थरुहट आन्दोलन नितान्त राजनीतिक आन्दोलन हो, यसमा मेरो पनि संलग्नता छ : उपेन्द्र यादव

राजनीति

       

धनगढी, २१ जेठ । समाजवादी पार्टी नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले ११ प्रदेशको प्रादेशिक संरचना नै वैज्ञानिक रहेको दाबी गर्दै त्यसको लागि मधेशमा संघर्ष हुने चेतावनी दिएका छन् ।

धनगढीमा कैलाली तथा कञ्चनपुरका थारु अगुवा, मुक्तकमैया लगायतसँगको भेटघाटको क्रममा अध्यक्षद्वय यादव र डा. भट्टराईले १० जोड १ प्रदेशको संरचना नै वैज्ञानिक रहेको तर्क गरे ।

उपप्रधान एवम् स्वास्थ्य तथा मन्त्री समेत रहेका अध्यक्ष यादवले भने, ‘थरुहट आन्दोलन नितान्त राजनीतिक आन्दोलन हो । यसमा मेरो पनि संलग्नता छ । टीकापुरमा कार्यक्रम गर्दाताका बाटोमा अवरोध हुँदा जंगलको बाटो भएर म पनि फर्केकै हुँ । यो मुद्दा राजनीतिक भएकोले फौजदारी न्यायको हिसाबमा कुनै पनि हालतमा निकास दिँदैन । राजनीतिक ढंगले नै निकास हुनुपर्छ ।’

उनले हालको ७ प्रदेशको प्रादेशिक संरचनाले पनि दिगो निकास दिन नसक्ने दाबी गरे । थारु, मधेशी, दलित, जनजातिलगायत उत्पीडनमा परेका समुदायको माग र मुद्दा सम्बोधन गर्न १० जोड १ प्रादेशिक संरचना नै वैज्ञानिक रहेकोले आफूहरू अझैपनि १० जोड १ प्रदेशको मान्यतामा आडिग रहेको यादवले बताए ।

पार्टीका अर्का अध्यक्ष भट्टराईले हालसम्मको राजनीतिक परिवर्तनलाई अपूूरो क्रान्तिको संज्ञा दिदै सबै असन्तुष्ट पक्षको माग सम्बोधन गर्न १० जोड १ को प्रादेशिक संरचना उपयुक्त रहेको बताए । उनले हालै लोक सेवा आयोगले खुला गरेको विज्ञापनले हालसम्म भएका अधिकार प्राप्तिका संघर्षको विरुद्धमा रहेको खारेज गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया