भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा दोस्रो किस्ताको रकम प्रदान

समाचार

       

काठमाडौं, २७ जेठ । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्तावापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिए ।

भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यसअघि नै २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतका राजदूत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि जिकिर गरे ।

२०७२ साल बैसाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै जनधनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने बताएका थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिव ७० प्रतिशत भन्दा बढी सम्पन्न हुनु सुखद् समाचार भएको पनि बताए ।

तपाईको प्रतिक्रिया