लोकसेवाले गरेको विज्ञापनलाई प्रदेश २ ले मान्दैन : मुख्यमन्त्री राउत

राजनीति

       

जनकपुरधाम, १७ जेठ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीय लोक सेवा आयोगबाट स्थानीय तहका लागि गरिएको विज्ञापन प्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रदेश समन्बय परिषद्को शुक्रबार वर्दिवासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानको भावना विपरीत समावेशितालाई लत्याउदै आह्वान गरेको विज्ञापन स्वीकार्य नहुने चेतवनी दिएका छन् ।

संविधानको धारा २७७ मा स्थानीय तहको कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संविधानको भावनाविपरीत भइरहेको गतिविधि विरुद्ध कानूनी उपचार खोज्ने स्पष्ट पारे ।

उनले भने ‘संघीयताको अर्थ आफ्नो शासन÷प्रशासन हुनु पर्दछ । तर, संघीय सरकारले त्यसमाथि अंकुश लगाउने प्रयास गरिरहेको र समावेशितालाई लत्याउने प्रयास गरिएको छ, त्यो सहय हुँदैन । हामी कानूनी उपचार खोज्छौ ।’

संघीय निकायहरुले एकपछि अर्को अधिकार खोस्ने प्रपञ्च गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले स्थानीय तहका प्रतिनिधीहरुलाई हातेमालो गर्न आग्रह समेत गरे । प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटको पूर्व संध्यामा आयोजना गरिएको समन्वय परिषद्को बैठकमा स्थानीय तहका प्रमुखले आ–आफ्ना सुझाव राखेका थिए ।

स्थानीय तहका प्रमुखहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय तहले समन्वय नगरेसम्म विकास निर्माणले गति लिन नसक्ने बताए ।

आफ्नो अधिकार खोज्दा कर्तव्यको समेत पालना गर्नु पर्ने सुझाव दिँदै उनले बजेट निर्माणको क्रममा संघीय र प्रदेशसभा सदस्यहरुलाई समेत सहभागी गराउन स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश विकासको जिम्मा स्थानीय तह र प्रदेश सरकार दुबैको रहेकोले मिलेर बढ्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, वन उद्योग तथा पर्यटन मन्त्री रामनरेश राय, स्थानीय तहका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया