संविधान संशोधनको माग गर्दै नेपाल संघीय समाजवादीको आन्दोलन सुरु

राजनीति

       

काठमाडौं, १९ जेठ । पूर्वगृह राज्यमन्त्री मो रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले संविधान संशोधनसहितका मागहरु राख्दै आन्दोलन सुरु गरेको छ ।

आन्दोलनको पहिलो चरणमा पूर्व घोषित कार्यक्रमअनुसार शुक्रवार काठमाडौंको घण्टाघरदेखि नयाँबानेश्वरसम्म रैली निकाल्दै धर्ना दिई प्रधानमन्त्री कार्यलय सिंहदरवारमा ज्ञापन पत्रसमेत बुझाएको छ ।

नेपाल संघीय समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाउदै जनताको हरेक मौलिक हक अधिकार कटौती गरेको भन्दै सरकार विरुद्ध नाराबाजी गर्दै सरकारको आलोचना गरेका छन् ।

मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित, थारु, पिछडा वर्ग, पिछडिएको क्षेत्र तथा वर्गीय उत्पीडनमा परेको जनताको हकहित संरक्षण्को पक्षमा सरकारको नियत ठिक नरहेको ठहर गर्दै सरकारको यो कार्यको बिरोध गरेको पार्टीका नेताहरुले जनाएका छन् ।

साथै सरकारले मधेशी समुदायको मुख्य सांस्कृतिक पर्वको रुपमा रहेको छठ, ईद, बकर ईद लगायतको पर्वमा बिदा कटौती गरेको भन्दै बिरोध जनाएको छ ।

उत्पीडिनमा परेको जनताको माग तत्काल सविधान संशोधन गरी पूरा गर्न सरकारलाई पार्टीले जोरदार माग समेत गरेको छ ।

साथै जनताको जायज मागहरु सरकार र सम्बन्धित निकायले अबिलम्ब पूरा नगरेमा जनताको जायज मागहरुका लागि चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेताबनी समेत दिएको छ ।

पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेपाल संघीय समाजवादी पार्टीको केन्द्रीय अध्यक्ष अन्सारीले उत्पीडनमा परेका नेपाली जनताको जायज मागहरु तत्काल संविधान संशोधन गरी पूरा गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया