बधाई मोदी ! (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल जेठ १७ गते शुक्रबार ।   

भारतीय राजनीतिका चर्चित नेता नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा पुनः निर्वाचित हुनु भएको छ ।

मोदीले आफ्नो सपथलाई विशेष बनाउँदै छिमेकी राष्ट्रहरूलाई आमन्त्रण गर्नुभयो । उनको सपथ ग्रहण समारोहमा सार्क राष्ट्रका पाकिस्तान, अफगानिस्तान, माल्दिभ्सबाहेक र बिम्स्टेक सदस्य राष्ट्रहरूलाई बोलाइएन । यसका अतिरिक्त किर्गिस्तान र मौरिससलाई पनि निम्ता गरिएको थियो । सन् २०१४ मा मोदीको पहिलो शपथमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ सहभागी भएका थिए । तर यसपटक पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई आमन्त्रण गरिएन ।

भारत आफैँमा विविधताले भरिपूर्ण मुलुक हो । यहाँ अमेरिकामा भन्दा चार गुणा बढी मतदाता छन् । यसपटकको निर्वाचन हिंसारहित ढङ्गले शान्तिपूर्ण रूपमा सम्पन्न भयो । निर्धारित मितिमा निर्वाचन परिणाम पनि आयो । यति धेरै मतदाता भएको मुलुकमा निर्धारित मितिमै निर्वाचन परिणाम निकाल्नु आफैँमा महत्वपूर्ण काम हो ।
पाकिस्तान, चीन, भुटान, म्यानमार, बङ्गलादेश तथा नेपाल भारतसित सीमा जोडिएका देश हुन् । यस चुनावको संश्लेषण, विश्लेषणमा अन्तर्राष्ट्रिय समुदायसँगै छरछिमेकको चासो रहनु स्वाभाविक हो । झन्डै एक हजार ८८० किलोमिटर सीमारेखा जोडिएको भारतसित नेपालको घनिष्ठ सम्बन्ध छ । दक्षिण, पश्चिम तथा पूर्वी नाका भारतसँगै रहनुले पनि द्विदेशीय सम्बन्धको अभिन्नताको चिनारी दिएको छ । भौगोलिक समानता तथा निकटता, सांस्कृतिक एकरूपतासहित परम्परागत पुरासम्बन्धले पनि नेपाल भारतबीच विशिष्टखाले सम्बन्ध कायम रहेको छ ।

नेपालीहरू भारतका तीर्थमा नगई नतर्ने र भारतीयहरू नेपालका तीर्थमा नआई मुक्ति नपाउने सनातन परिपाटीले पनि सुसम्बन्ध विस्तारको विकल्प छाडेको छैन । तैपनि, सम्बन्धको गाडी ‘स्टाण्डर्ड गेज’मा बुलेट ट्रेनझैँ नकुदी किन ‘न्यारोगेज’मा कालोधुवाँ छाड्दै कछुवा तालमा छुकछुकिन विवश भइरहेकोे छ ? यसको सही उत्तर र समाधानको खोजी आजको आवश्यकता हो ।

निदान बिनाको उपचार बेकम्मा ठहरिन सक्छ तर नेपाल भारतबीच रहे, भएका समस्या सल्टाई सही दिशा पहिल्याउन यतिखेर ‘नेपाल भारत प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी)को प्रतिवेदन आशाको किरण बनेको छ । चुनावको मुखमा कसैको मुहार नअमिल्याउने भनी थाती राखिएको प्रतिवेदन जतिसक्दो छिटो ग्रहण गरी सम्बन्ध विस्तारतर्फ अभूतपूर्व ऐतिहासिक फड्को मार्न सुरम्य वातावरण बनेको छ ।

विगतका सन्धि, सम्झौता, सहमतिलाई युगानुकूल तुल्याउने, सुस्ता, कालापानीलगायत सबैतिरका सीमाविवाद सल्टाउने, डुबान समस्या निराकरण गर्ने, कोशी, गण्डकपीडितलाई क्षतिपूर्ति दिने, चालु योजना निर्माणमा जोड लगाउने, रेल तथा पानीजहाजका प्रतिबद्धता पूरा गर्न कृतसंकल्पित हुने र भारतसित रहेको नेपालको व्यापार घाटा अपूर्व ढंगबाट न्यून गर्ने दिशामा तत्काल गतिशीलता बढ्नसके, नेपाल–भारत सम्बन्धमा नयाँ उचाइ थपिनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ कार्यकालमा धड (केदारनाथ/भारत) र शिर (पशुपतिनाथ÷नेपाल)ले सुखद समन्वयपूर्ण आसन प्राप्त गर्नसके सामयिक आकांक्षा अधुरा रहने छैनन् । आशा गरौँ, आउँदा दिनमा द्विदेशीय साइनो झन् कसिलो हुँदै जानेछ ।

यसअतिरिक्त क्षेत्रीय शक्तिका रूपमा उदाएको भारतले यसका छिमेकीहरूसँगको सम्बन्धलाई समय सापेक्ष सुधार गर्नुपर्ने छ । छिमेकीहरूसँगको सम्बन्ध घनीभूत नहुँदा सहकार्य र एकताको पक्ष कमजोर हुन सक्छ । विशेषगरी पाकिस्तानसँगको कटुताले विवाद गम्भीर मोडमा पुगेको छ । भारत र पाकिस्तान दुवै आणविक शक्तिराष्ट्र भएकाले वार्ताद्वारा विवादको शान्तिपूर्ण समाधान खोज्नु सबैको हितमा हुन्छ ।

दोस्रो कार्यकालमा प्रधानमन्त्री मोदीले मित्रताको गाँठो बलियो बनाउँदै क्षेत्रीय शान्ति र एकतालाई जोड दिनु आजको प्रमुख आवश्यक्ता हो । छिमेकीसँगको सम्बन्ध राम्रो भएन भने शान्ति स्थापना हुन सक्दैन । अतः भारतका प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित नरेन्द्र मोदीलाई हार्दिक बधाइ छ । उनको आगामी कार्यकाल पहिला जस्तै सफल हुने विश्वास पनि छ ।

तपाईको प्रतिक्रिया