चिनियाँ रेलले मुलुकले थेग्नै नसक्ने ऋण थपिन्छ : सञ्जय कुमार गौतम (अन्तर्वार्ता)

नेपाली कांग्रेसको छायाँ सरकारको भौतिक पूर्वाधारमन्त्री

अन्तर्वार्ता

    २०७६ साल जेठ ३१ गते शुक्रबार   

० नेपाली कांग्रेसले छायाँ सरकार किन गठन गर्यो ?

— कम्युनिष्टहरूको अहिले दुई तिहाई बहुमत प्राप्त गरेको सरकारका प्रधानमन्त्रीले सम्पूर्ण शक्तिलाई आफ्नो हातमा राखेका छन् । सरकार अराजक ढंगले अधिनायकवादी सोचका साथ अगाडि बढेको छ । यो सरकारले ल्याएका विधेयकहरू, बनाउन खोजेका कानूनहरू, सरकारले पेश गरेको आर्थिक वर्षको बजेट यी सबै संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक सुहाउँदो देखिँदैन । दुई तिहाई बहुमतको सरकार हुँदा प्रतिपक्ष कमजोर भइरहेको बेलामा खबरदारी गर्नका र हरेक मन्त्रालयहरूमाथि आफ्नो दृष्टि राख्नका लागि कांग्रेसले छायाँ सरकार गठन गरेको हो । प्रमुख प्रतिपक्षी भनेको ‘वेटिङ्ग गभर्मेन्ट’ पनि हो । त्यसकारणले हामीले छायाँ सरकारको रूपमा मन्त्रालयहरू बाँडेर आफ्ना मातहतका मन्त्रालयलाई राम्रोसँग अनुगमन गर्ने, जानकारी राख्ने र सदन र जनतालाई यसको बारेमा जानकारी गराउने उद्देश्य छ । त्यसैले नेपाली कांग्रेसले आफ्नो छायाँ मन्त्रिमण्डल बनाएको हो ।

० सरकारलाई दबाब दिनका लागि सदनमै सशक्त प्रतिपक्षको भूमिका निर्वाह पनि त गर्न सकिन्छ, , छायाँ सरकार नै किन चाहियो ?

— दुई तिहाईको सरकार छ भने जे मन लाग्छ त्यहीं गर्न त भएन नि । हामीसँग विचारमा समदूरी राख्ने खासगरी मधेशकेन्द्रित दलहरू, जसले हिजो पनि सरकार निर्माणका बेला सहयोग गरेका थिए र सरकारले जुन आश्वासन दियो त्यो अनुसार त केही पनि पूरा हुन सकेन । संविधान संशोधन गरेर मधेशका समस्याहरू सम्बोधन गर्ने जुन सवाल थियो त्यसमा सरकार मौन छ । हाम्रा पार्टीको नेतृत्वमा स्व. सुशील कोइरालाको पालामा सरकार हुँदा संविधान संशोधनको प्रस्ताव दर्ता गराएका थियौं । त्यसको विरूद्धमा अहिलेको नेकपाका प्रमुख पात्रहरू विपक्षमा उभिएका थिए । अहिले उसैको नेतृत्वमा सरकार छ । हामीले स्थापित गरेको मूल्य र मान्यतालाई कायम राख्नका लागि डेमोक्रेटिक एलायन्सको आवश्यक्ता छ । डेमोक्रेटिक एलायन्सका लागि हामीले राजनीतिक सम्वाद र प्रक्रियाहरू सुरू गरेका छौं । हामी नजिक बस्ने प्रयास गरेका छौं । होइन भने, अहिलेको सरकारले त कम्युनिष्ट अधिनायकवाद लाद्नका लागि उद्दत छ । सरकारले सबै कुरा आफैमा नियन्त्रित गर्न खोजिरहेको छ । यो बेलामा हामीले सडक, सदन लगायत सबै ठाउँबाट दबाब दिन डेमोक्रेटिक एलायन्स आवश्यक छ ।

० कांग्रेसको छायाँ सरकार बन्दा त्यस विषयमा प्रजातान्त्रिक धार भएकाहरूसँग किन छलफल भएन ?

— छायाँ सरकार नेपाली कांग्रेसको आफ्नो कुरा हो । हामीले अन्य राजनीतिक दलहरूसँग पनि वार्ता र सम्वाद गरेर डेमोक्रेटिक एलायन्स निर्माण गर्न चाहन्छौं । राष्ट्रिय राजनीतिमा एक खालको ध्रुवीकरण होस् भन्ने चाहन्छौं । आउँदो दिनमा सदनमा सशक्त प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ । यो छायाँ सरकार नेपाली कांग्रेसको हो र अन्य दलहरूले पनि फरक किसिमका संयन्त्रहरू निर्माण गर्न सक्छ ।

० कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न राजपासँग छलफल गरेको छ ?

— राजपाले सरकारबाट समर्थन फिर्ता लिएर राम्रो काम गरेको छ, हामीले स्वागत गरेका छौं । अहिले राजपा महाधिवेशनमा केन्द्रित छ । एकल नेतृत्वको अभ्यासमा लागेको छ । महाधिवेशनबाट राजपा जब एउटा रूप लिन्छ, त्यसपछि अवश्य नै हामी उसँग बसेर छलफल गर्छौं ।

० कांग्रेसको छायाँ सरकारको भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी पाएदेखि के गर्नुभयो ?

— सरकारले गरेको कार्यहरूलाई हामीले नजिकबाट हेर्दैछौं । यो सरकारले आफ्नो प्राथमिकतालाई निर्धारण नै गर्न सकेको छैन । कम्युनिष्ट सरकारले सपना बाँड्ने काम मात्रै गरिरहेको छ । यो सरकारले राष्ट्रिय अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने खालका कुराहरू बढी प्राथमिकता दिएको छ । कसरी यो मुलुक समृद्धिको यात्रामा जान्छ भन्ने कुरामा कम्युनिष्ट सरकार गम्भीर देखिएको छैन । प्रधानमन्त्रीलाई उखान टुक्का गर्दै फुर्सद छैन, बकम्फुसे कुरा गर्ने मात्रै काम गर्नुभएको छ । उनीहरूले पानी जहाजको सपना बाँडिरहेका छन्, चीनबाट काठमाडौं रेल ल्याउँछु भन्दै छन् । रेल ल्याउनु त राम्रो हो तर चीनबाट काठमाडौं रेल ल्याएर त्यसको उपादेयता के हो ? त्यसले हाम्रो अर्थतन्त्रलाई कति प्रभाव पार्छ, चीनबाट कति पर्यटक नेपाल भित्र्याउँछ, कति सामान नेपालबाट चीन जान्छ ? त्यसको कति लागत खर्च हुने हो कि त्यसलाई भोली मुलुकले थेग्नै नसक्ने अवस्था देखिन्छ । त्यसबाट नेपालमाथि यति धेरै ऋण थपिन्छ कि थेग्न नसकेर भोली देशै बेच्नुपर्ने अवस्था आउन सक्छ नि । त्यस्तै, प्रदेश २ का लागि सरकारले विनियोजन गरेको बजेट न्यायसंगत छैन । हुलाकी सडक, पूर्व–पश्चिम राजमार्गको अवस्था जर्जर छ ।

० त्यसोभए, चीनबाट रेल ल्याउने कुरा नेपालका लागि घातक हो ?

— चीनबाट ल्याउने कुरा गर्नुभन्दा पनि त्यसको सम्भाव्यता अध्ययन हुनुप¥यो । कुनै पनि योजनाको सम्भाव्यता अध्ययन नगरिकन, त्यसबाट हुने लाभ र हानी बारे समीक्षा नगरिकन हावामा मात्रै कुरा गरेर हुँदैन । जुन ठाउँमा हामीले बाटो बनाउन सकेका छैनौं, त्यहाँ रेलको कुरा गरेर मात्र हुँदैन । रेल, पानी जहाज, स्याटेलाइट चलाउनु राम्रो कुरा हो । नेपाललाई सिंगापुर बनाउनु राम्रो कुरा हो । तर जुन किसिमले हाम्रो भू–राजनीतिक परिस्थिति छ, त्यसले हाम्रो अन्तरसम्बन्धलाई कसरी परिभाषित गर्छ भन्ने कुरा मुख्य हो नि त । हामीले आफ्नो स्वाधिनताको रक्षा गर्नुपर्छ, खाली सपना मात्र बाँडेर हुँदैन । अहिले हामीलाई दास बनाउने बाटोमा यो सरकार लगिरहेको छ । त्यसकारणले हामी चिन्तित छौं ।

० संसदमा आएको गुठी विधेयकलाई किन विरोध गर्नुहुन्छ ?

— अहिले आएको गुठी सम्बन्धी विधेयकले धार्मिक र सांस्कृतिक महत्वमाथि प्रहार गरेको छ । कम्युनिष्ट सरकारको रवैया के छ भने क्रिष्टिनिटीलाई बढावा दिने र हाम्रो संस्कृति र परम्परालाई निस्तेज गर्नेतिर यो सरकार लागेको छ । सरकारको एउटा पनि कदम राम्रो छैन । त्यसैले हामी सबैतिरबाट सतर्क भएर मनोमानी ढंगबाट यो सरकारलाई चल्न दिँदैनौं ।

० कांग्रेसले भर्खर सम्पन्न गरेको राष्ट्रिय जागरण अभियानबाट केकस्ता सन्देश आयो ?

— जागरण अभियानका क्रममा गाउँका साथीहरूले जागरण अभियान गाउँमा हैन केन्द्रमा आवश्यक छ भने । गाउँमा नेता कार्यकर्ताहरू त जागेकै छन् । निर्वाचनमा जुन परिणाम कांग्रेसको आयो त्यो केन्द्रीय नेताहरूका कारण आएको हो, गुटबन्दी गाउँमा होइन, केन्द्रमा छ भनेर सन्देश आएको हो । आम जनताले कांग्रेसलाई माया गरेका छन्, आस्थालाई बचाएर बसेका छन् । यदि कांग्रेस बाँचेको छ भने गाउँमै बाँचेको छ । त्यसकारणले यी सबै कुरा गाउँमा सिकाउनु पर्दैन, काठमाडौंमा जागरण गरे हुन्छ । गाउँ–गाउँ, टोल–टोलमा कांग्रेसका कार्यकर्तामा कुनै कमी कमजोरी छैन । हामी विधि र विधानले चल्न सकेनौं । त्यसकारणले गर्दा अहिले समस्याहरू धेरै देखिएको छ ।

० भनेपछि, कांग्रेसका केन्द्रीय नेताहरूमै जागरण आवश्यक छ ?
— कांग्रेसको समस्या नै केन्द्रमा छ, गाउँमा छँदैछैन । मूल खराब भएपछि तल के हुन्छ ? खराबै हुन्छ । नेपाली कांग्रेसले राम्रोसँग भूमिका निर्वाह गर्न सकेको छैन भन्ने चिन्ता गाउँ–गाउँमा छ । सशक्त प्रतिपक्षको भूमिका पनि संघीय सदनमा कांग्रेसले निर्वाह गर्न सक्ने भन्ने गुनासो गाउँ–गाउँबाट आएको छ । उनीहरूको एउटै गुनासो के छ भने पार्टी विधिसम्मत तरिकाले चलेन । त्यसकारणले अहिले सम्पूर्ण समस्याको जड नै केन्द्रमा छ ।

० छिमेकी मित्रराष्ट्र भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसको जुन अवस्था भएको छ, त्यसबाट नेपाली कांग्रेसले कतिको पाठ सिक्यो ?

— पाठ त सिक्नै पर्छ । कांग्रेस नाम भएकोले एउटै जस्तो लाग्छ तर भारतीय राष्ट्रिय कांग्रेससँग नेपाली कांग्रेसको तुलना गरेर हुँदैन । नेपाली कांग्रेसको आफ्नो बाटो, दृष्टिकोण, सोच छ । त्यसकारणले, भारतीय राष्ट्रिय कांग्रेससँग हाम्रो केही कुराहरू मात्र मिल्छ । तर, अहिले भारतीय राष्ट्रिय कांग्रेसको जुन अवस्था भएको छ, त्यसबारे हामीले पनि सोच्नुपर्छ । किनभने भारतीय राजनीतिको प्रभाव नेपालमा रहन्छ । आज मात्रै होइन, हिजो पनि थियो, अस्ति पनि थियो र भोली पनि रहन्छ । किनभने भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ । भारतको चुनावबाट नेपाली कांग्रेसले धेरै कुरा सिक्नुपर्छ ।

तपाईको प्रतिक्रिया