काठमाडौंमा भारतीय शैक्षिक मेला हुने

समाचार

       

काठमाडौं, २९ जेठ । काठमाडौंमा ‘भारतीय शैक्षिक मेला २०१९’ आयोजना हुने भएको छ ।

भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तलामा यही जेठ ३१ र ३२ गते उक्त शैक्षिक मेला आयोजना हुन लागेको हो ।

‘स्टडी इन इण्डिया’ भन्ने स्लोगनका साथ आयोजना हुन लागेको शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी दिएको छ । प्लस टु तथा स्नातक दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरिएको एक्स्पो दुई दिनसम्म सञ्चालन हुने छ ।

एक्स्पोमा भारतमा अध्ययन गर्न उपयुक्त विषय, त्यसको प्रभाव र अध्ययनका लागि आवश्यक तयारीका बारेमा जानकारी दिइने आयोजक संस्था इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले जानकारी दिए ।

एकै थलोमा चालिस भन्दा बढी भारतीय कलेज र विश्वविद्यालयको प्रतिनिधित्व रहने सो मेलामार्फत विद्यार्थीले भारतसम्म पुगेर सबै कलेज र विश्वविद्यालय घुमिरहने झन्झटबाट मुक्त हुने आयोजक पक्षको भनाई छ ।

तपाईको प्रतिक्रिया