सरकारले आधुनिक नेपाल निर्माण गर्न चाहेको छ : प्रधानमन्त्री ओली

राजनीति

       

पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताएका छन् ।

नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माणका लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले देश विकासको यस अभियानमा युवाहरुलाई अनुशासित ढंगले सहभागी गराउनका लागि स्काउटको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

“स्काउटले दक्षता, योग्यता, अनुशासन र देशभक्तिपूर्ण भावना भएका युवाहरु तयार गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने “स्काउटले युवालाई कर्मवीर र राष्ट्रप्रति बफादार बनाउनु पर्दछ ।”

नेपाल प्रतिभाशाली मानिसहरु बस्ने भूभाग भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले युवाहरुको प्रतिभा देश विकासका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

“हामी युवाहरुलाई सक्षम बनाउनु चाह्न्छौं” प्रधानमन्त्री ओलीले भने “युवाहरुलाई भिडाएर झगडाको अखडा मात्र होइन, उनीहरुलाई सृजनशिलता र उत्पादनमा लगाएर नेपाललाई शान्तीको थलो बनाउनु पर्दछ ।”

तपाईको प्रतिक्रिया