‘दशौं हजार मान्छे मार्नेहरु राज्यसत्ता संचालन गर्ने र निर्दोष रेशम जेलमा बस्नु पर्ने कहाँको न्याय हो ?’

राजनीति

       

जनकपुरधाम, २७ जेठ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सदियौदेखि विभेदमा परेको थारु समुदायलाई अधिकार प्राप्तिका लागि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन् ।

थारु आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुक संघीय गणतन्त्रमा गएपनि कार्यान्वयन पक्ष इमान्दार नभएकोले संघर्ष अपरिहार्य रहेको उल्लेख गरे ।

संघर्ष नगरेसम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्दै मुख्यमन्त्री राउतले आफ्नो भविष्य परिवर्तनका लागि थारुहरुमा लड्ने साहस जुटाउन आग्रह गरे ।

आयोग गठनमा समेत विभेद भएको बताउँदै उनले महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी, मुस्लिम जस्ता आयोगहरुलाई नदिइएको बताए ।

समुदायको अधिकारका लागि लड्दा रेशम चौधरीलाई झुठा मुद्दा खेप्नु परेको उल्लेख गर्दै उनले आन्दोलनको नाउँमा दशौ हजार मान्छे मार्नेहरु राज्य सत्ता संचालन गर्ने र निर्दोष रेशम चौधरीलाई जेलमा बस्नु पर्ने कहाँको न्याय हो भनि प्रश्न समेत गरे ।

आयोग गठन हुँदैमा थारु समुदायको भविष्य परिवर्तन नहुने उल्लेख गर्दै उनले आयोगलाई बल पु¥याउन समेत थारु समुदायलाई संघर्ष गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।

मुख्यमन्त्री राउतले प्रदेश २ को सरकारले सबै जातजातिलाई समान दृष्टिले हेर्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै प्रदेश सरकारले सबै निकायमा जनसंख्याको आधारमा प्रतिनित्वको सुनिश्चितता गरिरहेको बताएका छन् ।

आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं. २ का थारु अगुवा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया