लोकसेवा आयोगको विज्ञापनप्रति समाजवादीको आपत्ति र विरोध

राजनीति

       

काठमाडौं, २१ जेठ । सत्तारुढ समाजवादी पार्टी नेपालले हालै लोक सेवा आयोगले स्थानीय तहका लागि भनेर करिव ९ हजारभन्दा बढी कर्मचारी भर्ना सम्बन्धि विज्ञापन सूचना प्रकाशित गरेकोप्रति आपत्ति र विरोध जनाएको छ ।

समाजवादी पार्टीका उपमहासचिवले मंगलबार एक विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन् । ‘यसभन्दा अगाडि लोकसेवा आयोगले एकैपटकमा यतिका धेरै संख्यामा पदपूर्ति गर्ने गरी कहिल्यै सूचना ननिकालेको थिएन । फेरी स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोक सेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदाहुँदै संघीय लोक सेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायर भन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्न लागेको हुँदा समाजवादी पार्टी, नेपाल घोर आपत्ती र विरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

कानूनविपरीत स्थानीय तहका लागि भनेर निकालिएको कर्मचारी भर्ना सम्बन्धि सूचना अविलम्ब फिर्ता लिएर संघीयताको भावना र मर्मलाई सुरक्षित गर्ने कार्यमा लोक सेवा आयोगले सहयोग पु¥याउन समाजवादी पार्टीले अपिल गरेको छ ।

साथै संविधानविपरीत गैरकानूनी कार्यहरु रोक्न र कुनै पनि निकाय वा अंगहरुबाट त्यस प्रकारको कानूनविपरीतका कामकार्वाही हुन नदिने तर्फका कदम चाल्नका लागि पनि समाजवादी पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया