सत्ता भष्मासुरलाई वरदान दिए जस्तो नेकपालाई भएको छ : सहअध्यक्ष श्रेष्ठ

राजनीति

       

भक्तपुर, ८ असार । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा ओली नेतृत्वको सरकार छोटो समयमै बदनाम भएको बताएका छन् ।

उनले भने, ‘भारतको पश्चिम वंगालमा ३४ वर्ष लगातार कम्युनिष्ट पार्टीले सत्ता चलाए । तर नेपालमा ओलीको सत्तारोहणको डेढ वर्ष नवित्दै जनताले भन्न थाले नेकपालाई सत्ता भष्मासुरलाई वरदान जस्तो भएको छ । अहिले निर्वाचन हुने हो भने नेकपा पत्तासाफ हुने अवस्थामा पुगेको छ ।’

कार्यक्रमका प्रमुख अतिथि रहेका श्रेष्ठले उक्त कुरा पार्टीको भक्तपुर जिल्ला समन्वय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बताएका हुन् ।

उनले संविधानको धारा २६ को उपधारा २ ले गुठी सञ्चालन र संरक्षणको अधिकार गुठीयारलाई नै दिएको हुँदा केन्द्रमा राष्ट्रिय गुठी प्राधिकरण बनाउन खोज्नु सरकारको असंवैधानिक कदम भएको बताएका छन् ।

सहअध्यक्ष श्रेष्ठले भने, ‘गुठी विधेयकको नाममा सरकारले बल प्रयोग गरी जनताको सामुदायिक सम्पति कब्जा गर्नु र जनआस्थामाथि प्रहार गर्नु सरकारको अधिनायकवादी चरित्र हो ।’

उनले भने, ‘गुठीयारहरूले नै गुठी सञ्चालन गर्ने संविधानप्रदत्त मौलिक हक प्रयोग गर्न दिनु पर्छ र संविधानको अनुसूची ६ बमोजिम प्रदेशले गुुठी व्यवस्थापन समिति बनाई त्यसको व्यवस्थापन गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया