'बेटी पढाउ बेटी बचाउ' कार्यक्रम अन्तर्गत छात्राहरुलाई साइकल प्रदान

राजनीति

       

जनकपुरधाम, १२ असार । मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई आज साइकल प्रदान गरेका छन् ।

जनकपुरधाम स्थित श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत १ सय १४ जना छात्राहरुलाई मुख्यमन्त्री राउत लगायतका अतिथिहरुले साइकल प्रदान गरेका हुन् । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढा–टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरुलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपक्तिमा राख्ने सोच लिएको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेरै प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको पनि बताए । उनले प्रदेश सरकारले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए ।

त्यसैगरी समाजिक विकास मन्त्री नवल किशोर साहले छोरीहरुलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढि रहेको पनि उल्लेख गरे ।

प्रदेशसभा सदस्य परमेश्वर साहको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादव, जयनुल राइन, प्रमिला देवी दास, चमेली देवी दास सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश नं.२ भित्रका सामुदायिक विद्यालयहरुको कक्षा ८ मा पढने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया