लोकसेवा आयोगले संविधान र कानून विपरीत कार्य गरेको छ : प्रभु साह

राजनीति

       

काठमाडौं, १८ जेठ । स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि लोकसेवा आयोगले भर्खरै निकालेको विज्ञापनप्रति नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहको गम्भीर ध्यानार्कषण भएको छ ।

अध्यक्ष साहले लोकसेवा आयोगले संविधान र कानूनविपरीत कार्य गरेको आरोप लगाएका छन् । उनले जनताको लामोे सङघर्ष, त्याग र बलिदानीको प्रतिफलको रुपमा प्राप्त समानुपातिक समावेशी प्रतिनिधत्वको अधिकारलाई संविधानमा नै ग्यारेन्टी गरि निजामति ऐन मार्फत विगत कयांैं वर्षदेखि व्यवहारिक अभ्यास समेत गर्दै आइरहेको सन्दर्भमा लोक सेवा आयोगले त्यसको मर्म र भावना विपरीत निकालेको विज्ञापनलाई कुनै पनि हालतमा सही मान्न नसकिने जिकिर गरेका छन् ।

अध्यक्ष साहले एक विज्ञप्ति जारी गरी, ‘यसले नेपालको संविधान २०७२ को धारा ३८(४), ४०(१), ४२(१) र धारा २८५ ले प्रत्याभूत गरेको महिला, दलित, मधेशी, थारु, जनजाति, मुश्लिम, पिछडावर्ग समेतलाई राज्यको निकायहरुमा समानुपातिक समावेशी हुन पाउने मौलिक हकमा अघात पुगेको छ ।’ उल्लेख गरेका छन् ।

‘नयाँ संविधान एवं मजबुत सरकारमार्फत देश स्थायित्वतिर अगाडि बढिरहेको अवस्थामा मुलुकको महत्वपूर्ण संवैधानिक निकायले परिवर्तनलाई उल्टाउने र द्वन्द्व बढाउने यस कदमलाई किमार्थ सहि मान्न सकिन्न ।’ साहले विज्ञप्तिमा भनेका छन् ।

आयोगले समाजको आवश्यकता र सन्दर्भलाई विर्सेर गलत मनसाय राखि संविधान र कानून विपरित कार्य गरेको साहको ठहर छ । यसर्थ अहिले स्थानीय तहमा पदपूर्ति सम्बन्धि गरेको विज्ञापनलाई तुरुन्त रोकि संविधान र कानून अनुसार सच्याउन सम्बन्धित पक्षसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया