भ्रष्टाचार शुन्यमा झरेको उदाहरणीय गाउँपालिका हो : रमेश कुमार भुजेल

अध्यक्ष, बुद्धशान्ति गाउँपालिका, झापा

स्थानीय सम्वाद्

    २०७६ साल जेठ १७ गते शुक्रबार ।   

बुद्धशान्ति पूर्वी नेपालको मेची अञ्चलअन्तर्गत झापा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको बुधबारे र शान्तिनगर गाउँ विकास समितिहरूलाई बुद्धशान्ति गाउँपालिका बनाइएको हो । बुद्धशान्ति गाउँपालिकाको कूल क्षेत्रफल ७९.७८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या ४१,६१५ रहेको छ ।

० तपाई गाउँपालिकामा निर्वाचित भएर आएसँगै अहिलेसम्म के–कस्ता कामहरू गर्नुभयो ?

— यो दुई वर्षको अवधिमा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाएका छौं । १० वर्षको द्वन्द्वकालमा विद्यालयहरूमा धेरै क्षति भएको अवस्था थियो, अहिलेसम्म त्यस्ता विद्यालयको मर्मतसम्भार हुन सकेको थिएन । डेस्क बेन्चको अभाव, छाना चुहिने भएर पानी पर्दा समस्या हुने अवस्था थियो । यस्ता समस्याहरू समाधान गरेर बुद्धशान्ति गाउँपालिकामा भएका सबै विद्यालयहरूमा पहेलो रंग लगायत एकरूपता कायम गरेका छौं ।  । यो गाउँपालिकामा १६ वटा विद्यालयहरू रहेका छन् जसमध्ये १० विद्यालयमा अंग्रेजी माध्यममा पठकपाठन पनि सुरू गरेका छौं ।
स्वास्थ्य क्षेत्रमा पनि हामीले केही कामहरू गर्न सफल भएका छौं । गाउँपालिकाभरीका प्रत्येक वडाहरूमा हामीले स्वास्थ्य इकाईहरू खोलेका छौं । वडा नम्बर ५ भूगोलले अलिकति विभाजित भएको हुनाले त्यसमा एउटा स्वास्थ्य इकाई केन्द्र र अर्को स्वास्थ्य चौकी खोलेका छौं । नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको १३७ वटा औषधीमा हामीले २५ वटा औषधी थप गरेर वितरण गरिरहेका छौं । प्रेसर, सुंगरको औषधीसँगै गर्भवती महिलालाई आवश्यक पर्ने आइरन चक्की र क्यालसियमहरू पनि हामीले उपलब्ध गर्ने गरेका छौं ।

० बुद्धशान्ति गाउँपालिकाका जनताले स्थानीय सरकारको महसुस गरेका छन् ?

— हामीले गर्भवती महिलाहरूलाई भिडियो एक्सरेको सुविधा पनि उपलब्ध गराएका छौं । लामो समयसम्म स्थानीय सरकार नभएको अवस्था थियो अहिले स्थानीय सरकार गठन भएसँगै गाउँलेहरूले सरकारको महसुस गरेका छन् अझ धेरै काम गर्न बाँकी नै छ ।

० स्थानीय निर्वाचनपछि सिंहदरबार गाउँगाउँमा पुग्छ भनिन्थ्यो यो नारा कति सार्थक भएको छ ?

— हामीले यो नारालाई उल्लघंन गरेका छैनौं । संघ र प्रदेशले यो नारालाई उल्लघंन गरेको जस्तो लाग्छ । पहिलो संघ अन्तर्गतको सरकार भयो भने दोस्रो प्रदेश अन्तर्गतको सरकार हो तेस्रोमा स्थानीय सरकार रहेको छ । संघले बजेट विनियोजन गर्दा आफैं मार्फत गर्ने गरेको छ भने प्रदेशले पनि त्यस्तै गर्ने गरेको छ । जस्तैः सिँचाईको कुनै योजना छ भने त्यो त स्थानीय सरकारलाई जिम्मा दिँदा सरकारको बजेट पनि कम खर्च हुन्थ्यो तर त्यस्तो भइराखेको छैन । संघ र प्रदेशले स्थानीय तहलाई अधिकार दिन कजुस्याँई गरिरहेको छ । स्थानीय तह मातहत रहेको गाउँपालिकालाई हामीले सिंहदरबारको अनुभूति दिलाउन सफल भएका छौं तर संघ र प्रदेशले दुःख दिइराखेका छन् ।

० संघले अधिकार दिन किन कन्जुस्याई गरिरहेको हो जस्तो लाग्छ ?

— म नेपाली कांग्रेसबाट निवाचित भएर आएको अध्यक्ष हुँ । मैले बोलेको विषयलाई विपक्षी दलका नेताले बोलेको भनेर नबुझेर समग्रमा यो क्षेत्रको विकासको लागि बोलिरहेको छ भनेर बुझ्न जरूरी छ । अधिकार दिन कन्जुस्याँई गर्ने सबै कमिसनको खेल हो । हाम्रो गाउँपालिकामा रहेका खोलाहरूको नदीजन्य सामाग्री योजना भएको ठाउँसम्म पु¥याउँदा सस्तो मूल्यमा पुग्छ । उनीहरूले त्यसलाई महँगो मूल्यमा परिणत गरिदिन्छ । त्यसबाट कमिसन आउने हुन्छ यसरी स्थानीय तहलाई अधिकार नदिँदा भ्रष्टाचार झन् झन् बढ्दै गर्ईरहेको छ ।

० प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै आइरहनु भएको छ, यो नारा उनको लोकप्रियताको लागि मात्र हो त ?

— प्रधानमन्त्री, संघ वा प्रदेशले होइन बरू गाउँपालिका र नगरपालिकाले यो विषयलाई थामिराखेको छ । हामीले कुनै ठाउँमा भ्रष्टाचार हुन दिएका छैनौं । अहिलेसम्म कोहीलाई पनि कारबाही गर्नुपर्ने अवस्था आएको छैन । बुद्धशान्ति गाउँपालिकामा आएर बुझ्दा प्रष्ट हुन्छ, यहाँ भ्रष्टाचार कसरी शुन्यमा झरेको छ । तर, यही गाउँपालिकामा पनि संघ र केन्द्रबाट आएको कार्यक्रम र बजेटमा फरक छ त्यहाँ कमिसन भ्रष्टाचार चलि नै रहेको छ ।

० आगामी आर्थिक वर्षको प्राथमिकतामा के–के राख्नुभएको छ ?
— सबै गाउँपालिका र नगरपालिकाको बजेटमा ९०% सडक निर्माण सकिएको भन्ने गुनासो पनि आईरहेको छ तर हाम्रो गाउँपालिकामा ६०% बाटोमा खर्चिको छ । बिजुली, पानी कल्र्भटहरूको पनि हामीले काम पुरा गरिसकेका छौं । अब आउने आर्थिक वर्षमा हाम्रो मुख्य एजेन्डा भनेको कृषि, पर्यटन र सडक कालोपत्रे हुनेछ । त्यो भन्दा अन्य नेपाल सरकारको नीति अनुरूप चल्ने कार्यक्रमहरू चलिरहन्छ ।

० बुद्धशान्ति गाउँपालिकाका जनताको जीविकोपार्जनको मुख्य आयस्रोत के हो ?

— यहाँको मुख्य आयस्रोत भनेको कृषि नै हो । यो आर्थिक वर्षमा कृषि उत्पादन बढुवा गर्न हामीले विशेष ध्यान दिने योजना बनाएका छौं । थोरै जग्गामा खेती गरेर धेरै आम्दानी कसरी गर्न सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । सुपारी खेती, बेमौसमी बिषादीरहित तरकारी खेती गरेर पनि यहाँका जनताले आम्दानी गर्ने गरेका छन् ।

० तपाईको क्षेत्रमा पर्यटनको सम्भावनाहरू के–के छन् ?

— पहाडको फेदी, नदीनालाहरू, डाँडाकाँडाहरू रहेका छन् । अग्लो डाँडामा हामी भ्यू टावर निर्माण गर्दैछौं । भ्यू टावरबाट पनि आउँदो आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने तयारीमा छौं । त्यहाँबाट पनि गाउँपालिकालाई आम्दानी हुन्छ । पिकनिकको लागि रमणीय स्थलहरू पनि रहेको छ, सिमसार क्षेत्र पनि छ । वन समिति र बुद्धशान्ति गाउँपालिका मिलेर सिमसार क्षेत्रको संरक्षणमा जुटेका छौं । अब हामीले त्यहाँ फनपार्क र सानो चिडियाखाना निर्माण गर्ने सोच बनाएका छौं । यस्ता विभिन्न पर्यटकीय स्थलहरू छन् जसले गाउँपालिकालाई आर्थिक रूपमा सहयोग गर्न सक्छ ।

तपाईको प्रतिक्रिया