सामाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रदेश सरकार : मुख्यमन्त्री राउत

राजनीति

       

जनकपुरधाम, ११ असार । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नंं. २को सरकार सामाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएका छन् ।

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत महिलाको लागि शुरु गरिएको लोकसेवा तयारी कक्षाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढि रहेको उल्लेख गरे ।

महिलाहरु सशक्त नभएसम्म सामाजिक रुपान्तरण सम्भव नहुने र समाजिक रुपान्तरण नभएसम्म प्रदेश समृद्ध नहुने यथार्थलाई बुझ्दै प्रदेश सरकारले सरकारी सेवामा महिलाहरुको पहुँचलाई सुनिश्चित गर्न लोकसेवा तयारी कक्षा संचालन गरेको उल्लेख गरे ।

उनले प्रदेश सरकारले महिलाहरुको सशक्तिकरणको लागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा, साइकल वितरण, सामुदायिक विद्यालयहरुमा छात्रा मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरु अघि सारेको उल्लेख गरे ।

उनले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत पहुँच बढाउन प्रदेश प्रहरी र निजामति सेवामा ५० प्रतिशतको आरक्षण गर्ने मुलुककै पहिलो प्रदेश बनेको समेत बताए ।

उक्त कार्यक्रममा राजर्षी जनक क्याम्पसका प्रमुख धर्मेन्द्र झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव दिपक सुवेदी सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

कौटिल्य इन्स्टिच्युटसँगको सहकार्यमा प्रदेश सरकारले पहिलो चरण एक सय एक जना महिलालाई लोकसेवाको तयारी गराउन लागेको हो ।

तपाईको प्रतिक्रिया