समाजवादीसँग एकता गर्न अप्ठयारो छैन : सत्यनारायण मण्डल

उपाध्यक्ष, राष्ट्रिय जनता पार्टी नेपाल

अन्तर्वार्ता

    २०७६ साल जेठ ३ गते शुक्रबार   

० फोरम नेपाल, नयाँ शक्ति र राजपाबीच एकताको कुरा चल्दै थियो तर, फोरम र नयाँ शक्तिले समाजवादी पार्टी घोषणा ग¥यो । राजपा किन अटाएन ?

— राजपा नेपाल निर्माणको उद्देश्य नै डेढ करोड मधेशीहरूको हक अधिकार दिलाउने हो । वर्तमान संविधानमा धेरै त्रुटिहरू छन् । त्यसैले अहिलेसम्म मधेशले नेपालको संविधान २०७२ लाई मान्यता नै दिएको छैन । त्यो संविधानको विरूद्धमा हामी संविधान दिवसलाई कालो दिवसको रूपमा मनाउँदै आएका छौं । त्यो संविधानलाई संशोधन गरी सबैको हकअधिकार स्थापित गराउनका लागि राजपा नेपालको गठन भएको छ । राजपाले त्यो उद्देश्य प्राप्तिका लागि नै कुनै दलसँग एकता वा सहकार्य गर्ने हो । तत्कालीन फोरम नेपाल र वर्तमान समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशवाद नै छैन, मधेशवाद के हो भन्ने कुराहरू गर्न लाग्नुभयो । विस्तारै मधेशवादको इथिक्सबाट उपेन्द्र यादव अलग्गिँदै जानुभयो । तर, केही दिन पहिला फोरम नेपालले राजपालाई एकताका लागि पत्र पठायो । त्यसका लागि राजपाले पनि वार्ता समिति बनायो र पत्रको आदानप्रदान भयो । सुरू–सुरूमा संशोधन होइन पुनर्लेखन गराउनुपर्छ भन्ने उपेन्द्र यादव अहिले सरकारमै हुनुहुन्छ । त्यो एकीकरणको बाटोमा अलिकति बाधा देखिएको हो । राजपाले त्यसको आधिकारिकताको बारेमा प्रश्न उठाएको छ । अधिकार प्राप्तिको बाटोमा जब हामी एक छौं भने तपाइँ सरकारमा पनि बसिरहने यो अलिकति मिलेन । सरकारबाट फिर्ता हुनुप¥यो । त्यसपछि हामी समग्ररूपमा एउटा टिओआर बनाऔं र त्यसमा एकता गरौं । त्यसमा त्यसबेलाका फोरम नेपाल र हालका समाजवादी पार्टी नेपालले त्यति उत्सुकता नदेखाएकोले एकता प्रक्रिया अहिलेसम्म पत्राचारमै सीमित छ । राउण्ड टेबुलमा एकता वार्ता अगाडि बढ्न सकेन ।

० भनेपछि फोरम सरकारबाट बाहिरिन नचाहँदा राजपा एकीकरण प्रक्रियामा आएन ?

— हामी अहिले पनि एकताबाट पछि हटेकै छैनौं । मुद्दा मिल्ने शक्तिहरूसँग एकता होस् भन्ने हामी चाहेकै छौं । जुन बेला फोरम नेपाल, जनमुक्ति पार्टी, नयाँ शक्तिबीच एकताको कुरा चलिरहेको थियो त्यसमा डा.बाबुराम भट्टराई राजपालाई पनि निम्तो गरेको थियो । तर, फोरम र नयाँ शक्तिबीच धेरै पहिलादेखि नै एकता वार्ता चलिरहेको थियो । उहाँहरूबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगिसकेको थियो । तर, राजपासँग त पत्रको आदानप्रदान मात्र भएको थियो । फोरम नेपाल सरकारबाट बाहिर पनि आइसकेको थिएन । त्यसकारणले, नयाँ शक्ति र फोरमबीच एकता भयो ।

० अब राजपा नेपाल कसरी अगाडि बढ्छ ?

— आगामी कार्तिक २८ देखि ३० गतेसम्म हाम्रो एकता महाधिवेशन हुँदैछ । महाधिवेशनका लागि पनि हामीले सघनरूपमा तयारी गरिरहेका छौं । अहिले पनि राजपा नेपाल र नवगठित समाजवादी पार्टीबीच एकताका लागि राउण्ड टेबुलमा बसेर प्रक्रिया सुरू भइसकेको छैन । हाम्रा अध्यक्षहरूसँग अनौपचारिकरूपमा वार्ता भइरहेको छ । तर, यसमा दुवै तर्फबाट तदारूकता नदेखाएकोले निकट भविष्यमा एकता वार्ता सुरू हुने वा एकता हुने कुनै लक्षण देखिएको छैन ।

० नयाँ शक्ति र फोरमको एकता घोषणा कार्यक्रममा सार्वजनिक रूपमै अध्यक्ष उपेन्द्र यादवले राजपालाई एकतामा आउन आह्वान गर्नुभएको छ नि ?

— हाम्रा मधेशका मुद्दाहरूलाई जबसम्म हामीले एकताबद्धरूपमा संघर्ष गर्दैनौं तबसम्म संविधान संशोधनमार्फत् समाधान हुनेवाला छैन । यसकारणले हामी एकताबद्ध हुनैपर्छ । राजपाले समाजवादी पार्टी मात्रै होइन मधेशका शक्तिहरू जो अहिले छिन्नभिन्न अवस्थामा छन्, ती सबैलाई गोलबद्ध हुन आह्वान गर्दछ । मधेशको मुक्ति र हक अधिकार स्थापित गराउन चाह्ने नेतृत्ववर्ग, चाहे त्यो जुनसुकै पार्टीमा होस्, सबै एक ठाउँमा आएर एकबद्ध हुन आह्वान गर्न चाहन्छु । हामी एकताबद्ध भएर सरकारलाई दबाब दिँदै जसरी भए पनि संविधान संशोधन गराएर हामी आफ्नो मुद्दाको किनारा लगाऔं । जहाँसम्म कुरा छ कि उपेन्द्र यादवले हामीलाई एकतामा आह्वान गर्नुभएको छ, त्यसको हामी सराहना गर्छौं । समाजवादी पार्टीले यदि इमान्दारीपूर्वक राजपा नेपालसँग एकता चाहन्छ भने राउण्ड टेबुलमा एकता वार्तामा बसेर एउटा निश्चित टिओआरको आधारमा मधेशको मुद्दालाई सम्बोधन गराउने प्रेरणाका साथ हामी एकता गरौं ।

० समाजवादीमा दुई जना अध्यक्ष छन्, राजपामा ६ जना । अब तपाइँहरू एकता गर्दा आठ वटा अध्यक्ष बनाउने ?

— आगामी कार्तिक २८ देखि ३० गतेसम्म राजपाको महाधिवेशन हुँदैछ । हाम्रो नयाँ विधान जुन बनिरहेको छ, त्यसमा हामीले एकल अध्यक्षीय प्रणालीको परिकल्पना गरेका छौं । आगामी महाधिवेशनबाट राजपामा पनि एकल अध्यक्षीय प्रणाली लागू हुनेछ । राजपा नेपाल पनि एकल अध्यक्षीय प्रणालीमा जाने हुनाले समाजवादीसँग एकता गर्दा समस्या हुँदैन । मधेशको मुद्दा सम्बोधन गराउने उद्देश्यका साथ एकता वार्तामा बसेर एकता हुनुपर्छ ।

० राजपाका नेताहरू अध्यक्ष बन्नकै लागि लालायित देखिएका छन्, महाधिवेशनबाट एकल अध्यक्षीय प्रणालीमा जाँदा बाँकी नेतृत्ववर्ग अर्काको अस्तित्व स्वीकार्नुहुन्छ ?

— यो त विधानले निर्धारण गर्ने हो । महाधिवेशन पनि त्यसैका लागि हुन्छ । राजपाले जुन प्रकारले आफ्नो विधानको परिकल्पना गरेको छ, त्यो विधानमा निर्देशित गरिएअनुसार नै विभिन्न पदहरूका लागि राजपामा रहेका उच्च पदका नेताहरू र कार्यकर्ताहरूको समायोजन हुन्छ । को कहाँ समायोजन हुन्छ त्यो कुरा महाधिवेशनले तय गर्ने हो । महाधिवेशनले जुन प्रकारको विधान पारित गर्छ त्यसअनुसार नै नेताहरूको पनि समायोजन हुन्छ ।

० तपाइँहरूले जहिले पनि संविधान संशोधनको कुरा उठाउनु हुन्छ तर के–के विषयमा र केका लागि संशोधन गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले कुरा गर्न आह्वान गर्नुभएको छ । तर, तपाइँहरूले संविधान संशोधनलाई बेमौसमी गानाको रूपमा गाउँदै आउनुभएको भन्ने आरोप प्रधानमन्त्रीले लगाउनु भएको छ नि ?

— वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको जुन प्रकारको भाषा छ, त्यो एउटा पढेलेखेका राजनीतिकरूपमा बोलिने भाषा होइन । तीन दर्जनभन्दा बढी पटक हामीसँग प्रधानमन्त्रीको कुरा भइसकेको छ । हामीले कयौंपटक हाम्रा माग र मुद्दाहरू लिखितरूपमा पनि अल्टिमेटम दिइसकेका छौं । राजपाका सांसदहरूले संसदको रोष्ट्रमबाट संशोधनका मुद्दाहरूका बारेमा कयौं पटक प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेका छन् । हामीले लिखितरूपमा पनि दिइसकेका छौं । यस्तो हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले जुन प्रकारले चरित्र देखाइरहनु भएका छन्, जातीय विद्वेष फैलाउने खालको जुन अभिव्यक्ति दिनुहुन्छ त्यसले निश्चत नै देशमा शान्ति स्थापित हुन नदिने उद्देश्य देखिन्छ ।

हामी दर्जनौं पटक हाम्रा मागहरूका बारेमा अल्टिमेटम दिइसकेका छौं, उहाँको टिमसँग कुरा गरिसकेका छौं । पटक–पटक हामीले वार्ता गरिसक्यौं । तैपनि उहाँले केका लागि संविधान संशोधन भनेर बुझ्नु भएको छैन भने यो निश्चितरूपमा जातीय विद्वेष फैलाउने, देश विखण्डन गर्ने, देशमा शान्ति स्थापित हुन नदिने, समृद्धि ल्याउन नदिने उहाँको व्यक्तिगत स्वार्थ छ । यसकारणले, प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्तिको म घोर निन्दा गर्दछु । उहाँ तीन करोड नेपाली जनताको प्रधानमन्त्री हुन् । उहाँले हाम्रो मुद्दा सम्बोधन गर्नका लागि राजपा नेपाललाई बोलाएर कुरा गर्नुपर्दथ्यो । तपाइँहरूको माग के हो भन्ने कुरा हामीसँग छलफल गर्नुपदथ्र्यो । तर, उहाँले हामीसँग कुरा नगरेर सार्वजनिक रूपमा यस्तो कुराहरू गरेर जातीय सद्भाव बिगार्ने र जातीय उन्माद फैलाउने काम गरिरहनु भएको छ । उहाँले प्रधानमन्त्रीको हैसियतले जुन गर्नुहुन्छ त्यो ठिक छैन । उहाँले प्रधानमन्त्रीको हैसियतलाई धेरै तल झारेर कुरा गरिरहनुभएको छ ।

 (मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया