सांसद यादवको प्रयासले रंगशाला मर्मत तथा कबड हल निर्माणका लागि ७ करोड

समाचार

       

वीरगंज, २९ जेठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवको निरन्तर प्रयासले गर्दा नारायणी रंगशालालाई मर्मत सम्भार तथा कबड हल निर्माणका लागिी खेलकुद मन्त्रालयले ७ करोड बजेट छुट्याएको छ ।

सांसद यादवले संघीय संसदमा बजेट सम्बन्धी भएको विभिन्न छलफलहरुमा नारायणी रंगशालालाई मर्मत सम्भारका लागि निरन्तर आवाज उठाएपछि खेलकुद मन्त्रालयले रंगशाला मर्मतका लागी ५ करोड र कबड हल निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको हो ।

२०४२ सालमा निर्माण भएको रंगशाला अहिले कोमामा गइसकेको अवस्थामा आइसकेपनि रंगशालाको मर्मतमा सरकारले ध्यान नदिएको भन्दै सांसद यादवले निरन्तर संसदमा आवाज उठाउँदै आएका थिए ।

२०४२ सालमा त्यो बेलाको पञ्चायत सरकारले एक रुपैयाँ पैसामा पनि निर्माणमा सहयोग गरेको थिएन । स्थानीयको श्रमदानबाट स्थानीय व्यक्तिहरुले प्रदान गरेको १८ बिगाहा जग्गामा नारायणी रंगशाला निर्माण भएको थियो ।

संसदमा बोल्दै सांसद यादवले रंगशाला निर्माणपछि विभिन्न राष्ट्रिय स्तरका खेलहरु भएपनि सरकारले समयमा यसको मर्मत सम्भार नगरिदिँदा अहिले यसको हालत कोमामा गइसकेको अवस्थामा रहेकोले यसको मर्मत सम्भारमा सरकारले गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरेका थिए ।

मंगलबार संघीय संसदमा युवा तथा खेलकुद मन्त्रालय, शहरी मन्त्रालय तथा अर्थ मन्त्रयालयको विनियोजन विधेयक २०७६ माथीको छलफलमा बोल्दै सांसद यादवले खेलकुद मन्त्रालयले नारायणी रंगशाला मर्मत सम्भारका लागि ५ करोड तथा कबड हल निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको प्रति खेलकुद मन्त्रालयलाई धन्यवाद व्यक्त गरेका छन् ।

संसदमा बोल्दै सांसद यादवले नारायणी रंगशालासँगै रहेको क्रिकेट मैदानलाई समेत मर्मत सम्भारको आवश्यक्ता रहेको जानकारी गराउँदै यसको मर्मत सम्भारमा समेत सरकारले गम्भीरता देखाउन आग्रह गरे ।

बीचमा केही मर्मतका कामहरु भएपनि अहिले अधुरो अवस्थामा रहेको क्रिकेट मैदानलाई व्यवस्थित बनाउन मर्मत सम्भारका लागि सरकारलाई आग्रह गरे ।

वीरगञ्जमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरु रहेकोले क्रिकेट खेललाई अझ उचाइमा लग्न यसको मर्मत सम्भारको आवश्यक्ता रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया