मधेश र पहाडको उत्पीडनको कथा

संगीता रेग्मी

विचार/दृष्टिकोण

    २०७६ साल जेठ ३ गते शुक्रबार 1 Shares   

‘तपाईकी श्रीमतीले किन पुरै अनुहार सारीले छोपेर बस्नुहुन्छ नि’
दिलबहादुरको प्रश्नसँगै फुलचन यादवले हाँसेर जवाफ दिए–
‘नै परतै से त हम कहबै कैली, लेकिन अप्पन रित कहिके करैत आएल छैं’
(मैले त पर्दैन भनेकै हो, आफ्नो परम्परा भनेर गर्दै आएकी छिन्)
गह्रौं भारी बोकेको आफ्नो बयलगाडा हिलेमा फँसेपछि निकाल्न फुलचन यादवले धेरैसँग सहयोग माग्छन् तर आफ्ना वरपरका छिमेकीहरू कसैले उनलाई सहयोग गर्दैनन् । धानको बीऊ खोज्न पहाडबाट मधेश झरेका दिलबहादुरले अन्त्यमा उनलाई सहयोग गछ्र्रन् र बयलगाढा हिलोबाट निकालेरै छोड्छन् ।

दिलबहादुरको यही सहयोगबाट प्रभावित मधेशी समूदायका फुलचन र पहाडी समुदायका दिलबहादुरबीच मित्रता झाँगिन्छ । फुलचनले दिलबहादुरलाई आफ्नो घरसम्म लैजान्छन् र धानको बीउ उपलब्ध गराउँछन् । मधेशका जमिन्दार जस्तै लाग्ने फुलचनसँग प्रशस्त जग्गा जमिन हुन्छ । उनले मधेशको धान पहाडमा लगेर फैलाउनु भन्दै मात्र एक रूपैयाँमा १० के.जी जति धानको बीऊ दिलबहादुरलाई दिएर पठाउँछन् ।
दिलबहादुर र फुलचनको मित्रता यत्तिकैमा सकिँदैन । दिलबहादुर निस्कनै लाग्दा फुलचन अप्ठ्यारो मान्दै भन्छन्– ‘हमरा एकटा गप पुछ के मन अई दोस्त ! अपना दुनु लोग के विचार भी मिलैया, साथी भए गैलौं, आब मित लगा लिअ ।’
(मलाई एउटा कुरा सोध्न मन छ मित्र, हामी दुई जनाको विचार पनि मिल्छ, साथी पनि भर्ईहाल्यौं बरू अब मित लगाउँ)
फुलचनको अनुरोधमा दिलबहादुर आफू घरसल्लाह गरेर जवाफ दिने भन्दै पहाडतिर लाग्छन् । त्यसको केही दिनपछि केही सगुनसमेत बोकेर फुलचन दिलबहादुरको घर पुग्छन् । श्रीमती र छोरासहित पहाड गएका फुलचन पहाडका उकालो ओरालो बाटोघाटो छरिएर रहेका घर, टहरा देखेर अचम्मित हुन्छन् । घरसल्लाह बमोजिम नै फुलचन र दिलबहादुरले टोपी र पगडी साट्दै मित लगाउँछन् । पगडी र टोपीसँगै साँटिएको मित्रतामा पहाडी र मधेशी संस्कृतिको समीश्रण हुन्छ ।
‘मितज्यू, तपाईलाई त कति राम्रो देखिएको यो ढाका टोपीमा’–दिलबहादुर फुलचनलाई ढाका टोपी लगाइदिँदै भन्छन् ।
मधेशमा विशेष पर्वको रूपमा मनाइने छठ पर्वमा दिलबहादुर आफ्नो श्रीमती र छोरालाई लिएर मितज्यूको घर पुग्छन् । फुलचनले छठी मातासँग आफ्नो मित्रता सधैं यस्तै रहिरहोस् भनेर वरदान समेत माग्छन् । यसरी समुधुर रूपमा अगाडि बढिरहेको सम्बन्धमा भोटको राजनीतिले प्रवेश गर्छ । राजनीतिक विवादले मितलाई कसरी अलग्याउँछ भन्ने ‘मिता आब कोन चलब’ नामक मैथिली नाटकले देखाउन खोजेको छ ।

‘तँ मरेको दिन यो सारा गाउँलेहरूलाई मासुभात खुवाउन सकिन भने म पनि ढाका टोपी होइन’–दिलबहादुर आफू पहाडी भएकोमा गर्व गर्दै ढाका टोपीको बखान गर्न थाल्छन् र फुलचनलाई मधेशी भएकोमा अपमान गर्न समेत पछि पर्दैननन् । मित लगाउँदा आपसमा साटासाट गरेका घडी र रेडियो पनि फिर्ता गर्छन् फुलचन र दिलबहादुरले ।

राजनीतिले धाँजा फाँटेको मनलाई सांस्कृतिक सम्बन्धले कसरी सिलाउन सक्छ भन्ने यो नाटकले उठान गर्न खोजेको विषय हो । जनआन्दोलनबाट हामीले लोकतन्त्र त प्राप्त ग¥यौं तर लोकतन्त्र प्राप्त गर्दा पहाडी र मधेशीबीच जुन दरार आएको थियो, त्यो मनलाई जोड्ने सेतुको रूपमा यो नाटक मञ्चन गरिएको लेखक तथा निर्देशक रामभजन कामत बताउँछन् ।

पहाडी र मधेशी एक हो र दुई समुदाय नमिलेसम्म न संस्कृतिको कल्पना गर्न सकिन्छ न त विकास र समृद्धिकै सपना साकार हुन सक्छ भन्ने यो नाटकको आशय हो । नेपाली र मैथिली भाषामा प्रदर्शित नाटकले समृद्ध मुलुक बनाउन मित्रताको भावना आवश्यक रहेको सन्देश दिएको छ । नाटकले ‘मितज्यू अब कसरी जाने’ भन्ने प्रश्नको उत्तर दर्शकबाट नै अपेक्षा गरेको छ ।

राजनीति त परिवर्तनको मुख्य संवाहक हो । व्यवस्थाहरू परिवर्तन गर्ने मुख्य श्रेय राजनीतिलाई नै जान्छ । विभिन्न आन्दोलनहरू पार गर्दै अहिले हामी गणतन्त्रतात्मक लोकतान्त्रिक व्यवस्था अबलम्बन गरेर अगाडि बढिरहेका छौं । तर, राजनीतिक रूपमा मात्र परिवर्तन खोज्दैं गर्दा जात, धर्म, समुदाय, लिंगको नाममा सामाजिक र सांस्कृति रूपमा हामी कसरी टाँढिदैं गएका छौं भन्ने विषयमा सरोकारवालाहरूले ध्यान दिन जरूरी छ । यस्ता नाटकले समाजको यर्थार्थ चित्रण गर्न सहयोग गर्दछ ।

२०६२/६३ सालको जनआन्दोलन र त्यसपछि पटक–पटक भएको मधेश आन्दोलनपछि पहिचान र अधिकारका नाममा विभिन्न जातीय र क्षेत्रीय आन्दोलनहरू भए । मधेशका नाममा हुने गरेको राजनीति र पहिचानको नाराभित्र मधेशी र पहाडी समुदायबीचमा द्वन्द्व निम्त्याउन खाजेको भन्नेहरू प्रशस्तै छन् । यसो भन्नेहरूले सत्यको अर्को पाटोलाई भने बिर्सिएझै लाग्छ । किनकि मधेश र पहाडबीचमा राजनीति भन्दा बलियो सामाजिक सम्बन्धहरू पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया