशता र सर्वसत्तावादको सामना गर्नु परिरहेको अवस्था छ । अर्को सशक्त लोकतान्त्रिक दलको अभावमा कांग्रेसको प्रस्तुति आक्रामक हुन सकिरहेको छैन ।

नेपाली कांंग्रेसमा केही नेता वा सदस्यहरूले व्यक्तिगतरूपमा परिवर्तनले स्थापित गरेका कतिपय मुद्दामा असहमति प्रकट नगरेका होइनन् तर संस्थागतरूपमा नेपाली कांग्रेस परिवर्तनप्रति पूर्ण प्रतिबद्ध देखिन्छ । अर्थात् आजको परिवर्तनलाई संस्थागत गर्नका लागि लोकतान्त्रिक शक्तिबीच लय अनिवार्य छ र त्यो लय विकास गर्न कमसेकम साना दलहरूको एकताले मद्दत गर्नेछ । यस्तोमा वैकल्पिक शक्तिको रूपमा आएको समाजवादी पार्टीको भूमिका अहम् छ ।

नेपालको राजनीतिक विकासक्रममा दलहरूले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि क्रान्ति वा आन्दोलनको सफलतापछि आफूलाई रूपान्तरण यात्रामा खरो उतार्न नसकेको महसुस सबैलाई भएको छ । त्यसमा पनि मौका पाइसकेपछि पनि आफूलाई इमानदार ढंगले प्रस्तुत गर्न नसक्दा सर्वसाधारणमा दलप्रतिको वितृष्णा पनि उत्तिकै बढ्ने गरेको पाइन्छ । यसकारण पनि नयाँ दलले आफूलाई आम जनताको विश्वास आर्जन गर्ने गरी अग्रसर गराउनुपर्ने देखिएको छ ।

नेतृत्वले सहनशीलता, समन्वय र सहिष्णुताका साथ सामूहिक निर्णयको व्यवहार अवलम्बन नगर्दा दलहरूमा मतभेद हुने गर्छ र यस्तो नयाँ पार्टीका नेतृत्वले समयमै विचार पु¥याउनु पर्छ । दलका सदस्यमा अनुशासन नभएर महत्वाकांक्षा बढेको अवस्थामा र समान पुस्ताका नेताहरूमा अति महत्वाकांक्षा र प्रतिशोधको मनोविज्ञानले काम गरेमा दलहरू विभाजित हुने वा एउटै दलमा रहँदा पनि तीव्र मतभेद हुने गर्छ । यी सबै नकारात्मक अवस्थालाई व्यवस्थापन गर्ने क्षमता र कुशलता नयाँ पार्टीको नेतृत्वमा हुनु जरूरी हुन्छ ।
मुलुकमा कांग्रेस र कम्युनिष्टका दुई भिन्न धुरी देखिए पनि सत्तामा रहँदाको प्रवृत्ति उही छ । त्यो स्थितिलाई नयाँ दलले कसरी चिर्छ भन्ने प्रश्न पनि छ ।

यद्यपी अहिले पनि नयाँ दललाई पत्याइसकेको अवस्था छैन किनभने दल नयाँ भएपनि पात्र पुरानै हुन् । भट्टराईजस्ता राजनीतिक सुझबुझ भएका, उपेन्द्र यादवजस्ता मधेशको राजनीतिमा चिनिएका र अशोक राई जस्ता पहाडको जनजाति राजनीतिसँग जोडिएका व्यक्तिको समूहले पक्कै पनि दूरगामी प्रभाव पार्ने विश्वास गर्न सकिन्छ  ।

तपाईको प्रतिक्रिया