युवाहरु भैंसीपालनतर्फ आकर्षित

समाचार

मणि प्रसाद गैह्रे

       

कपिलवस्तु, २७ जेठ । बुद्धभूमि नगरपालिका वडा नं. ४ का मोर्माका युवाहरु कृषक फर्म स्थापन गरी भैंसीपालन व्यवसाय संचालनमा लागेका छन् ।

गत वर्षबाट बुद्धभूमि कृषि तथा पशुपालन फर्म दर्ता गरी व्यवसाय सुरु गरेका युवाहरु अहिले ३० वटा भैंसीपालन गर्न सफल भएका छन् ।

स्थानीय विद्यालयको ८ विगाहा जग्गा भाडामा लिएर गोठ निर्माण गरेका व्यवसायीलाई कार्य सम्पादनको आधारमा प्रदेश भूमि कृषि तथा सहकारी मन्त्रालयबाट १० लाख अनुदान र नगरपालिकाबाट समेत २ लाख अनुदान प्राप्त गरी व्यवसाय गर्न थप सहजता मिलेको संचालक माधव पौडेलले बताए ।

कृषि तथा पशुपालन व्यवसाय गर्नका लागि आफूहरुले अहिलेसम्म ६३ लाख रकम लगानी गरी काम सुरुवात गरेको उनले बताए । स्थानीय स्तरमा दुध उत्पादन गरी कृषकहरुको समेत दुध संकलन गरी व्यापारमा सहयोग गर्नका लागि यो पेशा अपनाएको पौडेलले बताए ।

फर्मको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरपालिकाका पशु विकास अधिकृत लक्ष्मणलाल श्रीवास्तवले व्यवसायिक रुपमा भैंसीपालन गर्नका लागि पूर्वाधार तयार गरी भैंसी खरिद गरी पालन गरेको हुँदा नगरपालिकाबाट २ लाख अनुदान र प्राविधिक सेवा उपलब्ध गराइएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै वडा नं. ३ का अध्यक्ष गोविन्द आचार्यले स्थानीय युवाहरुले दीर्घकालीन रुपमा व्यवसाय गर्नका लागि योजना लिएर आएका नगरपालिकाबाट सहयोग गरिने बताए ।

कार्यक्रममका बोल्दै संचालक जगत प्रसाद पन्थीले आफूहरुले स्थानीय रुपमा रोजगार सिर्जना गर्न र कृषिमा दिगोपना र आत्मनिर्भरका लागि १० वर्षे योजनाअनुसार काम गरेको बताए ।

साथै नगरपालिकासँग मिलेर लागत साझेदारीमा अन्य किसानहरुलाई सहुलियत दरमा दुध तथा भैंसी खरिद गर्ने र बिक्री गर्ने योजना बनाएको समेत उनले बताए ।

फर्ममा आगामी दिनमा माछापालन, कुखुरापालन, उन्नत तरिकाले खेती लगायतका कामहरु गर्ने समेत उनले बताए ।

नगरपालिकाका कृषि विकास अधिकृत राजेन्द्र चौधरीले कृषि पेशालाई दिगो रुपमा लैजानका लागि स्थानीय सरकार कृषक समूह र बजारसँग सहकार्य गरी काम गर्नुपर्ने सुझाव दिए । युवाहरुको कामबाट अन्यलाई समेत स्वरोजगारको प्रेरणा मिल्ने स्थानीय मोति पोख्रेलले बताए ।

तपाईको प्रतिक्रिया