एतातिर विरोध, अर्को तिर तयारी कक्षा !

राजनीति

       

काठमाडौं, १३ असार । स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगले करिब ९ हजार कर्मचारीको भर्ना प्रक्रिया थाले लगत्तै प्रदेश २ को सरकारले त्यसको कडा प्रतिवाद गरेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतले भर्ना प्रक्रिया नरोके आयोगविरुद्ध मुद्दा मामिला गर्ने धम्कीसमेत दिएका थिए । तर त्यही प्रदेश २ को सरकारले भने लोकसेवा तयारी कक्षाको सञ्चालन गरेको छ ।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत प्रदेश सरकारले एकसय एक जना महिलालाई लोकसेवा परीक्षाको तयारी कक्षा सञ्चालन गरेको हो ।

लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार कर्मचारी भर्ना प्रक्रिया थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोगका आयुक्तलाई ‘बेइमान र फटाहा’ भन्दै सार्वजनिक आलोचना गरेका थिए ।

समावेशी सिद्धान्तलाई मिचेर आयोगले प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाका लागि सूचना निकालेको उनको आरोप थियो । तर, सोही आयोगबाट माग भएको कर्मचारीका लागि प्रदेश २ सरकारले तयारी कक्षा सुरु गर्नु प्रदेश सरकारको दोहोरो रवैया रहेको छ ।

एक महिनासम्म चल्ने कक्षामा लोकसेवाको परीक्षामा कसरी उत्तीर्ण हुने लगायतका शिक्षा प्रदान गरिने छ । जनकपुरको राजश्री जनक क्याम्पसमा लोकसेवा तयारी कक्षाको शुभारम्भ मुख्यमन्त्री राउतले आफै गरे ।

यसका लागि मुख्यमन्त्री कार्यालयले बजेट पनि विनियोजन गरेको छ । कौटिल्य इन्स्टिच्युटको सहकार्यमा प्रदेश २ सरकारले पहिलो चरणमा १ सय १ जना महिलालाई लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको हो ।

लोकसेवा तयारी कक्षाका लागि मुख्यमन्त्री कार्यालयले नै बजेट दिएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार यसवर्ष करिब १ हजार महिलालाई लोकसेवा तयारी कक्षामा सहभागी गराउने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया