मधेशको आँप (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल जेठ ३१ गते शुक्रबार ।   

मरूभूमिले भरिएको देश त आर्थिक समृद्धिमा छलांग मारेको हामी मध्ये धेरैले देखेकै छन् । माटोबिना तरकारी फलाएको, गर्मी मुलुकमा स्याउ फलाएको हामी धेरैले देखे सुनेका छौं ।

सबैखोले मौसम र जलवायु, खेतीयोग्य जमीन, पर्याप्त जनशक्ति हरेक दृष्टिले हामी नेपाली अब्बल छौं । तर अभाव छ त यिनको उपयुक्त उपयोगको । नेपाल कृषिप्रधान मुलुक हो भनेर भाषण गर्ने र विदेशीलाई परिचय दिलाउने शब्द मात्र भएको छ अहिले ।

हाम्रो करेसाबारीमा सजिलै फलाउन सकिने खुर्सानी, मेथी, धनिया, ज्वानोजस्ता सामाग्रीसमेत विदेशबाट नल्याएसम्म खान नपाइने अवस्था छ । तीस प्रतिशतभन्दा बढी जमीनले कुनै बीऊ, बेर्ना देख्न पाउँदैनन, बाह्रै महिना बाँझो बस्छन् । निर्यातको सपना देख्ने र देखाउने भन्दा पनि यस्ता विषयमा घोत्लिनु आवश्यक छ ।
प्रसंग हो मधेशको आँपको । मधेश आँपको राजधानी पनि हो । मधेशका सबै जिल्लामा आँप उत्पादन हुन्छ तर बजार पाउँदैन । फलतः नेपाली बजारमा विदेशी आँपको बिगबिगी रहन्छ । किसानले चर्को गर्मीमा उत्पादन गरेको आँपले बजार नपाउँदा उसले गरेको लगानी र मेहनत खेर गइरहन्छ । 

आँप खेती गर्दा आर्थिक उपार्जन त हुन्छ नै साथसाथै दिगो आर्थिक स्रोतलाई पनि यसले बढाबा दिन्छ । मधेशमा माल्दह, बम्बइ, कलकतिया, कृष्णभोग, दसहरी, केरबा, गुलाबखासजस्ता जातका आँप उत्पादन हुने गरेको छ । मधेशका सबै जिल्लामा ९० प्रतिशत खेती यी आँपको हुन्छ ।

अघिल्लो वर्ष आँप उत्पादनका लागि मौसम अनुकूल नभएको र आँपमा लाग्ने मधुवा किटाणुका कारणसमेत उत्पादनमा कमी आएको थियो । पछिल्लो तथ्यांकअनुसार नेपालमा ४६ हजार चार सय ६९ हेक्टरमा आँप खेती हुन्छ । त्यसमध्ये ३८ हजार तीन सय ५२ हेक्टरमा आँपको प्रचुर मात्रामा उत्पादन हुन्छ । बजारमा अहिले बार्षिक २७ लाख ७८ हजार चार सय ७८ मेट्रिक टन आँपको खपत भइरहेको छ ।

नेपालबाट १२ लाख २३ हजार सात सय ६८ किलो आँप भारतलगायतमा मुलुकमा निर्यातसमेत भइरहेको छ । सरकारी तथ्याङ्कअनुसार सबैभन्दा बढी सप्तरी र सिराहा जिल्लामा आँप उत्पादन हुन्छ । सप्तरीमा पाँच हजार हेक्टरबाट ३५ हजार मेट्रिक टन र सिराहामा पाँच हजार हेक्टरबाट २० हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यसपछि महोत्तरी, कपिलवस्तु, धनुषा, सर्लाही र रौतहटलगायत ७० वटा जिल्लामा उत्पादन हुन्छ ।
आँपमा नेपाललाई आत्मनिर्भर हुन ६१ लाख ९३ हजार मेट्रिक टन उत्पादन गर्नुपर्ने अवस्था छ ।

आत्मनिर्भर बनाउन कृषि विकास मन्त्रालयले पाँच बर्षे कार्यक्रम पनि सुरू गरेको छ तर त्यसको प्रभावकारिता देखिएको छैन । स्थानीय उत्पादित आँपले उचित मूल्य नपाएको गुनासो किसानको छ । व्यापारीले बाहिर जिल्लाबाट आँप ल्याएर सस्तो मूल्यमा बिक्री गर्न थालेका कारण स्थानीयले उत्पादन गरेको आँपले उचित मूल्य पाउन नसकेको हो ।

अर्को कुरा, नेपालको धेरैजसो कृषि उपज निर्यातमा अवरोध छन् । हामीले अन्तर्राष्टिय गुणस्तरमा उत्पादन, प्याकेजिंग र परिमाण आपूर्ति गर्न सकेका छैनौं । न त हामीले आफूसँग उत्पादित कृषि उपजको स्वदेशी बजारको व्यवस्थापन नै गर्न सकेका छौं ।

त्यसैले मधेशमा कमी स्रोतको होइन, स्रोतलाई आर्थिक सामथ्र्यमा रूपान्तरण गर्ने दूरदृष्टि र रणनीतिको मात्र अभाव हो । स्रोतको उपयोगमा प्रदेशहरूबीच आपसी साझेदारी संघीयताको आर्थिक आयाममा प्रभावकारी उपाय बन्न नसक्ने कारण छैन ।

तपाईको प्रतिक्रिया