राजदेवी नगरपालिकालाई करमुक्त घोषणा गरौं : अंशु सिंह

उपमेयर, राजदेवी नगरपालिका, रौतहट

स्थानीय सम्वाद्

    २०७६ साल असार ६ गते शुक्रबार   

० तपाइँले औषधि स्टोरमा किन तालाबन्दी गर्नुभयो ?

— औषधि खरिदमा अनियमितता भएको शंका लागेर औषधिहरू जाँचका लागि मैलै सोध्दा आनाकानी गर्न थाल्यो । त्यसैले मैले भोलीपर्सी हेरौंला भनेर ताल्चा मगाएर स्टोरमा ताल्चा लगाएँ । मैले आफ्नो शंका मेटाउनका लागि मात्रै जाँच गर्न खोजेको थिएँ ।

० औषधि खरिदमा अनियमितता भएकै हो ? 

— त्यो कुरा त चेकजाँच गरेपछि थाहा हुन्छ । म औषधि हेर्छु भन्दा मलाई देखाउन आनाकानी गर्न थालेपछि मलाई शंका लाग्यो । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट दिइने निःशुल्क औषधिहरू हेरेर मलाई शंका लागेको थियो । मेयर साबले ताल्चा तोड्ने धम्की दिनुभयो । तर, मैले भने कि मलाई चेकजाँच गर्न दिनुस्, म आफै साँचो दिइहाल्छु । तर, उहाँहरूले मान्नुभएन । त्यसपछि मैले वडा अध्यक्षहरू, सञ्चारकर्मी र भरभलादमीहरूलाई बोलाएको थिएँ । स्टोर खोलेर हामी बसेका थियौं, अनि स्वास्थ्यका संयोजक र उपसंयोजकलाई पनि आउन भन्यौं । तर, उहाँहरू आउन मान्नुभएन । त्यसको तीन÷चार दिनपछि गिन्ती गरियो ।

० त्यसपछि तपाइँको शंका मेटियो ?

— मैले चेकजाँच गर्दा नेपाल सरकारबाट निःशुल्क दिइने औषधि पाइयो । औषधिहरू पनि जतिको बिल पेस गरिएको थियो त्यति भेटाएन । कम भएको औषधिको मुचुल्का बनाउनु प¥यो भनेर मैले भने तर, उहाँहरू पन्छिनु भयो । जहाँ जानुछ जानुस्, पत्रकार र अख्तियार सबै मेरो खल्तीमा छ भनेर भनियो । मप्रति नराम्रो शब्दहरू प्रयोग गर्न थाल्नुभयो । त्यसपछि मैले फेरि ताल्चा लगाएँ । तर, राति मेयरसाबले ताल्चा तोड्नुभयो ।

० राजदेवी नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद किन बढ्दै गएको छ ?

— यसमा विवाद बढ्नुपर्ने कुनै कारण नै छैन । मेरो अर्कै सिद्धान्त र मेयरसाबको अर्कै सिद्धान्त छ । नमिल्नुको धेरै कारणहरू पनि हुनसक्छ । मेरो मुख्य असन्तुष्टि राजस्वका कारण बढेको हो । नगरपालिकाले जुन ठेक्कापट्टा लगाएको थियो त्यो मेयरसाबले आफ्ना आफन्तहरूलाई मात्र दिनुभएको छ । ठेक्कापट्टा लगाएको एक वर्ष भयो तर, उहाँहरूले अहिलेसम्म एक पैसा पनि जम्मा गर्नुभएको छैन । ठेक्कापट्टाबाट के केति आम्दानी छ, त्यो देखाउन मैले बारम्बार आग्रह गर्दा पनि कसैले सुनेको छैन । हाम्रो नगरपालिकामा गाडी राखिएको छ, ड्राइभरको तलब नगरपालिका दिने, तेल नगरपालिका किन्ने तर गाडी उधारोमा चलिरहेको छ । त्यहींबाट विवाद सुरू भयो । सिस्टममा नगरपालिका चलोस् भन्ने मेरो भनाई छ । ठेक्कापट्टा गरेकाहरूसँग माग्दा छोडिदिनुस् भनेर मेयरसाब भन्नुहुन्छ । मैले हुँदैन भने । बरू राजदेवी नगरपालिकालाई नै करमुक्त गर्नुस् । ठूलो ठेकेदारसँग कर नलिने तर गरिब जनतासँग कर लिने ? त्यसैले मैले भने कि त करमुक्त गर्नुस् कि त ठेकेदारसँग पैसा असुल गर्नुस् ।

० मेयर र उपमेयरको विवादका कारण राजदेवी नगरपालिकामा औषधिको अभाव भएको हो ?

— गत वर्ष नगरपालिकाले आठ लाखको औषधि किनेको थियो तर एउटा सिटामोल पनि जनताले पाएका थिएनन् । तर, अहिले औषधिको अभाव भएको छैन । यदि औषधिको अभावको हो भने मेयरसाबले त्यसको निकास निकाल्नुपर्दथ्यो नि । मैले औषधिको ब्याच नम्बर मात्रै मागेका थिए । कमसेकम मलाई त्यसमा प्रष्ट पारिदिएको हुन्थ्यो नि त ।

० तपाइँहरू आपसमै यसरी विवाद गरेर बस्नुहुन्छ भने विकासका कामहरू कहिले हुन्छ ?

— म विवाद चाहेको होइन । मैले जुन पारदर्शिताको माग गरेको छु त्यो माग यदि गलत हो भने गलत छु । हामीले जनताबाट कर लिन्छौं तर ठेकेदारबाट किन कर लिँदैनौं । यो मेरो मुख्य माग हो । ठूलाबडासँग कर नलिने तर गरीबसँग मात्र किन कर लिने ? मुख्य विवादको कारण यही हो ।

० भनेपछि मेयरसाबले मनोमानी तरिकाले कर उठाउनुहुन्छ ?

— हो । हाम्रो ७/८ वटा टिप्पर चलिरहेको छ । त्यो टिप्पर कहाँ चल्छ, कति आम्दानी गर्छ त्यसको कुनै हिसाव किताब छैन । ड्राइभरलाई तलब र पेट्रोल नगरपालिका दिन्छ तर त्यसबाट हुने आम्दानी नगरपालिकालाई जानकारी छैन ।

० यस्तो अवस्थामा राजदेवी नगरपालिकाका जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन् ?

— स्थानीय सरकारको अनुभूति नपाएर कष्ट पाइरहेका छन् । हामी फिल्छ हुन्छौं, जनताको बीचमा हुन्छौं जनताले हामीलाई आफ्ना पीडा र गुनासाहरू सुनाउँछन् । त्यसैले हाम्रो नगरपालिकामा जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनन् । विकास भनेको बाटोघाटो मात्रै हो भन्ने सोचाइ हाम्रो मेयरसाबको हो । यहाँ चौतर्फी विकास कसरी गर्ने भन्ने तर्फ कुनै मलतब नै छैन । यहाँ बाटोलाई मात्र फोकस गरिएको छ । विकास भनेको सबै क्षेत्रमा हुनुपर्छ एउटा बाटो मात्र बनाएर परिवर्तन आउँदैन । जनताको स्वास्थ्य, शिक्षा, कृषि, युवाहरूको रोजगारी लगायतका विषयमा कुनै ध्यान नै छैन ।

० भनेपछि राजदेवी नगरपालिकामा बाटोघाटो निर्माण बाहेक अन्य क्षेत्रमा काम भएको छैन ?

— हो । यहाँ बाटोघाटो निर्माणलाई मात्र फोकस गरिएको छ । यहाँको शैक्षिक अवस्था, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा कुनै काम नै भएको छैन । यहाँका जनजीवन मुख्यतः कृषिमा आधारित छ, तर त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । अस्ति यहाँ असिना पर्दा किसानहरूलाई ठूलो क्षति भयो तर एकचोटि पनि मेयरसाबले सोध्न पनि जानुभएन । क्षतिपूर्तिको त कुरै छोड्नुस् ।

तपाईको प्रतिक्रिया